भारतका गृहमन्त्री अमित शाह कोरोना संक्रमित, प्रदेशकी क्याबिनेट मन्त्री कमलाको मृत्यु

प्रकाशित मिति : २०७७ श्रावण १८

एजेन्सी । भारतीय केन्द्र सरकारका गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् । उनले ट्वीट गर्दै आफु संक्रमित भएको पुष्टि गरेका छन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेको उल्लेख गरेका छन् । उनले आफुसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर परीक्षण गर्न आग्रह गरेका छन् । ट्वीट गर्दै उनले कोरोनाको सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको उल्लेख गरेका छन् ।
यसैबीच, भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।


कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।