९० बर्षको उमेरमा कम्युनिस्ट नेता बर्मन बुढाको निधन, क्रान्तिकारी माओवादीका महासचिव किरण लगायतका नेताहरुले दिए अन्तिम श्रद्वाञ्जली

९० बर्षको उमेरमा कम्युनिस्ट नेता बर्मन बुढाको निधन, क्रान्तिकारी माओवादीका महासचिव किरण लगायतका नेताहरुले दिए अन्तिम श्रद्वाञ्जली


काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका एक अग्रज अथक योद्धा बर्मन बुढाको निधन भएको छ । ९० वर्षको उमेरमा बुढाको बुधबार बिहान निधन भएको हो । क्यान्सर पीडित बुढाको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएपछि बुधबारै उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बुढालाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका थिए ।
बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । दशवर्षे जनयुद्धमा उद्म थलो रोल्पाको थवाङका बुढाले महत्वपूर्ण भूमिका खेलेका थिए ।


को हुन बर्मान बुढा ?
कुनैबेला थबाङका बर्मन बुढा भनेपछि रोल्पादेखि राजधानीसम्मका मान्छेलाई टाउको दुखाइको विषय हुन्थ्यो । कछाड उनको परिचय हो । बर्मन भनेपछि कछाड जोडिएर आउँछ । उनले कछाड थबाङमा मात्रै लगाएनन् सिंहदरबारमा पनि पु¥याए ।
२०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरे । सुरु सुरुमा धेरैले उनलाई पागल नै भने । त्यतिबेला जातीय पहिचानको कुरा त्यति साह्रो उठेको पनि थिएन तर उनलाई लाग्यो सांसद हुनेबित्तिकै आफ्नो संस्कार किन छाड्नु ? त्यसैले त उनी काठमाडौ बसिरहँदा पनि गाउँकै पोसाकमा रहे ।
तत्कालीन मुखिया तथा कांग्रेस नेता कृष्ण झाँक्रीको दादागिरीका विरुद्ध लाग्दा २०१२ सालमा कम्युनिस्ट भनेर एक महिना जेल हालिएको थियो । जेलमा कम्युनिस्ट नेताहरु मोहनविक्रम सिंह र खगुलाल गुरुङसँग भेट भयो । झगडिया भएका कारण झाँक्री पनि जेलमै थिए । सिंह र गुरुङले बुढा र झाँक्रीलाई कम्युनिस्ट बनाएर थबाङलाई कम्युनिस्ट गाउँ बनाउने योजना बनाए । त्यसपछि २०१३ सालमा जेलबाट छुटेपछि सिंह र गुरुङले बुढा र झाँक्री पक्षका तीन÷तीन जना प्रतिनिधि राखेर थबाङमा पहिलोपटक कम्युनिस्ट संगठन बनाए । त्यसपछि बुढा नै नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।
बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । हालसम्म थबाङ एकजुट हुनुका पछाडि उनकै महत्वपूर्ण भूमिका देखिन्छ । २०१५ सालमा गाउँलेले उनलाई मुखिया चुने । २०१५ सालको आम चुनावमा थबाङको सबै भोट कम्युनिस्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे । पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुन थालेपछि सरकारका प्रतिनिधिले जिल्लाका सबै प्रधानपञ्चहरुलाई लिबाङमा बोलाए । सबै पञ्चहरुलाई निर्दलमा भोट हाल्न भनियो । तर बुढा जिल्लामा एक्लै पञ्चायतका विरुद्ध उभिए ।
यही कारण बुढालाई २०३७ मंसिरमा शान्ति सुरक्षा मुद्दा लगाएर २७ महिनासम्म जेल हालियो । सुधारिएको पञ्चायतले २०३८ सालमा आम निर्वाचन गरायो । त्यसलाई पनि थबाङले पूर्ण बहिस्कार गरी शून्य मतदान गरिदियो ।

२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा चुनाव लड्न थाल्यो । बुढाको निर्वाचन क्षेत्र २ नं. अर्थात थबाङ भए पनि जित्न सजिलो भएकाले कृष्णबहादुर महरा त्यहाँबाट उठे भने बुढालाई क्षेत्र नं. १ बाट टिकट दिइयो । गाउँमै राजनीति गरिरहेका बुढा सांसद भएपछि राजधानी काठमाडौ छिर्नुपर्ने भयो तैपनि उनको जीवनस्तरमा कुनै फरक भएन ।
सांसदको कार्यकाल सकिएपछि उनी कछाडसहित सिधै थबाङ फर्किए । गाउँमै पुरानै अवस्थामा राजनीति गर्न थाले । गाउँको अगुवाइ गर्दै उनले त्यसपछिका निर्वाचनहरुमा पनि गाउँलाई एकजुट देखाए । २०५१ सालको मध्यावधि निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतिबेला चार मत मात्र खसेको थियो ।
२०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शून्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु बाँकी भोट खसेन । युद्धकालमा दुःख पीडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि सबै गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो ।
भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यसपछि सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि मात्र ४८ दिनपछि घरमा आए । त्यतिबेला २ सय ५० घरधुरीका अशक्त वृद्धवृद्धाबाहेक ४ सय २२ भन्दा बढी मानिसहरुले घर छोडेका थिए । युद्धकालमा थबाङमा ३३ जनाले ज्यान गुमाए ।
यी सबै पीडा र क्षतिका बाबजुद २०६४ को संविधानसभा निर्वाचनमा थबाङले एकमुष्टरुपमा भोट तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हालेर जितायो । दाहाल दुई ठाउँ चुनाव लडेका कारण रोल्पा छोडेपछि उपनिर्वाचनमा थबाङले सन्तोष बुढालाई एकमुष्ट भोट दिएर जितायो । २०७० को दोश्रो संविधानसभामा भने थबाङले एक भोट पनि नखसालेर विद्रोह ग¥यो । यी सबै घटनाक्रममा बुढाको महत्वपूर्ण भूमिका रह्यो ।
थबाङ २०१२ सालदेखि नै क्रान्तिकारी गाउँका रुपमा परिचित छ । थबाङको फरक परिचय छ । २०१३ सालदेखि नै थबाङ कम्युनिस्ट गाउँका रुपमा एकताबद्ध हुँदै आयो । थबाङलाई धेरै कम्युनिस्ट नेताहरुले सेल्टर बनाए तर अवसर पाउँदा उनीहरुले थबाङलाई भुलिदिए । मोहनविक्रम सिंह २०१३ सालपछि फेरि थबाङमा फर्केनन् । पुष्पकमल दाहाल सिंहसँग फुटेपछि मात्र २०४२ सालमा पहिलोपटक थबाङ गएका थिए । २०४३ सालमा थबाङमा तीन दिन बसेर दहालले ग्रामीण वर्ग संघर्षको खाका तयार पारेका थिए । रोल्पा रुकुम क्षेत्रका मगर समुदाय लडाकु बन्नसक्ने कुराको निष्कर्ष निकाली उनले १० बुँदे दस्ताबेज तयार पारेका थिए ।

यही निष्कर्षका आधारमा दाहालले रुकुम रोल्पाका अधिकांश मगर समुदायका लडाकु सामेल गरेर युद्ध लडे । थबाङलाई आधार इलाका बनाएर दशवर्षे युद्ध लडे तर युद्धपछि उनले थबाङलाई जनताको चाहना अनुसार सम्झन नसकेको बुढाले गुनासो गर्ने गर्दथे ।