काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गराई सो क्षेत्रमा नेपाली सेना परिचालन गरेर जनगणना गर्न सरकारसँग जोडदार माग गरेको छ । यही २०७८ साल असोज १७ र १८ गते सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकका निर्णयहरु एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले यस्तो माग गरेको हो ।

पार्टी महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा असोज ४ गतेदेखि असोज १७ गतेसम्म भारतीय सेना र नेपाली सेनाका बीच भारतको पिथौरागढ क्षेत्रमा “सूर्य किरण १५” नामको संयुक्त सैन्य अभ्यासको घोर विरोध एवम् भत्र्सना समेत गरेको छ ।

राष्ट्रिय स्वाधीनताको विषय पेचिलो बनेको भन्दै वक्तव्यमा भनिएको छ, “यही असोज ४ गतेदेखि असोज १७ गतेसम्म भारतीय सेना र नेपाली सेनाका बीच भारतको पिथौरागढ क्षेत्रमा “सूर्य किरण १५” नामको संयुक्त सैन्य अभ्यास गरिएको कुरा सञ्चार माध्यमहरुबाट जानकारीमा आएको छ । नेपाली भूभाग कालापानीमा भारतीय विस्तारवादी शासक वर्गले आफ्नो सेना राखेको, लिपुलेक तथा लिम्पियाधुरा सहितको क्षेत्र कब्जा गरेको र सो क्षेत्रमा भौतिक संरचना समेत निर्माण गरेको स्थितिमा नेपाल सरकारले त्यो क्षेत्रलाई फिर्ता ल्याउन भारत सरकारसँग कूटनीतिक पहललाई अगाडि बढाउनु पर्नेमा उल्टै भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास गराएर नेपाल सरकारले भारतीय शासकवर्गको ताबेदारी गरेको छ । यो पीबी बैठकले नेपाल सरकारले गरेको भारतको दलाली र उक्त सैन्य अभ्यासको घोर विरोध तथा तीव्र भत्र्सना गर्दै कालापानीबाट भारतीय सेना तुरुन्त फिर्ता गर्न, उक्त क्षेत्रको सुरक्षाका लागि नेपाली सेना खटाउन र सो क्षेत्रमा अविलम्ब जनगणना गर्न नेपाल सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ ।”

वक्तव्यमा महासचिव किरणले पार्टीको आगामी केन्द्रीय समितीबाट निर्णय लिइने प्रमुख एजेन्डाहरु स्थानीय निर्वाचनबारे पार्टीको नीति र राज्यको संरचना निर्धारण सम्बन्धी पार्टीको अवधारणा छलफलका निमित्त वैठकमा प्रस्तुत भएको र के.स. बैठकको गृहकार्य स्वरुप आयोजना गरिएको यस पूर्ण पीबी बैठकमा उक्त विषयहरु माथि गम्भीर छलफल भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर