असोज २६ गते
बुटवलको मोतिपुरमा रहेको सुकुम्बासी वस्तिमाथि भएको राज्य आतंक र बर्बरतापूर्वक मान्छे मारिएको कार्यको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी) संबद्ध अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ चितवनको अयोजनामा भरतपुरमा सडक प्रदर्शन सम्पन्न भएको छ ।
भरतपुर स्थित बिरेन्द्र क्याम्पस गेटवाट शुरु भएको विरोध जुलुस चौविसकोठी पुगेर सभामा परिणत भएको थियो । उक्त विरोध सभालाई संबोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले मोतिपुरमा सुकुम्बासी समुदायमाथि भएको दमन र हत्या राज्य आतंकको पराकाष्ठा भएको बताउनु भयो । उहाँले राज्यले सबैभन्दा उपेक्षामा पारेको समुदाय भुमिहीन सुकुम्बासी वस्ती र समुदयमाथि ताण्डव नाच नाचेर जनतालाई प्रतिरोधमा उत्रन बाध्य पारेको वताउदै निहत्था जनतामाथि बन्दुक उठाएर वर्तमान दलाल सत्ताले गरिब जनतामाथि जबर्जस्त युद्ध थोपरेको उल्लेख गर्दै राज्य आफ्ना जनविरोधी कर्मवाट पछाडि नहटे जनता क्रान्ति चाहन्छन्, विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मान्यता स्थापित हुने बताउनु भयो ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय संयोजक नर बहादुर गौतम लगायतका बक्ताहरुले मोतिपुर घटनाका अपराधीहरुलाई अविलम्ब कारवाहि गर्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको अविलम्ब नि:शुल्क उपचार गर्न माग गर्दै भुमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीहरुलाई अविलम्ब आवस अधिकारको ग्यारेन्टी गर्न माग गर्नु भयो ।































