काठमाडौं । नेपालमा सामन्तवाद र साम्राज्यवादलाई परास्त गर्नुपर्ने दुई कार्यभारको नेतृत्व गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निरन्तर रुपमा संघर्षरत रहँदै आएको छ । यिनै दुई कार्यभार पूरा गरेर नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्य राखेर जनयुद्ध गरिएको थियो । तर मूल नेतृत्वले जनयुद्धमाथि गरेको धोका र गद्दारीका कारण लक्षित गन्तव्यमा नपुग्दै जनयुद्धले सेटब्याक खान पुग्यो । जनयुद्धकै बलमा अढाइसय बर्ष पुरानो सामन्तवादी राजनीतिक व्यवस्थाको प्रतिनिधि संस्था राजतन्त्र समाप्त भएपनि सामन्तवादी अवशेषहरु ज्युँका त्युँ रहे भने साम्राज्यवादका विरुद्ध लड्नुपर्ने सिंगो कार्यभार बाँकी रह्यो । त्यही कार्यभार पुरा गर्ने अठोटका साथ नेकपा (क्रान्तिकारी माओवादी)ले निरन्तर रुपमा सडक संघर्ष नेतृत्व गर्दै आएको छ ।

नेपाली विशिष्टतामा आधारित सामरिक कार्यदिशामार्फत् नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने संकल्प गर्दै आएको यो पार्टीले शान्ति प्रक्रियापछि निरन्तर रुपमा भारतीय विस्तारवादी हस्तक्षेप र अमेरिकी साम्राज्यवादी मिसनका विरुद्ध आवाज उठाउँदै आएको छ । पछिल्ला दिनमा अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित एमसीसी परियोजनाको खारेजी र भारतले कब्जा गरेको नेपाली भूमि लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको भूमि फिर्ता लगायतका विषयलाई लिएर दिनहुँजस्तो सडकमा विरोध प्रदर्शन गर्दै आएको छ । क्रान्तिकारी माओवादी लगायतका देशभक्त तथा क्रान्तिकारी शक्तिहरुको निरन्तरको सडक आन्दोलनको दबाबकै कारण तत्कालीन केपी ओली नेतृत्वको सरकार लिम्पियाधुरासहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्न बाध्य भएको थियो । नक्सा जारी गरेपछि उक्त भूमि अहिले पनि भारतीय विस्तारवादकै कब्जामा छ । उक्त भूमि फिर्ताका लागि सरकारलाई बाध्य पार्न क्रान्तिकारी माओवादीले वृहत् सडक संघर्षको खाँचो रहेको बताउँदै आएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशले गएको बुधबार अर्थात् असोज १३ गते काठमाडौंमा रातो मार्चपाससहितको विरोध ¥याली तथा विरोधसभाको आयोजना ग¥यो । ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, राष्ट्रघाती एमसीसी खारेज गरौ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सम्बोधन गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले महत्वपूर्ण भनाइहरु राख्नुभयो । उहाँले भन्नुभयो, “एमसीसीको विरोधमा आफ्नो पार्टीले कहिले एकल रूपमा र कहिले संयुक्त रूपमा आन्दोलन गरिरहेको छ, तर सरकार यसलाई जसरी पनि पारित गर्न लागिरहेको छ । एमसीसी विकास हो र मुलुकको हितका लागि भनिन्छ, वास्तवमा यो एकदमै झूठ हो र यो विकाससित सम्बन्धित कार्यक्रम नै होइन, विकासका लागि भए त अर्कै कुरा हुन्थ्यो, यो त देशको राष्ट्रियतामाथि खलल पु–याउने कार्यक्रम हो । यसको डटेर विरोध गर्नुपर्छ ।”

कतिपय नेता तथा राजनीतिज्ञहरूले साम्राज्यवाद समाप्त भयो, उपनिवेशवाद समाप्त भयो भन्ने गरेको कुरा सरासर गलत रहेको चर्चा गर्दै महासचिव किरणले भन्नुभयो, “दोस्रो विश्वयुद्धपछि उपनिवेशवादी चरित्र नव–उपनिवेशवादमा फेरियो । अमेरिकी साम्राज्यवादले एकातिर सोझै र अर्कोतिर विकास र सहयोगका नाममा साम्राज्यवादी हस्तक्षेपलाई नयाँ किसिमले अघि बढाउने गरेको छ, यो नव–औपपिनवेशिक तरिका हो र यसको काम दलाल शक्ति तयार पारेर आफ्नो स्वार्थ पूरा गर्नु हो । नव–उपनिवेशवादको चरित्र र भूमिकाका बारेमा माओले विस्तृत रूपमा प्रकाश पार्नुभएको छ । अहिले साम्राज्यवादको स्वार्थ पूरा गर्न यहाँको शासक वर्ग नव–उपनिवेशवादी दलाली गरिरहेको छ र राष्ट्रिय स्वाधीनतका पक्षधर र नव–उपनिवेशवादबाट उत्पीडितहरू यसको विरोधमा लागि परेका छन् । यो कार्यक्रम पनि नव–उपनिवेशवादी प्रवृत्तिबाट उत्पीडित राष्ट्रिय स्वाधीनताका पक्षधरहरूको कार्यक्रम हो ।”

साम्राज्यवादको चरित्रको बारेमा अझ स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हिजो साम्राज्यवाद एक हातमा बन्दुक र अर्को हातमा बाइबल च्यापेर आक्रमणका लागि आउँथ्यो । अहिले एउटा हातमा विकास र सहयोगको नारा र अर्को हातमा बन्दुक बोकेर आउँछ । अहिले एमसीसीका नाममा अमेरिकीहरू नेपालमा सैन्य क्याम्प खडा गर्ने योजनामा छन् । यहाँका दलाल सत्ताधारीसित मिलेर उनीहरू नेपाली राष्ट्रिय स्वाधीनता र जनताका विरुद्ध लागेका छन् ।”
अमेरिकाको एमसीसी परियोजनाका बारेमा स्पष्ट पार्दै महासचिव करिणले भन्नुभयो, “एमसीसी हिन्द–प्रशान्त रणनीतिक योजनासित जोडिएको सैन्य कार्यक्रम हो । विकास त देखाउने रूप मात्र हो र सार सैन्य गठबन्धन हो । पेन्टागनले यसलाई सैन्य कार्यक्रम हो भनेर प्रस्ट पारिसकेको छ र जे जे भनेर ढाकछोप गरे पनि यसको मूल उद्देश्य नेपालमा सैन्य क्याम्प खडा गर्ने नै हो ।”

उहाँले अगाडि भन्नुभयो, “साम्राज्यवाद नेपाललाई प्रयोग गरेर आफ्नो उद्देश्य पूरा गर्न चाहन्छ, नेपाल यसका लागि सजिलो बनेको छ, यहाँका सत्ताधारीहरू साम्राज्यवादको दलाली गरेर पदीय लाभ लिन लालायित हुन्छन् भन्ने कुरा साम्राज्यवादीहरूलाई थाहा छ । एमसीसी सोझै देश र जनताका विरुद्ध लक्षित छ र यसलाई कुनै हालतमा पनि पारित गर्न दिनु हुँदैन ।”

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षको विकल्प नरहेको कुरामाथि जोडदिंदै उहाँले भन्नुभयो, “यसका लागि एकल र संयुक्त भएर जानु पर्छ । क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर सङ्घर्ष गर्नु पर्छ र एमसीसी विरोधी अरू शक्तिहरूलाई आकर्षित गरेर र तानेर एकजुट बनाएर सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षमार्फत् नै यसलाई खारेज गर्नुपर्छ । एकताबद्ध भएर यसका विरुद्ध सङ्घर्ष गर्नुको विकल्प छैन ।”

