क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार क. जगतबहादुर श्रेष्ठ गम्भिर घाइते

प्रकाशित मिति : २०७७ आश्विन १


चितवन । नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार तथा चितवन कम्युनिस्ट पार्टीका संस्थापक नेता जगतबहादुर श्रेष्ठ आफ्नै निवासमा लडेर गम्भिर घाइते हुनु भएको छ । ९२ बर्षीय नेता श्रेष्ठको टाउको चोट लागेको र आन्तरिक रक्तस्रावका कारण मस्तिष्कमा रगत जमेको र कमजोर शारीरिक अवस्था र उमेरका कारण पनि शल्यक्रिया सम्भव नरहेको चिकित्सकले जानकारी दिएका छन् । उहाँ बुधबार विहान चितवनको नारायणगढस्थित आफ्नै निवासमा लड्नु भएको थियो ।


क्रान्तिकारी विचार र वर्गप्रति सँधै निष्ठावान र इमान्दार रहँदै आउनु भएका कमरेड जगतबहादुर श्रेष्ठ पछिल्लो समय पनि सामाजिक सञ्जालमा समेत सक्रिय रहँदै आफ्नो विचार प्रवाह गर्दै आउनु भएको थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाहरुमा आफूलाई क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको कित्तामा उभ्याउँदै आउनु भएका नेता श्रेष्ठले प्रगतिवादी साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आउनु भएको थियो ।

उहाँ घाइते भएर अस्पताल भर्ना भएको जानकारी सामाजिक सञ्जालमा आएपछि अहिले नेपाली कम्युनिस्ट आन्दोलनका विभिन्न धाराका नेता कार्यकर्ताहरुले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । उहाँको स्वास्थ्य स्थिति बुझ्न क्रान्तिकारी माओवादीका स्थानीय नेताहरु अस्पताल पुगेका छन् । अस्पतालले थप उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गर्ने तयारी गरेको क्रान्तिकारी माओवादीकी नेतृ अम्बिका मुड्भरीले जानकारी दिनुभयो ।