शुल्क असुलीको विरोधमा प्याब्सनको कार्यालयमा अखिल (क्रान्तिकारी)को धर्ना र नाराबाजी

प्रकाशित मिति : २०७७ असार २२

- कुमार भट्टराई


काठमाडौं । अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले जथाभावी शुल्क असुली गर्न थालेपछि त्यसको विरोध गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबार डिल्लीबजारस्थित प्याब्सनको कार्यालय अगाडि केहीबेर धर्ना र नाराबाजी गरेको छ । सांकेतिक रुपमा गरेको विरोध कार्यक्रमको नेतृत्व संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले गरेका थिए । गजुरेलको नेतृत्वमा प्लेकार्डसहित विरोध प्रदर्शनका लागि पुगेका विद्यार्थी नेता कार्यकर्ताहरुले निजी शैक्षिक संस्थाहरुका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

धर्ना तथा विरोध कार्यक्रममा बोल्दै अध्यक्ष गजुरेलले महामारीको बेला अनलाइन कक्षाको नाममा निजी शैक्षिक संस्थाहरुले शुल्क असुली तत्काल बन्द नगरे संगठनले कडा संघर्ष गर्ने चेतावनी दिएका थिए । सरकारी विद्यालयहरु क्वारेन्टिन बनाएको अवस्थामा निजी शैक्षिक संस्थाहरु अनलाइन कक्षाको नाममा सञ्चालन गरेर शिक्षामा विभेद गर्न खोजिएको भन्दै कडा विरोध गरेका थिए ।