काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले ९० वर्षको उमेरमा निधन हुन पुग्नु भएका कम्युनिस्ट तथा माओवादी नेता बर्मन बुढाको निधनले नेपालको कम्युनिस्ट तथा नयाँ जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको भन्दै एक श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा दिवंगत बुढा संसदीय व्यवस्थाको विरोधी भएको उल्लेख गर्दै कमरेड बर्मन बुढाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ । उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै वक्तव्यमा भनिएको छ, “रोल्पाका आज २०७७ श्रावण ७ मा रोल्पा जिल्ला थवाङ्ग निवासी कमरेड बर्मन बुढामगरको ९० वर्षको उमेरमा दुःखद निधन भयो । उहाँका श्रीमती, छोरा, छोरी, नाति नातिनी, बुहारी, ज्वाँइ सहितका परिवारजन हुनुहुन्छ । उहाँले नेपाली कम्युनिस्ट आन्दोलन, जनवादी आन्दोलन र १० वर्षको महान् जनयुद्धको समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । पार्टीको निर्णय अनुसार उहाँ संसदीय निर्वाचनको उपयोग गरी सांसद पनि बन्नु भयो । तर वस्तुतः उहाँ संसदीय व्यवस्थाको विरोधी हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कम्युनिस्ट तथा जनवादी आन्दोलनमा ठूलो क्षति पुगेको छ । यस दुःखद अवसरमा हाम्रो पार्टी क. बर्मन बुढामगरप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोक सन्तप्त सबै परिवारजनहरुप्रति पनि गहिरो समवेदना व्यक्त गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर