भ्रष्टाचार छानबिनको माग गर्दै उदयपुरको बेलकामा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

प्रकाशित मिति : २०७७ श्रावण १८


उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भएको भ्रष्टाचार छानबिनको माग गर्दै स्थानीयहरु सडकमा उत्रिएका छन् । सडक प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना बढी घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरु समेत प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीलाई नगरपालिकातर्फ जान रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नवीनकुमार सिंहका अनुसार प्रहरी जवान राजकुमार बुढाथोकी घाइते भएका छन् । प्रदर्शनकारी १० जना भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको इलाका स्वास्थ्य चौकी रामपुरमा उपचार भइरहेको छ ।

केही दिनअघि नगरपालिकाकी उपमेयर राजुकमारी चौधरीले नगरप्रमुख दुर्गाकुमार थापाकै मिलेमतोमा भ्रष्टाचार भएको भन्दै राजीनामा घोषणा गरेकी थिइन् ।
पछि नेकपाका बैठकले राजीनामा फिर्ता लिन निर्देशन दिएपछि उपमेयरले आफूबाट गल्ती भएको भन्दै आत्मालोचना गरेकी थिइन् । तर नेकपा (क्रान्तिकारी माओवादी), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायतले भ्रष्टाचार छानबिनको माग राख्दै आन्दोलन गर्दै आएका छन् ।