मनसुन सुरु भएयता ५४ जिल्लाका २३८ ठाउँमा पहिरो जाँदा ११४ भन्दा बढीको मृत्यु, ५० जना अझै बेपत्ता

मनसुन सुरु भएयता ५४ जिल्लाका २३८ ठाउँमा पहिरो जाँदा ११४ भन्दा बढीको मृत्यु, ५० जना अझै बेपत्ता


काठमाडौँ । गृह मन्त्रालयका अनुसार मनसुन सुरु भएयता ५४ जिल्लाका २ सय ३८ ठाउँमा पहिरो गएको छ । २३ जिल्लाको पहिरोमा परी १ सय १४ भन्दा बढीको मृत्यु भएको छ भने ९ जिल्लाको पहिरोमा परी ५० जना अझै बेपत्ता रहेका छन् । सिन्धुपाल्चोक, संखुवासभा, कास्की, म्याग्दी, गुल्मी, धादिङ, तनहुँ, बझाङ, काठमाडौंलगायत जिल्लामा गएका पहिरोबाट भएको भौतिक क्षतिको विवरण भने सरकारले अझै संकलन गरिसकेको छैन ।

गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक, म्याग्दी, संखुवासभा, बझाङ, कास्की, जाजरकोट, धादिङलगायत जिल्लामा भएको छ । बझाङको केदारस्युँ गाउँपालिका–८, मल्लेसीमा पहिरोमा पुरिएर गत असार १९ गते सात जनाको मृत्यु भएको थियो, एक जना अझै बेपत्ता छन् । पहिरोबाट २१ घरपरिवार विस्थापित भएका थिए । त्यसको पाँच दिनपछि असार २४ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोसी गाउँपालिकास्थित गुल्कोटे र फुलपिङकट्टीमा पहिरो जाँदा ७ जनाको मृत्यु भयो । २३ जना बेपत्ता छन् । पहिरोले कोदारी राजमार्ग अवरुद्ध छ ।

असार २६ गते म्याग्दीका विभिन्न स्थानमा पहिरोबाट २८ जनाको ज्यान गयो भने चार अझै भेटिएका छैनन् । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडकखण्ड अवरुद्ध छ । पहिरोले चारवटा मोटरेबल पुलका साथै पाँच ठाउँमा सडक बगाएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका–१, सिसुवा खोलामा पहिरोमा ११ जना बेपत्ता छन् । बेपत्ताको उद्धारमा गएका एक स्थानीयको समेत मृत्यु भएको संखुवासभाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पहिरो र बाढीले आधा दर्जनभन्दा बढी जिल्लाका मुख्य र सहायक मार्ग अवरुद्ध बनेको छ । पहिरोपछिको बाढीले बाजुराको बूढीगंगा नगरपालिकास्थित ताप्रिसेराको पक्की पुल बग्दा अछाम र बाजुरामा यातायात आवागमन बन्द छ । साउन ५ गते राति पहिरो र बाढीले पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत चितवन–धादिङको मौवा खोलाले पक्की पुल भत्काएको छ । त्यहाँ बेलिब्रिज वा एक्रोब्रिज राखेर आवागमन खुलाउने विषयमा भौतिक पूर्वाधार मन्त्रालय र सेना छलफलमा जुटेका छा् । मंगलबार सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडकखण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरोले बाटो अवरुद्ध बनेको थियो ।