आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

प्रकाशित मिति : २०७७ असार २२

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल असार २२ गते निधन भएको भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा ४ नंं प्रदेशको इन्चार्जको जिम्वेवारी बहन गरिरहेको अवस्थामा अचानक फोक्सोमा क्यान्सर देखिएपछि उपचारको क्रममा उहाँको निधन भएको थियो । करिब नौं महिना अस्पतालमा भर्ना भई उपचार गरिरहेको अवस्थामा उहाँको निधन भएको थियो ।
नेता अधिकारीको प्रथम स्मृति दिवसको अवसरमा सामाजिक सञ्जालमा उहाँको संक्षिप्त राजनीतिक जीवनी उल्लेख गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समेत रहेका कमरेड श्यामका जेठा छोरा नारायण अधिकारी (निश्चल)ले लेख्नुभएको छ, “आज बुबा श्रीनाथ अधिकारी(क.श्याम) को प्रथम स्मृति दिवस । बुबाको जन्म २०१२ साउन ९ गते आइतबार भएको हो।उहाँले २०३० सालमा एस.एल.सि.पास गर्नु भयो । एस.एल.सि.दिएको वर्ष एक वर्ष जति गाउँका दुईवटा बिद्यालयमा छरछ महिना शिक्षक हुनुभयो।२०३१ देखि २०३४ सम्म काठमाडौं स्थित पुल्चोक इन्जिनियर कलेजमा अध्यायन गर्नुभयो । कलेज अध्यायनकै क्रममा रहँदा अखिलको सदस्यता लिनुभयो । २०३४ देखि २०३६ सम्म नारायणी सिंचाइ आयोजना चितवनमा प्राविधिक को रूपमा जागिर गर्नु भयो।सोहि अवधिमा नेकपा चौम को पार्टी सदस्य बन्नु भयो । २०३६ मा सिँचाइ आयोजना को जागिर छोडी गोरखा जिल्ला फर्कनु भयो र नेकपा चौमको जिल्ला सदस्यको जिम्मेवारी ग्रहण गर्दै पुर्णकालिन कार्यकर्ताको रुपमा भुमिगत राजनीतिमा सम्बद्ध हुनुभयो । २०४८ मा भएको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाबाट गोरखाको निर्वाचन क्षेत्र नं.१ बाट चुनाव लड्नु भएको थियो।तर चुनावमा बिजयी बन्न सक्नु भएन ।२०५२ सालमा महान जनयुद्ध संगै फेरि भुमिगत राजनीतिक जिवन सुरुवात गर्नुभयो । २०६९ असारमा माओवादी पार्टी बिभाजन हुँदा मोहन बैध (किरण) ले नेतृत्व गर्नु भएको नेकपा (माओवादीमा आवद्ध हुनुभयो । २०७६ असार २२ गते मृत्यु पर्यन्त सोही पार्टीको पछिल्लो रुप नेकपा(क्रान्तिकारी माओवादी)को पोलिट्ब्युरो सदस्य हुनुहुन्थ्यो । बुवाको ६४ वर्षको उमेरमा २०७६ असार २२ गते असामयिक निधन हुन पुग्यो ।”
नेता अधिकारीको निधनमा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा भनिएको थियो, “२०७६ असार २२ गते बेलुकी हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय समिति पोलिट व्यूरोका सदस्य कमरेड श्रीनाथ अधिकारी(श्याम)को औषधोउपचारको क्रममा ललितपुरको हरिसिद्धि अस्पतालमा दुःखद् निधन भयो । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन, जनवादी क्रान्ति र दशवर्षको महान जनयुद्धमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका उहाँको यस निधनबाट हाम्रो पार्टी, परिवारजन र शुभचिन्तक मित्रहरुसहित हामी सबै अत्यन्तै मर्माहत, स्तब्ध र चिन्तित भएका छौं । उहाँको निधनबाट नेपाली कम्युनिस्ट आन्दोलन र क्रान्तिमा ठूलो क्षति हुन गएको छ । कमरेड श्रीनाथ अधिकारी (श्याम) को जन्म २०१२ साउन ९ गते गोरखा जिल्लाको हंशपुर १ मा आमा सरस्वती अधिकारी र बाबा दालचन्द्र अधिकारीको कोखबाट जन्मनुभएको थियो । उहाँ हाम्रो पार्टी केन्द्रीय समितिका सदस्य कमरेड नारायण अधिकारीका पिता हुनुहुन्थ्यो । उहाँकी जीवनसाथी राधिका अधिकारी हुनुहुन्छ । उहाँका ३ छोरा ३ बुहारी, २ छोरीज्वाइँ, नाति नातिनी १० र पनाति १ जना हुनुहुन्छ । क.श्रीनाथ अधिकारीको निधन भएको यस दुःखद् घडीमा हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै, हामी उहाँका सबै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”


नेता अधिकारी नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका एक इमान्दार, सादगी, सिद्धान्तनिष्ठ, आजीवन श्रमजीवी शोषित उत्पीडित वर्गको महान मुक्ति अभियानमा समर्पित आदर्श नेताको रुपमा स्थापित हुनुहुन्थ्यो ।