काठमाडौं । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको ३ नं. प्रदेशले आयोजना गरेको युवा मार्चपास तथा जनसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले भन्नुभयो, “जनयुद्धको बत्ति निभेको छैन, जनयुद्धको झण्डा गिरेको छैन, क्रान्ति जारी छ ।” २६ पानसमा दीप प्रज्वलन गर्दै महासचिव किरणले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “नेपालमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढ्नका लागि भनेर महान जनयुद्धको अभियान छेडियो । यस अवधिमा मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका जनताको विश्वास जित्न सफल भयौं । देशको विशला भूभागहरुमा आधार इलाकाहरुको निर्माण गरियो । यस अवधिमा हामीले सात डिभिजन जति जनमुक्ति सेना बनायौं । र, विश्वलाई समगरमाथाको देशबाट क्रान्तिको महान सन्देश दियौं । दशवर्षे जनयुद्ध नेपाली क्रान्तिको लागि मात्रै होइन विश्व क्रान्तिका निम्ति पनि एउटा महान ऐतिहासिक उद्घोष थियो । तर दुःखको कुरा पार्टीभित्र पैदा भएको दक्षिणपन्थी अवसरवाद र संशोधनवादले धोका दियो । तसर्थ, हामीले जनयुद्धको लक्ष्य पूरा गर्न सकेनौं । तैपनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व जस्ता आंशिक उपलब्धि पनि जनयुद्धका उपलब्धि हुन् । अहिले तिनलाई पनि ध्वस्त पार्ने षड्यन्त्र भइरहेको छ । संसद विघटनसम्म आउँदा संसदीय व्यवस्था सम्पूर्ण रुपले असफल भइसकेको छ । मजदुर, किसान कसैका समस्या समाधान भएका छैनन् । महिलाहरु हत्या र बलात्कारका शिकार भइरहेका छन् । जनजातिहरुको नाम मात्रको संघीयता छ । मधेसी मुस्लिम लगायत जनसमुदायका हक अधिकारहरु स्थापित हुन सकिरहेका छैनन् । तसर्थ अब संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नुको विकल्प छैन । त्यस निम्ति छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । जनताको जित निश्चित छ । यही कुराको बोध गर्नुमा नै २६ औ जनयुद्ध दिवसको मुख्य अर्थ र महत्व रहेको छ ।”

मार्चपास तथा सभालाई देजमोका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पीवीएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङ, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । पीवीएम पवनमान श्रेष्ठले अध्यक्षता गरेको सभाको सञ्चालन पीवीएम तथा प्रदेश सचिव सुरेश श्रेष्ठले गर्नुभएको थियो । सभामा स्वागत मन्तव्य क्रान्तिकारी युवा लिगका उपाध्यक्ष केशव ढलकोटीले राख्नुभएको थियो ।


सभामा परिणत हुनुपूर्व शान्तिबाटिका बाट सुरु भएको युवा मार्चपास पुरानो बसपार्क, सहिद गेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, विशाल बजार, असन इन्द्रचोक हुँदै पुनः शान्तिबाटिमा आएर सभामा परिणत भएको थियो । क्रान्तिकारी माओवादीले ३ नं. प्रदेशका अधिकांश जिल्लाबाट युवाहरुलाई केन्द्रित गरेको थियो । जनयुद्ध जिन्दावाद, वीर अमर सहिदहरु लालसलाम, नयाँ जनवादी क्रान्ति जारी छ, संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र जस्ता नाराहरु लगाइएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर