शिवरामको हाँसो

प्रकाशित मिति : २०७७ श्रावण ७

- मित्रलाल पंज्ञानी

बालककालमा बालसखाहरूले जे गर्थे प्राय आफूले पनि त्यही गरिन्थ्यो । उनीहरूले खैनी खान्थे म पनि खान्थेँ । उनीहरूले चुरोट तान्थे म पनि तान्थेँ । फरक के मात्र थियो भने उनीहरूले अलि छिटो सिके, मैले ढिलो सिकेँ । नौ कक्षामा पढ्दा सबभन्दा पैले खैनी मुखमा हालेको हो । भाउन्न भएर थचक्क बसेको हो । अम्मलै बसेकोे त मास्टर भएपछि मात्रै हो । शिक्षक शिवराम अधिकारी हुन मेरा खैनी गुरू । दानी थिए तिनी । ‘खानु न खानु’ भन्थे ।
नौ कक्षामा पढ्दा त्यसरी ढलेदेखि मैले अबदेखि कहिल्यै पनि खैनी छुन्न भनेको थिएँ । समयक्रममा त्यसरी ढल्दाको मर्म विस्मरणका कारणले गौण बन्दै गयो । थोरै खैनी कपासको सानो टुक्रामा बेरेर खाएपछि भिम्मल बनाउँदैन भन्थे शिवरामले । मैले त्यसै गर्थेँ । दिनको तीनचार पटक दिनहुँजसो खान थालियो शिवरामको खैनी । ‘अब तँलाई अम्मल बस्यो’ भन्थे साथीभाइ । ‘नापेर पनि बस्दैन मलाई अम्मल’ भन्थेँ म । ‘देख्लास’ भन्थे उनीहरू । ‘देखौला’ भन्थेँ म ।
एकदिन शिवराम स्कुल आएनन । त्यो दिन खैनी खान पाइएन । मलाई औधि खान मन लाग्यो । आजसम्म मैले खैनी किनेर खाएको थिइन । त्यो दिन किनेँ । आजलाई किनिहालेँ । भोलिदेखि किन्दा पनि किन्दिन खाँदा पनि खाँदिन भने मनमनै । भोलिपल्टै शिवराम आए । कति उनको मात्रै खानु, मेरो खैनी पनि खुवाएँ । उनी मजाले हाँसे । किन हाँसे मैले थाहा पाइन । पछि थाहा पाएँ । यल्लाई पनि अब अम्मल बस्यो भनेर हाँसेका रहेछन । मलाई अझैसम्म पनि अम्मल बसिसकेको होस थिएन । त्यो बट्टा सिद्धिएपछि नकिनौला भनेको, सकिन । नखाईकन त मनै नमान्ने । मनको तिर्सना गएर खैनीमा अड्किएपछि खैनी नखाईकन अरू कुनै काममा मन लैजानै नसकिने हुँदारहेछ । अम्मल बस्नु भनेकै खामखाम हुनु र त्यो नखाएसम्म मन शान्त नहुनु रहेछ । मैले बल्ल आफूलाई अम्मल बसेको कुरा थाहा पाएँ । खैनीका पारखी मेरा अनुभवी साथीभाइहरूको भविष्यवाणी खेरा जाने कुरै थिएन । मलाई अम्मल बस्यो ।
खैनी खायो अनि प्याच्च प्याच्च थुक्यो । यसरी थुक्दा एकजना मित्रले के भने भने थुकमा पनि शरीरलाई नभै नहुने अत्यावश्यक जीवनरस हुन्छ । यसरी लगातार थुक्नु हानिकारक हुन्छ । बरू त्यो निल्नु राम्रो हुन्छ । त्यसपछि मैले खैनीको रस निल्न थालेँ । थोरैथोरै मुखमा हाल्ने । झिक्दै फाल्दै गरिनरहने, त्यसमाथि थप्दै जाने गर्न थालेँ । दिनमा कतिचोटि खाइन्थ्यो कुनै गणना भएन ।
अम्मल अब झन गाढा हुन थाल्यो । पाइन्टको खल्तीमा खैनीको बट्टा हुन्छ । यी हातहरू आफै खल्तीमा पुग्छन । खैनी भेट्टाउँछन । बाहिर झिक्छन । बट्टा खोल्छन । औँलाले खैनी चिम्ट्याएर मुखमा हाल्छन अनि बट्टा खल्तीमा हाल्छन । सचेत मनको तयारीबिना नैे काम सम्पन्न हुन थाल्यो । मैले कतिबेला खैनी खाएँ मलाई नै थाहा नहुने भयो अब त । अलि धेरै खाइँदा त वाक्क पनि हुने र छोडौँ छोडौँझैँ लाग्ने । अब छोड्छु भन्यो । केही छिनपछि नभै नहुने । नछाडी भएन अब त भनेर खैनी छोडियो । खैनी छोडेर चुरोट खाइयो । चुरोटकै अम्मल बस्यो । अनि फेरि त्यो छोड्न खैनी खाइयो । हुँदाहुँदा खैनी च्यापेरै चुरोट तान्ने हुन पुगियो ।
मैले साथीभाइहरूको माझमा बसेर स्वादसित चुरोट खाने । हाम्रो बालाई थाहै नहुने । बासित त डराइन्थ्यो नि यसरी चुरोट खैनी खाएर हिड्न । उहाँसित पनि डराउँदैनथे ती साथीहरू त । म पनि उनीहरूका बासित डराउदिनथेँ । उनीहरूले त्यसरी चुरोट खाएको र मैले नखाएको देख्दा हाम्रो बालाई आफ्नो छोराले त यस्तो कुलत केही पनि सिकेको छैन भन्ने लाग्ने अनि उनीहरूसित भन्ने ‘हाम्रो बाबुले त आजका मितिसम्म चुरोट खैनी मुखमै हालेको छैन’ बिचरा सोझा बा ! उहाँका कुरा सुनेर भित्रभित्र मरीमरी हाँस्थे मेरा साथीहरू ।
पैसाको सर्वनाश । स्वास्थ्यको विनाश । अम्मलको दासता । यो नाथे चुरोट खैनी अब खाँदै खाइदैन भनेर हिउँदताकको एकदिन एक बट्टा याक चुरोट र एक डिब्बा खैनी किनेर ल्याएँ । साँझ पाँच बजेतिर डेरामा बसिएको लाजिम्पाट काठमाडौँको घरको छतमा गई खैनीको त्यो डब्बा र चुरोटको बट्टालाई भएभरको बल लगाएर सकेसम्म पर पुग्ने गरी झाडीतिर हुत्त्याएँ, साउने सक्रान्तिमा लुते फाल्ने नाउँमा अगुल्टो फालेझैँ गरी । आठ बजेतिर नै खामखाम भयो । ‘छिः यस्तो खैनी चुरोट पनि कसैले खान्छ ।’ जबर्जस्ती मन बाँधेर घृणा गरेँ । भित्री मनमा आसक्ति बढिरहे पनि बाहिरी मनले घृणा गरिटोपलेँ । त्यो रात खैनी चुरोट नखाईकनै बिताएँ मैले । भोलिपल्ट बिहान पनि सातबजेसम्म एनकेन बिना अम्मल गुजारेँ । त्यस उप्रान्त अम्मलको तिर्सनाले मेरो संकल्पको महललाई धुलो पिठो पारेर फुटालिदियो । मैले हिजो फालेको चुरोट र खैनीका बट्टाहरू खोज्न झाडीतिर लागेँ । निकैबेर खोजेपछि खैनीको बट्टो फेला प¥यो चुरोटको पकेट पाइएन ।
विस्तारै घटाउँदै गएर छोड्छु भन्यो । हुँदै नहुँने । विस्तारै घटाएर एउटा निम्नतम बिन्दुमा पुगिसकेपछि फेरि विस्तारै बढ्ने रहेछ । अरूसित सोधेको प्राय सबैको यस्तै भएको पाएँ । दिनभरि खाएर आजित भएको बेलामा छाडेको छोडाइ कमजोर हुने रहेछ क्यारे । जहिले पनि त्यस्तै भोगेँ मैले त । ‘अब खैनी छोड्न त कैल्यै पनि सकिदैन कि के हो’ जस्तो लागिरहेको थियो । ‘यो आँतले यही खोज्छ भने यसलाई अतृप्त पारीपारी किन हिड्नु परेको छ र ? दुनियाँले खाएर हिडेको छ । खान्छु मैले पनि ।’ यस्तो बन्न पुगिसकेको थियो मेरो मानसिकता ।
एकदिन बिहान चारबजे नै मेरो निद्रा खुल्यो । आजदेखि खैनी खान्न भन्ने सङ्कल्प आयो मनमा । खैनी चुरोट खान सबभन्दा स्वाद लाग्ने बेला नै उठ्नेबित्तिकै हो । त्यो दिन मैले मुखैमा नहालीकन यस्तो निर्णय गरेँ । त्यहाँदेखि खाँदा पनि खाइन । भोलि खैनी चुरोट छोड्दैछु भन्ने कुरा अघिल्लो साँझसम्म म आफैलाई थाहा थिएन । छोड्ने बेलामा यसरी छोडिँदो रहेछ ।
तिनताक बिजली सुगन्धित खैनीको खूब प्रचलन थियो । त्यसको बट्टामा हिन्दी भाषामा ‘यसले हाड र दाँत बलियो बनाउँछ, गिँजाको सुरक्षा गर्छ र मनलाई सदैव खुसी राख्छ’ भन्ने आशयका कुराहरू लेखिएका हुन्थे । कति वाहियात कुरा ?
हिजोआज ‘मलाई त अम्मल बस्तैन’ भन्दै खैनी चुरोट खाइरहेका केटाहरूलाई देख्दा म त्यसैगरी हाँस्ने गरेको छु जसरी उति बेला शिवराम हाँसेका थिए ।