चार महिनापछि नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

चार महिनापछि नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

Prime Minister KP Sharma Oli shakes hands with his Indian counterpart Narendra Modi during a bilateral meeting in New Delhi on Saturday, February 20, 2016. Photo: twitter.com/narendramodi

श्रावण ३१ काठमाडौँ,
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले मोदीलाई टेलिफोन गरेका हुन ।
भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओलीले अन्य दुईपक्षीय विषयमा पनि कुराकानी गरेको बताए । उनले भने–
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।
भारतले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मध्यान्ह प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन कुराकानीमा ७४औं स्वतन्त्रता दिवसको शुभकामनाका साथै भारत सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएकोमा समेत बधाई दिएको जनाएको छ ।
‘नेपालका प्रधानमन्त्रीले भारत सरकार र जनतालाई ७४औं स्वतन्त्रताको दिवसको शुभकामना दिनुभयो । साथै हालै भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएकोमा समेत बधाई दिनुभयो’ भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
साथै उक्त टेलिफोनमा कुराकानीमा कोभिड–१९ को असर न्यूनीकरणका लागि भएका प्रयासका लागि समेत ऐक्यबद्धता प्रकट गरेको मन्त्रालयले उल्लेख गरेको छ । मोदीले कोभिड–१९ नियन्त्रणमा नेपाललाई भारतको निरन्तर सहयोग रहनेसमेत बताएको मन्त्रालयले जनाएको छ । त्यसैगरी मोदीले टेलिफोनका लागि ओलीलाई धन्यवाद दिँदै दुई देशबीचको सभ्यता र सांस्कृतिक संम्बन्धका बारेमा स्मरण गराएको समेत विदेश मन्त्रालयले जनाएको छ ।
ओली र मोदीबीच शनिबार भएको कुराकानीले विगत केही महिनादेखि दुई देशको उच्च राजनीतिक तहमा कायम रहेको संवादनहीनतालाई अन्त्य गरेको छ । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछिको पहिलो पटक दुई देशका सरकार प्रमुखबीच संवाद भएको हो ।
यसअघि गत १५ मार्चमा कोभड–१९ को रोकथाम र नियन्त्रणका लागि भिडियो कन्फरेन्समा ओली र मोदीबीच अन्तरक्रिया भएको थियो । त्यसपछि जुनको पहिलो साता मोदी र ओलीबीच भिडियो कन्फरेन्स हुने तय भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताए ।