जगत बा र शैली टुटेको चितवन

जगत बा र शैली टुटेको चितवन

 

नेपाली कम्युनिस्ट आन्दोलनका विचार र निष्ठाका सतिसाल आदरणीय जगतबहादुर श्रेष्ठ ‘जगत बा’ यतिखेर जीवन–मरणका सङ्घर्षमा हुनुहुन्छ । आफ्नै निवासमा लडेर आन्तरिक रक्तस्रावका कारण मस्तिष्कमा रगत जमेर गम्भीर अवस्थामा पुग्नुभएका ९२ वर्षीय जगत बाबारे यतिबेला उहाँको कर्मशील वैचारिकी जीवनको चर्चा गर्नु र उहाँको स्वास्थ्यलाभको कामना गर्नु हामी सबैको कर्तव्य हो । यो टिप्पणी यसैमा केन्द्रित रहेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनका अघिल्लो पुस्ताका आस्था तथा निष्ठाका सतिसाल जगतबहादुर श्रेष्ठ ‘जगत बा’ (१९८६) सित केही वर्षअघि चितवनको भरतपुरमा आयोजित एक पुरस्कार बितरण कार्यक्रममा भेट भएको थियो । सो कार्यक्रममा उहाँको सारगर्वित मन्तव्यले मलाई गहिरो प्रभाव पारेको थियो । चितवन मेरो गृहजिल्ला पनि भएको र त्यहाँ जगत बाजस्ता शिखर व्यक्तित्वले अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको सन्दर्भमा उहाँ र उहाँका बारेमा केही लेख्नुपर्छ भन्ने लागिरहेको थियो । काठमाडौं फर्केपछि जगत बाको अन्तर्वार्ता ‘हाम्रो जलजला’ मासिकमा प्रकाशित गरेको पनि थिएँ ।

गोरखाको जौबारीमा १९८६ सालमा जन्मनुभएका जगत बाको गोठालेजीवन हुँदै आफ्नो जीवनयात्राको करिब दुई दसकपछि मात्र शिक्षार्जन प्रारम्भ गर्नुभएका श्रेष्ठको अधिकांश समय पहाड र काठमाडौं उपत्यका गर्दै बित्यो । २०१२ सालमा औपचारिक रूपमा काठमाडौंमा प्रवेश गरेसँगै कक्षा आठमा प्रौढस्कुल भर्ना हुनुभएका उहाँले सोही स्कुलका सञ्चालकहरू प्रगतिशील विचार समर्थक पनि भएकोले अध्ययन र राजनीतिका लागि उपयुक्त वातावरण पाउनुभयो । त्यतिबेलादेखि नै उहाँमा औपचारिक अध्ययनभन्दा राजनीतितिर नै ध्यान खिँचियो । यसरी हेर्दा २०१० साको वरिपरिबाट जगत् बा नेपालको वामपन्थी विद्यार्थी आन्दोलनमा संलग्न हुँदै आउनुभएको देखिन्छ । उहाँले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो । काठमाडौं बस्नुहुँदा पुष्पलाल श्रेष्ठ, निर्मल लामालगायत नेताहरूसित राजनीतिक भेटघाट गर्नुहुने उहाँले २०१४ मा फोहोरा दरबार, काठमाडौंमा भएको दोस्रो महाधिवेशनमा गोरखा जिल्लाको प्रतिनिधि भएर भाग लिनुभएको थियो । २०१५ सालको आम निर्वाचन गोरखा जिल्लामा कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेद्वार बन्नुभएका जगत बा त्यसपछि उहाँले जौबारी स्कुलमा शिक्षकको रूपमा काम गर्नुभयो ।

ताहचलको पब्लिक कलेजको पहिलो वर्षको परीक्षा दिने बेलामा कलेज नै बन्द गरिदिएपछि उहाँ चितवन जानुभयो । चितवन गएर उहाँले शिक्षक सङ्गठन बनाउनुभयो । उहाँ निरन्तर पार्टी सम्पर्कमा रहनुभयो । उहाँले पार्टी सङ्गठनमा पनि निरन्तरता दिइरहनुभयो । २०२८ सालमा केन्द्रीय न्युक्लियससँग सम्पर्क गर्नुभएका उहाँ माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकमा महान् जनयुद्धको क्रान्तिकारी धारामा आबद्ध हुनुभयो । त्यसक्रममा उहाँले अनेक यातनाका साथ केही दिनको हिरासत–जीवन पनि गुजार्नुभएको थियो । पार्टीभित्र चलेको र चल्ने दुई लाइन सङ्घर्षमा जगतबहादुर श्रेष्ठ ‘जगत् बा’ क्रान्तिकारी राजनीतिक धारामा सदैव अविचल रहनुभयो । उहाँको क्रान्तिकारी भावधारा उच्च गतिमा प्रवाह भइरह्यो । नेपालको समकालीन विचार, सिद्धान्त, दर्शन, आदर्श, वर्ग पक्षधरतामा भयानक स्खलनको डरलाग्दो पहिरो आइरहेको यतिबेला उहाँ सतिसालको रूपमा खडा हुनुहुन्छ । यो कुरा समकालीन क्रान्तिकारी राजनीतिको लागि अपूर्व उत्प्रेरणा हो । उहाँ विचार र व्यवहारमा समतुल्यता कायम राख्न सफल हामी सबैका प्रेरणा र उत्साहका प्रतीक हुनुहुन्छ ।

जगत् बाको ‘मेरो धर्ती’ कवितासङ्ग्रह र ‘जगत श्रेष्ठका निबन्धहरू’ गरी दुईवटा कृति प्रकाशित छन् भने केही फुटकर लेख–रचना तथा अनगिन्ती अन्तर्वार्ता छन् । उहाँ एक कुशल स्रष्टा त हुनुहुन्छ नै, उहाँ नेपालको कम्युनिस्ट राजनीतिको अनेकन परिस्थितिको द«ष्टा पनि हुनुहुन्छ । यी सबैमा उहाँको विचारधारात्मक पक्ष प्रधान भएर आएको छ । नेपालको कम्युनिस्ट आन्दोलन आज विभिन्न चिरा र शिरामा विभक्त छ । कम्युनिस्ट पार्टी र त्यससित सम्बन्धित कम्युनिस्टहरू नेपालमा सबैखाले वर्गसङ्घर्षमा सबैभन्दा बढी दुःख, कष्ट, बलिदान गर्नेमा अग्रपङ्क्तिमा पर्दछ । नेपालमा ठूल–ठूला दुई लाइन सङ्घर्ष हुँदै आएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा फुट तथा विभाजन त नकारात्मक बिम्ब नै बनेको छ । धेरैको मुखबाट ‘नेपालका कम्युनिस्टहरू कहिल्यै मिल्न सक्तैनन्’ भन्ने आवाज सुनिने विषय हो । यसमा केही दार्शनिक तथा वैचारिक प्रश्न छन् । कम्युनिस्टहरू असल हुन्छन् र असल भइरहनुपर्दछ भन्ने कुरामा जगत बाको स्पष्ट अभिमत पाइन्छ ।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरूको एउटा ठूलो सदीक्षा थियो, नेपालमा जनताको सत्ता स्थापना गर्ने । नेपालको कम्युनिस्ट आन्दोलनको यो लामो कालखण्डमा हामीले देख्दै र भोग्दै आएका अनेकौँ परिस्थितिले एउटा प्रशन उब्जाइदिएकै छ, के नेपालमा क्रान्ति पूरा हुने कुरा सुदूर भविष्यको विषय हो ? नेपालको कम्युनिस्ट आन्दोलन बाह्य तथा आन्तरिक कारणका कारण अनेकन् अन्तर्विरोधको चक्रब्युहमा फस्न पुगेको विभिन्न सन्दर्भ महत्वपूर्ण छन् । नेपालमा नेपालका कम्युनिस्टहरू क्रान्ति गर्न सक्छन् तर प्रतिक्रान्ति रोक्न सक्तैनन् भन्ने आरोप पनि छ । हुन पनि नेपालमा त्यस्तै देखिँदै आएको छ । नेपालका कम्युनिस्टहरूले ठुल–ठुला आन्दोलनको नेतृत्व गर्दै आएका छन् तर निष्कर्ष दिन सकेनन् । नेपालका कम्युनिस्टहरूमा सांस्कृतिक रूपान्तरणका समस्याहरू पनि अधिक मात्रामा देखिँदै आएका छन् । तिनका सांस्कृतिक विचलनबारे लेख्ने हो भने मात्र पनि ठुला ठुला ठेली बन्छन् । आफू कम्युनिस्ट नै नबनीकन कम्युनिस्ट पार्टीको नेता भएपछि कस्तो हविगत हुन्छ भन्ने कुरा हामीले हाम्रै अन्दोलनमा देख्दै र भोग्दै आएका छौँ । यस सन्दर्भमा जगत बाले भन्नुभएको छ, “सांस्कृतिक रूपान्तरण पनि सङ्गठनकै अन्तर्गत गर्दै जानुपर्ने विषय हो । पर्न आउँदा एकैचोटि कुद्ने कुरा गर्न सकिन्न र यो दिगो पनि हुँदैन । एकपटक हुलमुलमा कम्युनिस्ट बनिहाल्छन् । तुरुन्तै छोडेर अन्तै पुग्छन् । प्रायःजसो मान्छे चखुवा हुन्छन् (जलजला मासिक) ।”

राजनीतिक आन्दोलनमा नीति र नेतृत्वको सवाल निकै महत्वपूर्ण कुरा रहेछ । नेपालका कम्युनिस्ट पार्टीमा निकै लामो समयदेखि नीति र नेतृत्व नमिल्दा फुट–विभाजन हुँदै आएको देखिन्छ भने नीति र नेतृत्व मिल्दा क्रान्तिकारी धु्रबीकरण हुँदै क्रान्तिकारी उभार सिर्जना भएको पनि देखिन्छ । नेपालका बहुसङ्ख्यक जनता कम्युनिस्ट विचारधारामा विश्वास गर्छन् तर पनि नेपालमा किन क्रान्ति पूरा हुन सकिरहेको छैन । नेपालमा क्रान्ति सम्पन्न गर्नुको कुनै विकल्प पनि छैन । क्रान्तिकारी आधार यति धेरै हुँदा हुँदै पनि, आत्मगत र वस्तुगत परिस्थति यति सवल हुँदा हुँदै पनि नेपालमा जनताको राज्यसत्ता स्थापना हुना हुन नसक्नु साँच्चिकै चिन्ताको विषय बनेको छ । अवश्य पनि क्रान्ति सजिलो कुरा होइन, यो काम सबैले गर्न पनि सक्तैनन् । के नेपालमा सर्वहारा वर्गको नेतृत्व गर्ने नेता नभएकै हो त ? प्रचण्ड किन एकाएक मर्न डराए ? के कहिलेकाहीँ आवश्यक परे नेतृत्वले बलिदान गर्नुपर्दैन ? १० वर्षमा पृथ्वी नै हल्लाउन सफल नेपाली जनयुद्धलाई प्रचण्डले भन्न थाले– हामीले शान्ति प्रक्रिया नअपनाएको भए सिद्धिन्थ्यौँ । यसबाट के कुरा थाहा हुन्छ भने नेपालमा सर्वहाराको नेतृत्व गर्ने व्यक्तित्वको अभाव छ । कम्युनिस्ट मर्न डराउने जात होइन ।

सर्वहारा वर्गको राज्यसत्ता ल्याउने सपना बोकेका कम्युनिस्टहरू र तिनीहरू आबद्ध रहेको कम्युनिस्ट पार्टीमा नीति र नेतृत्वको द्वन्द्वात्मक सम्बन्धलाई बुझ्ने सवालमा नेपालमा धेरै समस्या रहेका छन् । यसलाई विस्तारपूर्वक विश्लेषण गर्ने काम पनि कमै भएको छ । नीति के हो ? नेतृत्व के हो ? भन्नेबारे स्पष्ट व्याख्या, तिनका बिचको सम्बन्ध र परिपूरकतालाई भौतिकीमा रूपान्तरण गर्ने कुरा अहम् महत्वको विषय हो । कम्युनिस्ट पार्टीहरू यस मामिलामा असफल हुँदै आएका छन् । यसले नेपालको क्रान्तिकारी आन्दोलनमा पनि गम्भीर असर पु¥याएको छ । नेपालका धेरैजसो कम्युनिस्ट पार्टीहरू समन्वयवादी नै छन् । नाम कम्युनिस्ट, काम–व्यवहार काङ्ग्रेसभन्दा पनि तल, सबै यस्तै छन् । नेतृत्वको भोकले मात्र अलग–अलग भएका हुन्, नीति र सिद्धान्तमा कुनै फरक देखिन्न भन्ने विचारको जगत बाको थियो ।

नेपालमा कम्युनिस्ट नेतृत्व तहबाटै पटक–पटक धोका, छलछाम र षड्यन्त्र हुँदै आएको देखिन्छ । उनीहरू क्रान्तिको सफलताको सन्निकटमा सम्झौतापरस्त चरित्र हावी भएको देखिन्छ । किन यस्तो हुन्छ ? नेपालमा क्रान्तिकारी विचारको आलोकमा विश्वासको पिरामीड बन्न किन सकिरहेको छैन ? नेपालको समकालीन राजनीतिमा नेता, कार्यकर्ता र जनताबिच अविश्वासको ठूलो खाडल रहँदै आएको छ । अवश्य पनि यो सवाल सामान्य छैन । आज सबैले यो प्रश्नको उत्तर खोजिरहेका छन् । हामीलाई आज सबैखाले अविश्वासलाई विश्वासमा बदलिएको परिस्थिति चाहिएको छ । अग्रगमनको पक्षमा जनतालाई स्पष्ट दिशानिर्देश चाहिएको छ । माओवादी धारामा आएको विभाजनलाई चिन्ताका साथ जगत बाले नजिकबाट हेरिरहनुभएको छ ।

नेपालमा भारतीय हस्तक्षेपका विविध आयाम रहेका छन् । नेपालमा जनराज्यको स्थापना हुन नदिने तथा नेपाली समाजको विविध पक्षको प्रगतिको मुख्य बाधक भारतीय साम्राज्यवाद नै हो । समकालीन जटिल राजनीतिक परिस्थितिका साथ गुज्रिरहेको छ । देश र जनतालाई गणतन्त्रात्मक परिवर्तनको भाव पैदा गर्न सकेन । डबल नेकपाजस्ता संसद्वादीहरूबाट क्रान्तिकारी परिवर्तनको आशा नै गर्नुहुँदैन । डबल नेकपाको मोहरीमा भारत नेपालमा उसको राजनीतिका आधारमा राजनीतिक डिक्टेट गराउन चाहन्छ तर नेपाली जनताका सम्पूर्ण रूपमा यसको खिलाफमा छन् । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनतन्त्रको रक्षाको प्रश्न गम्भीर बन्दै गएको बेला राष्ट्रियता, जनतन्त्र र जनजीविकाबारे जगत बाको धारणा छ, “भारतले नेपाललाई आफ्नै पकेट ठान्दछ । दश वर्षको जनयुद्धले आखिर भारतमा नै विसर्जनको भारी बिसाए बाबुराम–प्रचण्डले । उनीहरूले हामी कहिल्यै तिम्रो देशको विरुद्ध जानेछैनौँ’ भनेर लिखत नै गरेका छन् भन्ने कुरा उदाङ्गै भएकै हो (उही) ।”

विश्व कम्युनिस्ट आन्दोलन र त्यसक्रममा प्रस्तुत भएका क्रान्तिविरोधी गतिविधिका कारण विसर्जनवादी प्रवृत्ति देखा पर्दै आएका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा मात्रै नभएर नेपालका सच्चा कम्युनिस्टहरूले यस प्रवृत्तिका विरुद्ध कठोर सङ्घर्ष गर्दै आइरहेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा विसर्जनवादका विरुद्धको सङ्घर्ष तीब्र बन्दै गइरहेको छ । प्रचण्डहरू पनि नराम्ररी विसर्जनवादी भासमा डुबेका छन् । माक्र्सवादको प्रमुख सवाल नै वैज्ञानिक समाजवाद हो । त्यसलाई नकार्नु भनेको कम्युनिस्टबाट विचलनमा जानु हो । साम्यवादी सपनाका साथ सशस्त्र सङ्घर्ष गरेर दश वर्ष लड्यो माओवादीले तर त्यसको परिणाम शून्यजस्तै भयो । क्रान्तिको कठीन कार्य पूरा गर्न रहरले मात्र हुँदैन ।

हरेक हिसाबबाट चितवन जिल्लालाई महत्वपूर्ण मानिन्छ । यो जिल्लालाई क्रान्ति र प्रतिक्रान्तिको केन्द्र पनि भनिन्छ । नेपालको पूर्व र पश्चिम तथा काठमाडौं उपत्यकालाई जोड्ने जिल्ला चितवन हो । सबै जिल्लाका मानिसहरू पाइने हुनाले पहिला–पहिला यो जिल्लालाई ७६ औँ जिल्ला भनिन्थ्यो; सायद आज–भोलि ७८ औँ जिल्ला भन्नुपर्ने होला । जानकारहरू भन्छन्, अन्य जिल्लामा जस्तै यो जिल्लामा कम्युनिस्ट पार्टीको जग नै बलियो बनिसकेको छैन । चितवन जिल्ला जग बलियो हुने शैली टुटेको जिल्ला हो । यो जिल्लामा प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्दै क्रान्तिकारी ऊर्जा भर्न जगत बाको सुझाव छ, “चितवनमा खास त्यस्तो क्रान्ति भएको छैन । यहाँ सुधारवादी ढङ्गको आन्दोलनहरू भए । यस्ता आन्दोलनहरू पनि विशुद्ध कम्युनिस्टहरूको मात्र नभएर बुर्जुवाहरूसमेत मिलेर भएका छन् । यस्ता सङ्घर्षहरू अस्थायी हुन्छन् । प्रतिक्रान्तिको विरुद्ध लड्नु मुख्यतः पार्टी कम्युनिस्ट सङ्गठनमै मजबुद हुनुपर्छ । यसका लागि सशक्त पार्टी–सङ्गठन हुनुपर्छ । दश बर्से जनयुद्धले पार्टी–सङ्गठन तल्लोस्तर खाली पारिदियो । चाहे पार्टी सङ्गठन, चाहे सांस्कृतिक सङ्गठन, चाहे प्रतिक्रान्ति रोक्न नै किन नहोस्, कम्युनिस्ट पार्टीको जग नै बलियो चाहिन्छ । चितवनमा यो शैली यतिखेर टुटेको छ । चितवन मात्र होइन, देशैभरि यही लहर हावी भएको छ यतिबेला (उही) ।”

जीवनको एउटा क्षणमा कम्युनिस्ट पार्टीको सदस्यता लिइसकेपछि त्यसको मूल्यलाई आत्मसात् गरेर जीवनभर त्यसको वैचारिकीअनुरूप जीवन–व्यवहारमा ढाल्न सक्नु जगत बाको सर्वाधिक महत्वपूर्ण पक्ष हो । ठोस परिस्थितिको ठोस विश्लेषण भनेजस्तै परिवर्तित परिस्थितिमा नयाँ नीति र नयाँ विचार र नयाँ तरिकाद्वारा मात्र अघि बढ्न सकिन्छ भन्ने कुरामा विश्वस्त जगत बा समयसापेक्ष परिवर्तनको सूक्ष्म अध्ययन र त्यसले खोल्दै गरेको नयाँ क्षितिज देख्न सक्ने दूरदर्शी विचारक, चिन्तक र राजनीतिज्ञ हुनुहुन्छ । क्रान्तिकारी आशावादद्वारा ओतप्रोत, स्वप्नद«ष्टा जगत बा दर्शनमा भौतिकवादी, सिद्धान्तमा माक्र्सवादी र राजनीतिमा वैज्ञानिक समाजवादी हुनुहुन्छ । दर्शन–सिद्धान्त, जीवन–व्यहार, आदर्श– सपना र सिर्जनाको केन्द्रीकृत अभिव्यञ्जनाका आधार उहाँमा सघन माक्र्सवादी सौन्दर्यात्मक घनत्व रहेको छ ।

२ असोज, २०७७