इच्छुक अनि म

प्रकाशित मिति : २०७७ असार २२

- सुनाखरी

इच्छुक !
तिमी त त्याग र बलिदानको अर्र्काे नाम हौं
सुन्दर सपना
लालिपोतिएको त्यो बिहानी
मुक्तिको गोरेटो कोर्ने ।

इच्छुक !
तिमी सबैको
इतिहास , हिड्ने बाटो हौ ।

न्यायीक आवाज बोल्ने
पश्चगामी आगो ओकल्दै
जल्लादहरुको चिहान बनाउने ।

इच्छुक !
तिमी क्रान्तिको जीवन हौ र
प्रतिक्रान्तिको मृत्यु हौ ।

साच्चै ,
इच्छुक– तिमी
जून हौ
घाम हौ
सुवास हौ र वसन्त हौ ।

तर ,इच्छुक
तिम्रो बलिदानले आएको गणतन्त्रमा
घाम लागेको छैन
जूनको शितल छैन
सुवासको कतै सुगन्ध छैन ।

अहँ ,
कहि , कतै
रतिभर जीवन फेरिएको छैन

भन , इच्छुक !
न्याय बेचिएका
अन्न्यायमा पारिएका
आशामुखी उत्पीडित मनहरुलाई
न्यानो बनाउन
शितल तपाउन
वसन्तको कोपिला फुलाउन
सुगन्धित पार्न सुवास छर्न ,

मैले,
तिमिले भने झै बोलु ?
तिमिले भने झै गरुं ?
तिम्रै बाटोमा हिडुं ?
तिमिले लेखे झैं लेखु ?

जरुर इच्छुक
सारा तिमिले झैं गर्नुछ, मैले
किन बगाउन नपरोस तिमिले जस्तै रगत
किन सहन नपरोस तिमिले जस्तै यातना
गुमाउन किन नपरोस तिमिले जस्तै एउटा जीवन ।

यदि
सबै , सबैको निम्ति ,सबै सबैको जीवन बदलिन्छ भने
हो , इच्छुक
इतिहास लेख्न चाहान्छु
बलिदानको
समर्पणको
अनि परिवर्तन को, तिम्रै रगतले
र तिम्रो
सपना फक्रीएको
गद्दारहरु लड्किएको, सुन्दर देश लेख्न चाहान्छु

हो
इच्छुक !
गद्दारहरु लड्किएको–सुन्दर देश लेख्न चाहान्छु ।