लिच्छवीकालीन नेवाः बस्ती ‘गोल बस्ती’बाट जनतालाई उठीबास लगाउन खोजेको भन्दै नेवाः मोर्चाद्वारा पशुपति विकास कोषका सदस्य सचिवलाई बर्खास्त गर्न जोडदार माग

प्रकाशित मिति : २०७७ श्रावण १८


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले एक विरोध वक्तव्य जारी गर्दै पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोले कोषका सदस्य सचिव र सम्बन्धित कर्मचारीहरुलाई बर्खास्त गर्न जोडदार माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठद्वारा जारी गरिएको वक्तव्यमा गोलका जनसमुदाय र आम जनतामा पशुपतिका नाममा मागिखाने भाँडो बनाउने भ्रष्ट ब्रम्हाणवादीहरुका विरुद्ध सशक्त आन्दोलन उठान गर्न समेत हार्दिक अपील गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “पशुपति मन्दिरसँग जोडिएका संस्कृति र सम्पदाको संरक्षण र निरन्तरता लिच्छवीकालीन नेवाः बस्ती गोलले गर्दै आएको छ । तर पशुपति क्षेत्रको विकासको नाममा आज जसरी त्यस बस्तीको उठीबास गर्ने योजना पशुपति विकास कोषले ल्याएको छ, यो ब्रम्हणवादको क्रुर र कुरुप नमूना हो । यसको हाम्रो मोर्चा घोर भत्सर्ना गर्दछ । यसमा मन्त्रालय र सरकार दृष्टिकोण के हो, तत्काल सार्वजनिक हुनु पर्दछ । यसका साथै उक्त चौथो भनिएको गुरु योजनालाई तत्काल खारेज गरी पशुपति विकास कोषका सदस्य सचिव र यससँग सम्बन्धित कर्मचारीहरुलाई तत्काल बर्खास्त गर्न हाम्रो मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सरकारसँग जोरदार माग गर्दछ । गोलका जनसमुदाय र आम जनतामा पशुपतिका नाममा मागिखाने भाँडो बनाउने भ्रष्ट ब्रम्हाणवादीहरुका विरुद्ध सशक्त आन्दोलन उठान गर्न हार्दिक अपील गर्दछ । यसको अग्र पंक्तिमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल रहन तयार रहेको पनि सबैमा अवगत गराउन चाहन्छ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ :  
“पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोमा हाम्रो मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चाको गंभीर रुपमा ध्यानाकर्षण भएको छ ।
पशुपति विकास कोषले गत चैत्र महिनामा पशुपति क्षेत्रको समग्र विकासको चौथो गुरु योजना संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा स्वीकृतिका लागि भनेर पठाएको सुन्नमा आएको छ । यस योजनामा मुख्य क्षेत्र, त्यसको वरिपरिका परिसर र यसको चारैतिर निरन्तरताको क्षेत्र भनेर छुट्याइएको र योजना १५ वर्षमा सक्ने गरी ५÷५ वर्षका तीन चरणमा पुरा गर्ने रहेको छ । यसको लागि ४० अर्व बजेट लाग्ने लागत तयार गरिएको छ । निरन्तर क्षेत्र भनेर तुकुचा खोला(रुद्रमती खोला) सम्मलाई लिएको छ । यो योजना तयार गर्दा स्थानीय जनता र जनप्रतिनिधिसँग कुनै सल्लाह नलिई मन्त्रालयमा स्वीकृतिको लागि पठाइएको छ ।
यस योजनामा पशुपतिमा दर्शनार्थीहरुको भिडभाडलाई व्यवस्थित गर्न भनेर त्यहाँ रहेको लिच्छवीकालीन पुरानो नेवाः बस्ती (गोल बस्ती) उठाउने समेत रहेको छ । यस योजना अन्तर्गत झण्डै काठमाडौं महानगरको ८ वडा खाली गर्ने स्थिति देखिन्छ ।
पशुपति मन्दिरसँग जोडिएका संस्कृति र सम्पदाको संरक्षण र निरन्तरता लिच्छवीकालीन नेवाः बस्ती गोलले गर्दै आएको छ । तर पशुपति क्षेत्रको विकासको नाममा आज जसरी त्यस बस्तीको उठीबास गर्ने योजना पशुपति विकास कोषले ल्याएको छ, यो ब्रम्हणवादको क्रुर र कुरुप नमूना हो । यसको हाम्रो मोर्चा घोर भत्सर्ना गर्दछ । यसमा मन्त्रालय र सरकार दृष्टिकोण के हो, तत्काल सार्वजनिक हुनु पर्दछ । यसका साथै उक्त चौथो भनिएको गुरु योजनालाई तत्काल खारेज गरी पशुपति विकास कोषका सदस्य सचिव र यससँग सम्बन्धित कर्मचारीहरुलाई तत्काल बर्खास्त गर्न हाम्रो मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सरकारसँग जोरदार माग गर्दछ । गोलका जनसमुदाय र आम जनतामा पशुपतिका नाममा मागिखाने भाँडो बनाउने भ्रष्ट ब्रम्हाणवादीहरुका विरुद्ध सशक्त आन्दोलन उठान गर्न हार्दिक अपील गर्दछ । यसको अग्र पंक्तिमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल रहन तयार रहेको पनि सबैमा अवगत गराउन चाहन्छ ।”