त्रिविलाई दलीयकरण गरी प्राज्ञिक संरचना ध्वस्त गर्ने अभ्यासको राष्ट्रिय प्राध्यापक सङ्गठनले ग¥यो घोर विरोध

प्रकाशित मिति : २०७७ श्रावण ७

काठमाडौं । त्रिभुवन विश्वविद्यालयभित्र भएका अनेकौं विकृति , विसङ्गतिको निराकरणका निम्ति पदाधिकारीहरुसँग भएका औपचारिक अनौपचारिक संवाद तथा छलफलहरुलाई गंभीरतापूर्वक नलिई गुप्त एवम् मनोमानी तवरबाट हालै गरिएका पठनपाठनसम्बन्धित निर्णय र विविध पदमा गरिएका अपारदर्शी नियुक्ति प्रक्रियाको नेपाल राष्ट्रिय प्राध्यापक संगठनले घोर विरोध गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले साउन ७ मा जारी गरेको वक्तव्यमा भनिएको छ, “त्रिभुवन विश्वविद्यालयलाई स्वस्थ र गतिशील प्राज्ञिक थलो बनाउने कुरामा हाम्रो सङ्गठन सधैंभरि संघर्षरत रहँदै आएको छ । हाम्रो सङ्गठनले पटकपटक त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीदेखि विभिन्न तहमा हुने नियुक्ति प्रक्रियालाई पारदर्शी बनाई प्राज्ञिक उच्चता र वरिष्ठताका आधारमा नियुक्ति गरिनु पर्दछ भन्ने कुरा राख्दै आएको छ र उक्त कुरामा सङ्गठन दृढ छ । त्रिभुवन विश्वविद्यालयलाई निश्चित स्वार्थ समूहको लाभको केन्द्र बनाउने दलीयकरण गरी प्राज्ञिक संरचना ध्वस्त गर्ने अभ्यासको सङ्गठन विरोध गर्दछ ।”
प्रजातन्त्रवादी प्राध्यापक सङ्घद्वारा गरिएको आन्दोलन केवल पदीय लेनदेनमा नटुङ्ग्याई त्रिभुवन विश्वविद्यालयमा माथि उल्लेखित कुरालाई स्थापित गर्न अघि बढोस् भन्ने हामी चाहन्छौं भन्दै वक्तव्यमा विभिन्न माग राखी गरिएको त्यस्ता प्रकृतिका आन्दोलनलाई समर्थन समेत गरिएको छ ।