मनाङेको माहौलमा सहिद मित्रमणिको सम्झना

प्रकाशित मिति : २०७८ बैशाख २१

- सुरेन्द्र बस्नेत

वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । सोही दिन सहिद मित्रमणि आचार्य दिवस पनि हो । तर समय धेरै नै फेरिएको छ । कतिपय मानिसलाई यतिबेला मजदुर भन्दा‘मनाङे’ प्रिय लाग्न थालेको छ । अहिलेको सरकारी कम्युनिस्ट पार्टीमा भएका धेरैलाई आज मित्रमणि आचार्यलाई सम्झने कुनै फुर्सद छैन । धेरैलाई त मित्रमणि कुन चरीको नाम हो भन्ने स्थिति आइसक्यो । मनाङेलाई बधाई दिनमा नै उनीहरूलाई भ्याईनभ्याई छ । दीपक मनाङेलाई बधाई दिन लालायित धेरै सरकारी अखिलका साथीलाई आज न सहिद मित्रमणि आचार्यलाई सम्झने फुर्सद छ न त मजदुर दिवस स्मरण गर्ने जांगर छ । मनाङे तिनै पात्र हुन् जसलाई लुटपाट, व्यक्ति हत्या र अन्य कयौं अपराधका दर्जनौं मुद्दा चलिरहेका छन् । आफुलाई कम्युनिस्ट दाबी गर्ने पार्टीले उनलाई हालै गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनायो ।
सत्ता टिकाउने नाममा गरिएको यो नियुक्ति निर्लज्जताको पराकाष्ठा हो । योसंगै अब मजदुरले क्रान्ति गरेर मुक्ति ल्याउने हैन ’भगवान् राम ’ मुक्तिका लागि चितवनको माडीमा आइपुगिसके भन्ने थेसिसले पनि प्रश्रय पाउन थालेको छ । त्यसैले यो समय मित्रमणिलाई सम्झने समय होइन । मनाङेलाई जयजयकार गर्ने समय भएको छ । जीवनभर मित्रमणिहरु जसका विरुद्ध लडे र अन्तत: लड्दालड्दै जीवनको इहलिला नै समाप्त गरे आज हाम्रो समाज त्यस्तै मान्छेहरुलाई बोकेर वैतर्नी तार्न अभिशप्त छ । यो शैली राजनीति र निष्ठाको स्खलनको समय हो ।
को थिए मित्रमणि आचार्य ?
सानैदेखि अत्यन्तै तिक्ष्ण बुद्धि, गहिरो अध्ययन, प्रखर वक्तृत्वकला र जुझारु व्यक्तित्व भएका आचार्यले वि.स. २०१९ असार ३ गते धर्तीमा पहिलो पटक पाइला टेकेका थिए । पिता रेशमराज आचार्य र माता पिताम्बरादेवी आचार्यको कोखबाट प्यूठानको तत्कालीन रम्दी गाविसस्थित रुद्रपुर गाउँमा उनको जन्म भएको थियो । २०३६ सालमा एसएलसी उत्तीर्ण गरेसँगै अनेरास्ववियुको सदस्यका रूपमा उनको राजनीतिक यात्रा प्रारम्भ गरेका आचार्य २०३६ मा कृषि क्याम्पस पक्लिहवा क्याम्पसको इकाई अध्यक्ष, २०३७ मा स्ववियु सभापति तथा रुपन्देही जिल्ला सचिव भएका थिए । अध्ययनको सिलसिलामा केन्द्रीय कृषि क्याम्पस रामपुर चितवनमा पुगेपछि उनी चितवन जिल्ला कोषाध्यक्ष हुँदै २०४० मा जिल्ला उपाध्यक्ष भए । यससँगै उनी अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। विद्यार्थी माझ अत्यन्तै लोकप्रिय आचार्य २०४१ मा रामपुर क्याम्पसको पनि स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
सानो उमेरमा नै क्रान्तिकारी विद्यार्थी आन्दोलनको चम्किलो ताराको रुपमा उदाएका आचार्य एकातिर आम शोषित पीडित विद्यार्थी एवम् जनतामाझ आँखाको नानी र केही मुट्ठीभर जनविरोधीका लागि आँखाको कसिङ्गर बन्दै गए । दलहरु प्रतिबन्धित भएको त्यस पञ्चायती कालरात्रिमा जनताका आवाज बोल्ने र शोषक सामन्तका विरुद्ध जेहाद छेड्ने अग्रणी शक्ति विद्यार्थी मात्र थियो । आचार्य त्यस क्षेत्रको एक चर्चित कमाण्डर थिए । शासकहरु मित्रमणिहरुले बालेको विद्रोहको मसालदेखि आतंकित थिए । तिनका मतियारहरु मित्रमणिहरुले सिर्जना गरेको