प्रतिभाहरु विभिन्न क्षेत्रमा हुन्छन् । विभिन्न विधा वा कार्य क्षमताका आधारमा पुरस्कृत हुने प्रतिभाहरुको मान सम्मानले परिवार आफन्त समाज र राष्ट्रको नै इज्जत बढ्छ ।
हामी विद्यालयमा पढ्दा विभिन्न प्रतियोगिताहरु हुन्थे । विद्यालयको हैसियत अनुसार सिसाकलम र कापी पुरस्कार दिन्थे पुरस्कार लिने विद्यार्थी खुशी हुनु स्वभाविक हुन्थ्यो र उसमा फेरि पनि पुरस्कार लिने प्रतिस्पर्धाको भावनाको विकाश भएको हुन्थ्यो । केटाकेटी अवस्थामा मलाइ पनि त्यस्तै भएको छ । कक्षा दुइबाट द्वितीय भइ कक्षा तीनमा उक्लँदा एउटा सोहुपनि हात्ती छाप कापी पाएको थिएँ । अर्को वर्ष भदौको मध्यतिर एक दिन गूरुहरुले ‘लौं ¤ भोलि कविता लेखेर ल्याओ’ भनेर उर्दी दिनु भयो सायद म भित्रको अवचेतन कविले केही सोच्यो र वेलुका निकै प्रयास पछि ‘किसानको पीर’ शीर्षकमा गीत लेखेर समूहका वाचन गरें । संयागवश त्यो गीत प्रथम भएछ मैले पुरस्कार पाएँ । मलाई त्यो कापी यति थिएन प्यारो भयो कि त्यसमा लेख्ने आँट गरिन । झिक्थें, मुसार्थें र थन्क्याउथें ।
गएको चैत्रमा हामी केही कवि लेखकहरु वारपाक सुलिकोट जाँदै थियौं । हाम्रै टोलिका एकजना कवि मित्रले हाँसि मजाकमा भने म ५–७ लाख नगद जम्मा गर्छु र एउटा उपन्यास लेख्छु अनि तीन लाख अमुक संस्थालाई दिन्छु र पुरस्कृत हुन्छु । उनको यो आशय मदन पुरस्कार तिर लक्षित थियो । उनको यस्तो तर्क सुनेका हामी केही साथिहरु मौन रहयौं । उनको यस भनाइले मलाई अहिले पनि घोच्छ के साँच्चै पुरस्कार दिने संथामा यस्तो चलखेल हुन्छ ? र केही परस्कार दिने संघ सँस्थाहरु पनि शंकाको घेरामा छन् भन्ने व्यहोरा सतहमा आएका छन् । माथि विषयको उठान गर्ने महाशयले कतै छेउ टुप्पो भेटेर प्रसङ्ग उप्काएका पो हुन् कि ?
पुरस्कार वा सम्मान कुनै पनि प्रतिभाको कदर गरेर दिइने आभुषण हो । यस्तोमा केही सँस्था वा प्रतिष्ठानहरु कृयाशिल छन् धेरै कवि प्रतिभाहरु सम्मानित भएका पनि छन् तर कुनै कतैबाट विवादको स्वर पनि सुनिएको छ । पुरस्कारबाट वा सम्मानले व्यक्तिको प्रतिभा उज्जर हुन्छ भन्ने मान्यता राखिएको हुन्छ तर सबै जसोका ठूला भनिएका पुरस्करले व्यक्तिको सिर्जन क्षमतामा अंकुश लगाउने वा लेख्य चेत भुत्ते बनाउने उद्देश्यका पनि देखिएका छन् । जीवनभर जनताको चेतना निर्माण लागेका केही लेखकहरु पुरस्कार वा सम्मान बुझेपछि मौन रहेका पात्रहरु पनि छन् । यस्ता पुरस्कार प्रोत्साहन नभएर विषालु बन्ने रहेछ भनेर बुझ्दा अन्यथा हुँदैन । हाम्रो राज्य व्यवस्था भित्र यस्तो जहरपूर्ण मान पुरस्कार हुनु आम प्रतिभाहरुका लागि क्षोभको विषय हो । प्रतिभाहरु राष्ट्रका गहना हुन उनीहरुको संरक्षण, विकाशमा राज्यको दायित्व पनि जोडिएको हुनु पर्छ तर हामीले भोगिरहेको राज्य व्यवस्था भने उदार चरित्रको छैन ।
हुन त राज्यले साहित्य, कला, गीत, खेल, शैक्षिक, प्रशासनिक र सामाजिक क्षेत्रका कतिपय व्यक्ति वा पात्रलाई पुरस्कृत गर्ने पनि गरेको छ खेल जगत बाहेक अन्य क्षेत्रमा राम्रा भन्दा पनी हाम्राको बढी कदर गर्ने गर्दछ । मुलुकको सरकारको स्वरुप र चरित्र हेरेर मान पदक वा सम्मान पुरस्कार वितरण गर्दा चाकरी वा भनसुनको प्रयोग बढी भएको देखिन्छ । यसका पछाडि केही कारणहरु देखिएका छन् । जुन कुनैै मुुलुकको राज्य व्यवस्था अनुदार छ त्यहाँँको सरकार आलोचना वा विरोध सुन्ने धैर्य राख्दैन वरु आलोचक वा विरोधी ठानिएका प्रतिभाको विरुद्ध आफ्नै भाटहरुको भीड निर्माण गर्छ । आलोचक वा प्रतिधर्मी कित्ताका प्रतिभाहरुप्रति उदासिन रहन्छ ।
पुरस्कार तथा मान सम्मानमा एँचो पैँचो प्रचलन पनि मौलाएको देखिन्छ । यस्तो प्रचलन कला साहित्यको क्षेत्रमा बढी देखिन्छ । कुनै व्यक्ति, स्थान वा समुह विशेषमा खुलेका झिना मसिना संघ संस्थाका तिथिपर्व वा उत्सवहरुमा प्रदान गरिने मान सम्मानहरु साटासाट गर्ने प्रचलन पनि मौलाएको छ । यो अर्म पर्म वा ऐंचो पैंचोको मान्यताले अकवि पनि कवि बन्न सक्ने क्षमता राख्दो छ ।
कला साहित्यको श्री बृद्धिको उद्देश्य राखेर केही संघ संस्थाहरुले प्रतिभाशाली व्यक्तिलाई मान सम्मान गरिने परम्पराको व्यवसथा पनि गरेका छन् त्यस्तो मान सम्मानको छनौट न निष्पक्ष र पारदर्शी चरित्रको देखिँदैन । कृति वा कृतित्व, व्यक्ति वा व्यक्तित्वको छनौट भन्दा पर रहेर छनौट समितिको सदस्यको पहुँच वा भागवण्डाको आधारमा वितरण गरिन्छ त्यस्तो कार्यका लागि बनाइएको नियम वा विनियमको मान्यता अङ्गिकार गरिएको हुँदैन् । हाम्रा मान्छेलाई हामीले दिने हो वा हाम्रा मान्छे हुँदा हामीले लिने हो भन्ने आत्मकेन्द्रित व्यक्तिवादले ग्रसित हुनु शोभनिय विषय होइन । कुनै एउटा साहित्यिक साँस्कृतिक संस्थाको नेतृत्वमा लामो समय विताएका व्यक्तिहरुले सोही संस्थाले दिइने सम्मान लिनु उपयुक्त विषय हो तर संस्थाकै पुरस्कारमा र्‍याल काढेका केही पात्रहरु पनि देखिएको सुनिएको छ यस्तो घटना केटाकेटीको खाजा अभिभावकले नै खाए सरह हुन्छ । होइन र ?
राज्यले हरेक वर्ष विशिष्ट कामको आधारमा भन्ने वहाना वनाइ खास खास पात्रहरुलाई पदक वा मान सम्मानले विभुसित गर्छ । यस्तो वितरणमा चाकरी र आफन्ती पनको झल्को स्पष्ट देखिन्छ । इतिहासमा राजा महाराजालाई रिझाउन खप्पिस चाकरी वाजहरुले मान सम्मान र वढुवा पाउँथे । उनीहरुले गुठी, विर्ता वा दान वकस लिन्थे र समाजमा अरुमाथि हैकम चलाउँथे । राज्यका आँखामा उनीहरुमात्र नागरिक ठहरिन्थे । आज त्यही परम्पराको पुनारावृति भइरहेको छ । सतहमा यस्तो देखिन थालेको छ कि समाजका लागि कूनै पनि असल काम गर्नै पर्दैन नेता, मन्त्री वा विभुषण प्रदत्त निकायमा चाकरी सहित ढोग भेट गरे पुग्छ । न्याय, प्रशासन शिक्षा स्वास्थ्य जस्ता जिम्मेवार क्षेत्रमा जति सुकै योगदान गरोस दाताको आँखामा त्यो उपयुक्त ठहरिन्न । राज्यलाई तिनुपर्ने कर छल्न खप्पिस खलनायक पात्र वा ठुला रकम पार्टीलाई चन्दा दिने दाता पुरस्कृत गरिनुले मान सम्मान पुरस्कारहरुको मूल्य खस्कँदै गएको छ ।
पुरस्कार वा मान सम्मान अस्वीकार गरिएका खबरहरु पनि हामीले पढेका छौं सुनेका छौं । पुरस्कारको उद्देश्य, निर्णय प्रकृया वा अन्य केही अल्झनाले पनि पुरस्कार अस्वीकार गरिन्छन् । यस्ता घटनाले पुरस्कारको ओझ घटाउँछ ।
पुरस्कार वा मान सम्मानलाई वदनाम हुनबाट जोगाउनु पर्दछ । यसको गरिमालाई उच्च राखदै नयाँ वा वेजोड प्रतिभाहरुको क्षमता अभिवृद्धिमा लगाउने सँस्कारको वानी वसाउनु पर्दछ जसले गर्दा प्रतिभाहरुको कदर र राज्य वा संघ संस्थाको गरिमामा आँच नपुगोस् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार