काठमाडौं । भारतीय हस्तक्षेप र एमसीसी विरोधमा ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेताहरुलाई महेन्द्र पुलिस क्लवबाट पुर्जी थमाई राती सोह« खुट्टे लगिएको छ । नेताहरु पक्राउको विरोधमा घटनास्थलमा मोर्चाले कोणसभा सम्पन्न गरेको छ भने रातीसम्म क्रान्तिकारी युवा र विद्यार्थीहरुले विरोध गरे ।

अखिल (क्रान्तिकारी)की विद्यार्थी नेतृ शिलु न्यौपानेको नेतृत्वमा महेन्द्र पुलिस क्लव अगाडि विद्यार्थीहरुले टायर बालेर प्रहरी दमनको विरोध गर्दै नेताहरुको अविलम्ब रिहाइको माग गरेका थिए ।

प्रहरी दमनको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले आइतबारै साँझ वक्तव्य निकालेर कडा विरोध गर्दै नेताहरुको अविलम्ब रिहाईको माग गरेका छन् भने घाइतेहरुको निःशुल्क उपचार गर्न सरकारसित माग गरेका छन् ।
क्रान्तिकारी माओवादी तथा देजमोका नेताहरुमाथि गरिएको दमन, लाठिचार्ज र गिरफ्तारीको चौतर्फी रुपमा विरोध भइरहेको छ ।

प्रहरीले ज्ञापन पत्र बुझाउन जाँदा आइतबार दिउसो धोवीखोला नजिक भाटभटेनी अगाडि सडकमा एक्कासी प्रहरीले बाटो छेकेर जान नदिएपछि झडप हुन पुगेको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध लाठि चार्ज गर्दा क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मा, केस शारदा महत, श्याम केसी, सुनिता बुढाथोकी, अन्जना शाही, इन्दिरा अधिकारी, मंगल तामाङ, बोजराज श्रेष्ठ, केशब ढलकोटी लगायतका नेता कार्यकर्ताहरु घाइते भएका थिए । घाइतेमध्ये सुनिता बुढाथोकीको हात भाँच्चिएको छ ।
प्रहरीले मोर्चाका अध्यक्ष सीपी गजुरेल, महासचिव परि थापा, कार्यालय सदस्य पवनमान श्रेष्ठ, नेताहरु सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, दिपक शाही, बसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, ढोगप्रसाद अधिकारी, पदम भण्डारी, नरेन्द्र कार्की, अमिट योञ्जन, मिनप्रसाद गिरी, सुन्दर श्रेष्ठ लगायतलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लवमा राखेको थियो ।
यसैबीच राज्यको दमन र नेताहरुको रिहाइको माग गर्दै पार्टी र मोर्चाले आज विरोध प्रदर्शनको तयारी गरिरहेको बुझिएको छ ।






