महासचिव किरणले मुलुकको वर्तमान स्थिति र क्रान्तिकारीहरूको भूमिकाका सन्दर्भमा भन्नुभयो, “हामीले अहिलेको परिस्थितिलाई बुझ्नु जरुरी छ । स्थिति हिजोको जस्तो छैन, फरक छ जटिल पनि छ । ओलीले दुई–तिहाइ प्राप्त गरेपछि संसारै जितेको सम्राटझैँ आफूलाई ठाने । ५० वर्षसम्म अब हामीले सत्ता चलाउँछौ भनेर फुर्तिफार्ति गरे । यो संविधान र संसदीय व्यवस्थालाई उत्कृष्ट ठान्नेहरूका सामु संसद विघटन र पुर्नस्थापनाले संसदीय व्यवस्थाको उच्चता र श्रेष्ठता अदालतमा गएर थन्कियो । तीन किसिमका धारहरू देखा परे । समग्र स्थितिले यो व्यवस्था असफल भएको प्रमाणित गर्यो । यो व्यवस्था परमादेशमा गएर जीवित हुनु भनेको संविधान र व्यवस्थाकै असफलता हो । यो संविधान र यो संसदीय व्यवस्था उच्च छ, ठूलो छ भनेर घमण्ड गर्नेहरू परमादेशमा निर्भर रहे । यो समग्र स्थितिलाई हामीले गम्भीरतापूर्वक बुझ्नु पर्छ ।”
संसदीय व्यवस्था र नेपाली कम्युनिस्ट आन्दोलनभित्रको संशोधनवाद तथा दक्षिणपन्थी अवसरवाद समेत पूर्णरुपमा असफल भइसकेको ठहर गर्दै उहाँले भन्नुभयो, “यो व्यवस्था असफल भएको प्रमाणित भइसक्यो र अबको विकल्प भनेको नयाँ जनवादी क्रान्ति नै हो र अब यसका लागि अघि बढ्नु आवश्यक छ । नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्छ । पुरानोलाई ध्वस्त पारेर नयाँ जनवादी सत्ता हुँदै समाजवादमा अघि बढेपछि नै अहिलेका समस्याहरू सही किसिमले हल हुनेछन् ।”

उहाँले अगाडि भन्नुभयो, “अबको तयारी नयाँ जनवादी सत्ताको हो । हामी हाम्रो शक्तिको वृद्धि गछौँ, सङ्घर्ष गर्न एकताबद्ध हुनु पर्छ । क्रान्तिकारी पार्टी र शक्ति छन्, छरिएर रहेका क्रान्तिकारीहरू छन् । सशोधनवादी पार्टीहरूमा पनि क्रान्ति चाहनेहरू छन् । क्रान्ति चाहनेहरू एकताबद्ध हुनै पर्छ । अर्को विकल्प छैन । हामीले हिजो दस वर्ष जनयुद्ध लड्यौँ । हामी हाम्रा अनुभवलाई परिमार्जित गर्दै आन्दोलनको तयारी गर्छौँ र उत्कर्षमा जान्छौँ ।”

क्रान्तिकारी माओवादी, सम्बद्ध संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, सम्बद्ध जनवर्गीय संगठन तथा जातीय मोर्चाहरुको आयोजनामा देशका विभिन्न भागमा एमसीसी सम्झौता खारेजीको माग गर्दै दैनिक जसो विरोधका कार्यक्रमहरु भइरहेका छन् । चितवन जिल्ला पार्टीको आयोजनामा युवाहरुको मटरसाइकल ¥यालीसहित विरोध प्रदर्शन गरेको छ ।

त्यसैगरी क्रान्तिकारी माओवादीकै अगुवाइ तथा पहलकदमीमा २२ दल तथा त्यसमा समेत थप शक्ति तथा संगठनहरुलाई केन्द्रित गरी केही समय पहिलेदेखि ‘एमसीसी खारेजी आन्दोलन’ गठन गरिएको छ । एमसीसी खारेजी आन्दोलनकै आयोजनामा एमसीसी खारेजीको माग गर्दै असोज २२ गते वृहत् प्रदर्शनको तयारी समेत गरिएको छ । क्रान्तिकारी माओवादीले सच्चा देशभक्त, वामपन्थी र कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको संघर्षलाई चर्काउनुपर्ने कुरामा जोड दिंदै आएको छ ।

भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले आपसी सैन्य गठबन्धनसहित नेपालको स्वाधीनतामाथि धावा बोलिरहेको परिस्थितिमा नेपालका सच्चा देशभक्त र क्रान्तिकारी शक्तिले नेपालको सार्वभौमिकता, स्वाधीनता तथा क्षेत्रीय अखण्डताको रक्षाका लागि सशक्त राष्ट्रिय प्रतिरोध संघर्षको उठान गर्नुपर्ने स्थितिको विकास हुन पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर