परिचय आफैमा पहिचान हो । पहिचान वैयक्तिक, पारिवारिक तथा सामाजिक र राष्ट्रिय सबै हुन सक्छन् । को कुन पहिचानको हैसियतमा हुन्छ, यो देश, काल र परिस्थितिमा भर पर्छ ।
साधारण परिचयमा फलानाको छोरा÷छोरी वा फलानाको नाति÷नातिनी आदिबाट पनि सुरु हुन्छ । यसो भएमा यो पारिवारिक परिचय हुन्छ । कतिपय अवस्थामा जन्म, स्थान, काम र हैसियतका कुरा आउँछन् । यो वैयक्तिक परिचय हुन जान्छ ।
पहिले सामाजिक परिचय निकै माथि थियो । तपाईको घर कहाँ ? भनी सोध्दा पूर्व वा पश्चिम वा जिल्ला वा ठाउँ भने पुगिहाल्थ्यो । जन्मेको साल वा वर्ष सोधियो भने खडेरी लागेको साल वा बाढीले फलानो डाँडो वा खेत बगाएको साल वा भूइँचालो आएको साल भनी हेक्का राखिन्थ्यो ।
यसले पछिल्लो समयमा आएर ज्येष्ठ नागरिकलाई यसले समस्यामा पारेको छ । नागरिकतामा सही मिति नपर्दा पाउने सेवासुविधाबाट बञ्चित भएका छन् । यी साधरण वा आम परिचयका कुरा भए ।
पछिल्लो चरणमा समाजमा राजनीतिका कुरा र परिचय निकै हाइलाइटमा छन् । हरेकको परिचय कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि रहेका छन् । यो परिचय छरछिमेकमा व्याप्त छ ।
यसो हेरियो भने मानिसको आस्था र कर्मका आधारमा यो परिचय त्यति नराम्रो पनि होइन । शास्त्री र आचार्य तहसम्म पढेकालाई फलाना शास्त्री वा आचार्य भनेर बोलाइन्थ्यो । पछि यो ‘थर’ मा परिणत भयो । मानौ बाउबाजेले आर्जन गरेको शिक्षाको मापन पारिवारिक सम्पत्तिमा परिणत भयो र छोराछोरीमा भाग लाग्दै गयो ।
यी सबै सामन्तवादी युगका कुरा थिए । सामन्तवादी सोचको विखण्डनमाथि र पुँजीवादी सोचको क्रमशः प्रभाव पर्नथालेपछि नेपालको जातिवादी समाजमा पनि राजनीतिको परिचय अगाडि आउन थाल्यो । कांग्रेस, कम्युनिष्ट, पञ्च आदि परिचय पनि देखिन थाले ।
राजनीतिक कर्म नै परिचय वा नाम सम्बोधनमा आउन थाल्यो । साँच्चिकै हो, धेरै मानिस बसिरहेका ठाउँमा अनायाश वा प्रसंगले पनि कसैले हल्का ढङ्गले कांग्रेसलाई गाली गर्यो वा टिप्पणी गर्यो भने कांग्रेसको कार्यकर्ता जुरुक्क उठेर उफ्रिइहाल्छ ।
उसले इतिहासको भर्सेलो लगाउँछ– ‘कांग्रेसलाई नहेप, हाम्रो इतिहास थाह छ ? राणा शासनविरुद्ध बन्दुक बोकेको हो कांग्रेसले ।’ ऊ आफ्नो इतिहासको बल यसरी देखाउँछ कि ऊ नै त्यतिबेलाको मुख्य लडाकु थियो ।
यसमा विचार र संघर्षको इतिहासको दम छ । विगतको बलिदानपूर्ण विरासतको दम छ । कुनै टिप्पणीकर्ता मानिस वा विरोधी हच्कन बाध्य हुन्छ किनकि त्यसमा सत्यता छ । कांग्रेसले संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था ल्याउन राणा शासनविरुद्ध हतियार उठाएकै हो । इतिहास साक्षी छ ।
कांग्रेस हुनुको परिचय यसो भयो । मात्र रुखमा भोट हालेको होस्, कांग्रेसको नीति तथा सिद्धान्त केही थाह नहोस् तथापि ऊ यति कुरा कण्ठ पारिराखेको हुन्छ । यो इतिहास नै उसको परिचय ! कांग्रेस र यसको मूल नेतृत्वले पञ्चायतसामु आत्मसमर्पण गरेन ।
यसै गरी एमालेहरु पनि त्यही कुरा गर्छन् । २०२८ सालको झापा संघर्ष र त्यसैको परिचय । यो इतिहासमा लेखिएको छ । आज एमालेको पंक्ति जहाँ छ, त्यो कुरा चिन्दै हो । तर यसले झापा संघर्षको ब्याज खाइरहेको छ ।
पछिल्लो चरण उठेको जनयुद्ध र देशलाई गणतन्त्र नेपाल बनाउन सफल यो संघर्षमा सहभागी हामीहरु जीउँदै छौं । हाम्रो परिचय माओवादी ! आजसम्मका नेपालीमध्ये सबैभन्दा भाग्यमानी !
तर इतिहास र ऐतिहासिक विरासतविहीन झैं बनाइएका छौं । जीउँदो इतिहास बोकेका टुलुटुलु हेरिरहेका छन्, म्याद सकिएकाको चुरीफुरी र हालीमुहाली छ । ‘अगुवा नै बाटामा …’ बनेर आफ्नो इतिहास रातारात रछ्यानमा मिल्काएपछि अरुको घरनजिकको पिसाबको न्यानो कति बेर रहला ?
उपाय नास्ती भएपछि साम्राज्यवादको खेलौना बनेको एमालेले भात खानकै लागि देश नै साम्राज्यवादको हातमा सुम्पन लाग्दा साक्षी बस्न पुगेका लाछीहरु के आफूलाई पूर्वमाओवादी भनेर कहिल्यै सोच्छन् होला ? हुन त त्यो अधिकारबाट उनीहरु बञ्चित भैसकेका छन् । आफ्नै भागमा बिस्ट्याइसकेका छन् ।
अन्यथा भात खानकै लागि त देश बेच्नु पर्दैन । यसका बारेमा भावी सन्ततीले सोध्ने छन्, यसो किन भयो ? देश बेचुवाहरु त रहलान् नरहलान् तर तिनका सन्ततीलाई मुख देखाउन धौधौ पर्ने छ । उनैका सन्ततीले उनीहरुलाई गद्दार र देशद्रोही घोषणा गर्ने छन् । उनीहरु जनताको अनि इतिहासको कठघरामा उभिनै पर्छ । देश र जनतामाथि धोका र गद्दारी गर्नेलाई जनता र इतिहासले माफी दिएको इतिहास छैन ।