लकडाउन खुल्यो, जोरबिजोर हट्यो, भदौ १ देखि लामो दुरीको यातायात, स्कुल भर्ना 

लकडाउन खुल्यो, जोरबिजोर हट्यो, भदौ १ देखि लामो दुरीको यातायात, स्कुल भर्ना 

६ श्रावण काठमाडौँ,
कोरोना महामारी रोकथामका लागि गत २०७६ साल चैत ११ गतेदेखि लगाइएको लकडाउन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न २०७७ साउन ६ गते मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मङ्गलवार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिनुभयो ।
भदौ १ बाट स्कुल भर्ना र साउन १५ देखि होटल–रेस्टुराँ खुला,
स्कुल भर्ना भदौ १ गतेदेखि खुल्ला गरिएको छ भने साउन १५ गतेदेखि होटल–रेस्टुराँ खुल्ने भएका छन् । यस्तै, खेलकुदलगायतका क्रियाकलाप पनि भदौ १ गतेदेखि नै सञ्चालन गर्न सकिने निर्णय भएको छ । यस्तै, ट्रेकिङ ट्राभल पनि १५ गतेदेखि नै खुल्ला हुने भएको मन्त्री खतिवडाले बताए ।
जोरबिजोर हट्यो, लामो दुरीको यातायात भदौ १ देखि
निजी सवारी साधानमा लगाउँदै आएको जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोरबिजोर हटाइएको हो । यस्तै, सरकारले लामो दुरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेभन्दा अघिसम्म भने काठमाडौँभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन ।
यातायात व्यवसायीले साउन ८ गतेदेखि नै लामो दुरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दुरीको यातायात खोल्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
सरकारी कार्यालयमा दुई सिफ्टको व्यवस्था हट्यो
त्यसैगरी, सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता मन्त्री खतिवडाले जानकारी दिए । हाल बिहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालनमा छन ।
के केमा छ प्रतिबन्ध ?
लकडाउन खुला गरे पनि सरकारले केही क्षेत्रमा भने प्रतिबन्ध कायमै राखेको छ । शैक्षिक संस्था, सभा, गोष्ठी, प्रदर्शन, भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना अझै खुल्ने छैनन ।
यद्यपि होटल तथा रेष्टुराँ भने साउन १५ बाट खुला गरिने छ भने भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षालगायतका गतिविधि गर्न छुट दिइएको छ । यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाइ उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्लाका यातायात भदौ १ गतेबाट खुल्ला हुने छ ।