
पोखरा । नेपाली भूमिमा भारतीय पक्षले गरेको सीमा अतिक्रमण, एमसीसीको विरोध र राष्ट्रिय स्वाधिनताको पक्षमा शुक्रबार नौं राजनीतिक दलले पोखरामा प्रर्दशन गरेको छ ।
प्रदर्शनसँगै नेकपा क्रान्तिकारी माओवादी सहित ९ दलले पोखरामा सभा तथा सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् ४ नं. प्रदेशका इनचार्ज चन्द्रहरि सुवेदी अटल, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल ४ नं. प्रदेशका अध्यक्ष नेत्र रानाभाट, नेकपा मसलाका गण्डकी प्रदेशका प्रवक्त चन्द्रबहादुर केसी, नेकपा (माले) का नरेन्द्र शाह, नेकपा (माओवादी केन्द्र) भोजराज त्रिपाठी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका मनिश भट्टराई, राष्ट्रिय जागरण परिषदका पदम कार्की, वरिष्ठ अधिवक्ता तिलक पराजुली, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संगम सांस्कृतिक मञ्चका कलाकारहरुले सांस्कृति कार्यक्रम मार्फत राष्ट्रिय स्वाधिनताको पक्षमा सांगितिक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले एमसीसीले नेपाललाई रणभूमि बनाउने भन्दै कुनै पनि हालतमा एमसीसीलाई स्वीकार गर्न नसकिनेमा जोड दिएका थिए ।
त्यसैगरी अमेरिकाले चिनलाई घेर्ने निति अनुसार एमसीसी ल्याएको भन्दै त्यसको व्यापक विरोध गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले भारतीय पक्षले सीमा अतिक्रमण गरेको र त्यसलाई रोक्न देशव्यापी रुपमा आवाज उठ्दा पनि सरकारले पहलसम्म पनि गर्न नसक्नु लज्जाष्पद भएको टिप्पणी गरेका थिए ।
