पंचायत विरोधी आन्दोलनको राप र तापबट त्रसित थिए । शासकहरुको जुठो खाएर परिवर्तनको यात्रा रोक्ने खोज्नेहरु पनि थिए । तर ती सबैका हर्कतका विरुद्ध मित्रमणि सत्तिसाल जस्तै ठिङ्ग उभिएका थिए । उनी परिवर्तन विरोधी शक्तिसँग झुकेनन् । सायद उनको त्यही अडान, २०४२ वैशाख १८ गते चितवनको मेघौली माविमा आयोजित कार्यक्रममा जाँदै गर्दा पर्साढाप भन्ने ठाउँमा उनीमाथि सत्तासंरक्षित गुण्डाबाट सांघातिक आक्रमण भयो । ती गुण्डाले उनलाई खुकुरी, चेन, चुप्पीसहितका धारिलो हतियार प्रयोग गरी निरसंश आक्रमण गरेर मरणासन्न बनाई फालेर हिँडे । पछि त्यहाँका गाउँलेहरूले उनलाई भरतपुर अस्पतालमा पुर्याएर उपचार गर्दै गर्दा १८ गते राति १२ बजे उनको निधन भयो ।
महान सहिद मित्रमणि आचार्य नेपाली विद्यार्थी आन्दोलनका एक कहिल्यै नअस्ताउने चम्किला तारा हुन् । नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको इतिहासमा उनको नाम स्वर्ण अक्षरले लेखिएको छ । राष्ट्रिय स्वाधीनता, अग्रगन, जनजीवीका र शैक्षिक रुपान्तरणको आन्दोलनमा उनले खेलेको उल्लेखनीय भुमिकाकै कारण उनको नाम अजर र अमर छ । तत्कालीन निरङ्कुस शक्तिहरुसँग अपवित्र साँठगाँठ गर्दै पञ्चायती सत्ताको भत्ता खाएर मैमत्ता भएका सुण्ड मुसुण्डहरुको निशानामा परी आचार्यले सहादत प्राप्त गरेका थिए । आजको दिनमा महान् सहिद मित्रमणि आचार्यले देखाएको न्याय, स्वतन्त्रता र समानताको वाटोमा दृढतापुर्वक हिड्ने प्रण गर्नु नै उनीप्रति सम्मान र श्रद्धाञ्जली हुनेछ ।
विद्यार्थी आन्दोलनका आइकन : मनाङे कि मित्रमणि ?
राणाशाही विरुद्ध गंगालालको बलिदानको धारा र राष्ट्रिय स्वाधीनताका निम्ति चिनियाँकाजीको उत्सर्गको धारा नेपालको विद्यार्थी आन्दोलनको प्रेरणपुञ्ज हो । विद्यार्थी हकहित र परिवर्तनका निम्ति मित्रमणिको त्यागको धारा र गणतन्त्रका निम्ति सहिद वेनोज अधिकारीको बलिदानको धारा नेपाली वाम विद्यार्थीको आधारभूमी हो । तर दीपक मनाङे जस्ता पात्रहरुलाई सामान्य संरक्षण मात्र होइन मन्त्री पदमै विराजमान गराउने प्रवृत्तिले मित्रमणिहरुको घोर अपमान भएको छ ।
आज नेपाली विद्यार्थी आन्दोलनमा सत्ताको सलामी र गुलामी गर्ने प्रवृत्ति मौलाएको छ । पैसा र बलवाहुका आधारमा जनपक्षीय राजनीतिलाई धुमिल पार्न उद्धत प्रवृत्तिलाई परास्त गर्ने तत्परता लिनुको सट्टा ’मनी र मसल’ सँग आत्मसमर्पण गर्ने प्रवृत्तिले टाउको उठाउन खोज्दैछ । गौरवशाली विद्यार्थी आन्दोलनलाई दासहरुको लस्करमा परिणत गर्न खोज्नेबाट हरहालतमा जोगाउनु पर्दछ ।
आज विद्यार्थी आन्दोलनलाई केही दिन खोज्ने हैन केवल लिन मात्र खोज्नेको चंगुलबाट अलग गर्न जरुरी छ । हिजोका मण्डलेसँग सम्झौताहीन सङ्घर्ष गर्दै उदाएको गौरवमय विद्यार्थी आन्दोलनलाई नव मण्डलेहरुको झुण्डमा बदलिन कुनै हालतमा दिनहुँदैन। राष्ट्रियता, लोकतन्त्र, जनजीवीका र शैक्षिक रुपान्तरणका निम्ति विद्यार्थी आन्दोलनले सदैव दबाब, जागरण र खबरदारीको भुमिका खेल्नुपर्दछ । सारमा विद्यार्थी आन्दोलनमा अब यस्तो शुद्धिकरण आवश्यक भइकेको छ कि जसले समाजको हिरो फेरि पनि मनाङे होइनन्, मित्रमणि आचार्यहरु नै हुन् भनेर निसंकोच भन्न सकोस् ।
(लेखक अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन)