२५ असोज काठमान्डौ ।
असोज २४ गते बुटवल उपमहानगरपालिका वडा नं १७ र १८मा पर्ने मोतिपुर औद्योगिक क्षेत्रमा घर टहरा बनाई बसोबास गर्दै आएका परिवारहरुमाथि निहत्था जनतामाथि देउवाको नेतृत्वमा गठबन्धन सरकारको पुलिस प्रशासनले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । उक्त गैरजिम्मेवारपूर्ण रवैयाको हाम्रो पार्टीे घोर विरोध तथा भत्र्सना गर्दछ र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको नि:शुल्क उपचारको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी प्रवक्ताव्दारा एक विज्ञप्ति प्रकाशित गरिउको छ । विज्ञप्तिको पूर्ण पाठ तल दिइएकोछ :

विज्ञप्ति

गत असोज २४ गते बुटवल उपमहानगरपालिका वडा नं १७ र १८मा पर्ने मोतिपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका भनिएका निहत्था जनतामाथि देउवाको नेतृत्वमा गठबन्धन सरकारको पुलिस प्रशासनले अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । उक्त क्षेत्रमा अहिले अनिश्चितकालीन कफ्र्यु लगाई जनतालाई आतङ्कित बनाइएको छ । सरकारको यस प्रकारको गैरजिम्मेवारपूर्ण रवैयाको हाम्रो पार्टीे घोर विरोध तथा भत्र्सना गर्दछ र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको नि:शुल्क उपचारको माग गर्दछ ।
यो घटना सत्ता बाहिर हुँदा भोटबैङ्क कब्जा गर्न जनतालाई उक्साउने र सत्तामा हुँदा विकासको नारा दिएर जनतालाई भ्रमित पार्ने संसदवादी राजनीतिक पार्टीहरुको फोहोरी खेलको परिणाम हो । यस प्रकारका समस्याको दीर्घकालीन समाधान संसदीय व्यवस्था र संसदीय पार्टीहरुसँग छैन । तत्कालका निमित्त उक्त क्षेत्रमा घर टहरा बनाई बसोबास गर्दै आएका परिवारहरुको आवश्यक छानबीन गरी भूमिहीन तथा सुकुम्बासी जनतालाई तुरुन्त वैकल्पिक व्यवस्था गर्न र अन्य भूमाफियाहरुलाई त्यहाँबाट हटाई उचित कारवाही गर्न हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।
भूमि समस्या नेपालको आम समस्या हो र यो नयाँ जनवादी क्रान्तिले समाधान गर्नु पर्ने एउटा प्रमुख कार्यभार हो । तसर्थ, भूमि लगायत राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको दीर्घकालीन समाधानका निमित्त भूमिहीन तथा सुकुम्बासी सहित आम उत्पीडित वर्ग, जाति, क्षेत्र तथा लिङ्गका जनतालाई नयाँ जनवादी क्रान्तिको प्रक्रियामा सहभागी हुन हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ ।
असोज २५, २०७८
प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)

प्रतिक्रिया

सम्बन्धित खवर