सिन्धुपाल्चोक, कालिकोट र मकवानपुरमा पहिरोः ठुलो धनजनको क्षति

पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको । कालिकोटमा पनि मध्यराति पहिरोले घर पुर्दा ६ जनाको मृत्यु र मकवानपुरमा पहिरोमा परी बेपत्ता भएका व्यक्तिको शव भेटियो

प्रकाशित मिति : २०७७ श्रावण ३०

३० साउन, काठमाडौं,
देशका विभिन्न भागमा परिरहेको वर्षासँगै खसेको पहिरोका कारण सिन्धुपाल्चोक र कालिकोट लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोकको जुगल–२ लिदिको लामा टोलमा पहिरोमा परेर ३८ जना बेपत्ता भएका छन । शुक्रबार बिहान करिब ६ बजेतिर खसेको पहिरोमा परेका मध्ये ३८ जना सम्पर्कमा नआएको र ८ जना गम्भीर घाइते रहेको जानकारी प्राप्त भएकोछ ।
घाइतेहरूको काठमाडौं र सिन्धुपाल्चोकमा उपचार भइरहेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पनि लिदि पुगेका छन ।
वडाध्यक्ष लामाका अनुसार सुरक्षाकर्मी र स्थानीयले उद्धार कार्य जारीराखेका छन । उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
पहिरोले ३७ घरमा क्षति पुर्याएको उनले बताए ।


जुगल गाउँपालिकाले साउन २२ गते लिदिका १७२ पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएको थियो । पालिकाका अनुसार वडा नम्बर २ कै सानोनाम्फा, सुकुली, सञ्चगाउँ, भुल्के, निम्लुङ, बैगाङ टोल पनि पहिरोको जोखिममा छन ।
यता, कालिकोटमा मध्यराति पहिरोले घर पुर्दा एकै परिवारका ४ जनासहित ६ जनाको मृत्यु भएको छ । कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार बिहीबार राति १२ बजेतिर जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का राजबहादुर विष्टको घर पुर्दा उनको परिवारका ४ सदस्य र दुई छिमेकीसमेतको मृत्यु भएको हो ।
पहिरोमा परी विष्टका दुई छोरा १३ वर्र्षीय पुष्प, ११ वर्र्षीय प्रवीण तथा दुई छोरी १८ वर्र्षीया सविना र १५ वर्र्षीया आशा विष्टको मृत्यु भएको हो । यसैगरी सोही घरमा सुतेका छिमेकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्र्षीया शान्ति र १० वर्र्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी ओलियाले जानकारी दिएका छन् । एकै घरमा सुतेका भए पनि घरमूली राजबहादुर विष्टका दम्पती भने बाँच्न सफल भएका छन ।
टिनको छानो भएको ढलान घरमाथि पहिरो खस्दा भुइँतलाभन्दा माथि सुतेका जति टिनको छानाले च्यापिएर मृत्यु भएको तर विष्ट दम्पती भुइँतलामा सुतेकाले पक्की घर भएकाले बाँच्न सफल भएका प्रहरीले जनाएको छ ।
६ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको शव निकालिसकिएको जानकारी पनि डीएसपी ओलियाले दिए ।
पहिरामा बेपत्ता व्यक्तिको शव फेला
यस्तै, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरो परी बेपत्ता भएका व्यक्तिको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका स्थानीय ५४ वर्षीय काले मोक्तानको शव आज बिहान भेटिएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।
पहिरोमा परेर एउटा स्काभेटर र तीनवटा टिपर पुरिएका छन । पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।