काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)सहित ६ वटा महिला संगठनहरु सम्मिलित ‘संयुक्त महिला संघ संघर्ष समिति’ भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आन्दोलित बनेको छ । बलात्कार जस्तो जघन्य अपराधमा अधिकांश पीडितहरुले न्याय नपाएको भन्दै उनीहरु दोषीउपर कडाभन्दा कडा सजायको माग गर्दै आन्दोलित बनेका हुन् ।
सोमबार एक वक्तव्य जारी गर्दै महिला संगठनहरुले गएको ७ वर्षमा १४ हजार महिला र बालिका बलात्कारजन्य हत्या, हिंसामा परेको तथ्यांक प्रस्तुत गर्दै यो अवस्था ‘मुलुकै लागि दूभाग्यपूर्ण’ भएको जनाएका छन् ।

संयुक्त महिला संघ संघर्ष समितिले बैतडीकी किशोरी भागरथी भट्टको पनि बलात्कार पछि हत्या भएको उल्लेख गर्दै बालिका र महिलामाथि भइरहेको यस किसिमको मानवताविरोधी जघन्य अपराधको अबिलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

यस्तो छ वक्तव्यको पूर्णपाठ ः
“बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका —७ चिडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको पनि विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएको र गत बिहिबार साँझ घर नजिकै लखलेक जङ्जलमा बलात्कारपछि हत्या गरिएको जिल्ला अस्पताल, बैतडीमा गरिएको शव परीक्षणबाट देखिएको छ ।

प्रहरीका अनुसार बलात्कारको प्रतिकार गर्दा उनको टाउको र हातमा चोट लागेको देखिएको छ, भने घाँटीमा निलडाम र यौनांगमा घाउ रहेको शव परीक्षणबाट पुष्टि भएको समाचारमा आएका छन् । यस जघन्य घटनाको विकसित घटनाक्रमलाई संयुक्त महिला संर्घष समितिले संवेदनशिलताकासाथ अध्ययन गरिराखेको छ ।

गत असोजमा बझाङ जिल्लाको मष्टा गाउँपालिकाकी १२ वर्र्षीया सम्झना विकको गोठ जाँदै गर्दा अपहरण गरी बलात्कारपछि हत्या, महोत्तरी जिल्लाको बर्दिबासमा ६ वर्षीय बालिकाको बलात्कारपछि दर्दनाक र जघन्य हत्याका घटनाले हामी सबैलाई मर्माहत बनाएको छ । यस खाले निन्दनीय घटनाको संयुक्त महिला सङ्घ सङ्घर्ष समितिका घोर भत्र्सना गर्दछौं ।

बालिका र महिलामाथि भइरहेको यस किसिमको मानवताविरोधी जघन्य अपराधको सरकारले अबिलम्ब निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्न प्रहरी, मानव अधिकार आयोग र सम्बन्धित निकायहरुसँग जोडदार आग्रह गर्दछ । साथै यस खाले जघन्य मानवअधिकार विरोधी घटनाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठन, राजनीतिक दल र नागरिक समाजको समेत गम्भीर ध्यानाकर्षण होस भन्ने विशेष आग्रह पनि गर्दछ ।

पटक पटक यस किसिमको घटना दोहरिनुले राज्य महिला र बालिकामाथि हुने हिंसा र बलात्कार नियन्त्रणका लागि संवेदशील र जवाफदेही नभएको पुष्टी गर्छ । मुलुकमा मानवताविरोधी यस्ता घटना भइरहनु सरकारको लापरबाही, असंवेदशीलता र मानवअधिकारको संरक्षण गर्न नसक्नुको पराकाष्ठा हो ।

गएको ७ वर्षमा १४ हजार महिला र बालिका बलात्कारजन्य हत्या, हिंसा र पर्नु मुलुकै लागि दूभाग्यपूर्ण अवस्था हो । सुदूरपश्चिम प्रदेशमा मात्रै नेपाल प्रहरीकै अनुसार २०७६ चैत्रदेखि २०७७ पुष मसान्तसम्म करीब २०० भन्दा बढी जबरजस्ती करणीसम्बन्धी घटना भएका छन् । यस्ता घटनामा अधिकांश पीडितले न्याय पाउन सकेका छैनन तर्सथ पीडित पक्षले राज्यबिहीनताको महसुस गरिरहेका छन ।

यस प्रकारको जघन्य अपराधको जति नै निन्दा र भत्र्सना गरे पनि पुग्दैन । सङ्घर्ष समितिले घटनामा संलग्न अपराधीलाई कडाभन्दा कडा सजाय, मृतक किशोरी भागिरथी भट्टको परिवारलाई उचित क्षतिपूर्ति र न्यायको लागि जोडदार माग गर्दछ । घटनाको न्यायिक छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग जोडदार माग गर्दछ ।

यस प्रकारका महिला तथा बालिकामाथिका हत्या, हिंसाजस्ता जघन्य अपराधको विषयलाई राष्ट्रिय मुद्दा बनाउन र घटना हुनै नदिन संघ,प्रदेश र स्थानीय सरकारले तत्काल योजना, कार्यक्रम, नीति सार्वजनिक गरोस् । साथै यस्ता अपराध विरुद्ध ब्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्न विभिन्न राजनीतिक दल, महिला सङ्गठन, मानवअधिकारवादी सङ्घसंस्थाहरूसँग अपिल गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर