फासिवादी दमनको क्रान्तिकारी माओवादीले ग¥यो कडा विरोध, भन्यो- ‘यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो’

फासिवादी दमनको क्रान्तिकारी माओवादीले ग¥यो कडा विरोध, भन्यो- ‘यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पूर्व स्वीकृतिमै ज्ञापन पत्र बुझाउन गएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको टोलीमाथि भएको फासिवादी दमन, लाठि चार्ज र गिरफ्तारीको नेकपा (क्रान्तिकारी माओवादी)ले वक्तव्य निकालेर कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य जारी गरेको वक्तव्यमा भनिएको छ, “उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछ । यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो ।”

वक्तव्यमा अगाडि भनिएको छ, “हाम्रो पार्टी गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग जोडदार माग गर्दछ । राष्ट्रिय स्वाधीनताको हाम्रो आन्दोलन निरन्तर जारी छ र रहने छ ।”

यस्तो छ वक्तव्यको पूर्णपाठ : 
“आज मिति २०७६ पौष १३ गते अपरान्ह देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा भारतद्वारा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रलाई भारतमा गाभी तयार पारिएको नयाँ नक्सा लगायत राष्ट्रिय स्वाधीनताका विषयमा ज्ञापनपत्र दिन उप–प्रधानमन्त्रीको स्वीकृति अनुसार सिंहदरवारमा जाने क्रममा भाटभटेनी सुपरमार्केट क्षेत्रमा नेपाल सरकारका प्रहरीहरुद्वारा अन्धाधुन्ध लाठीचार्ज गरी कार्यक्रममाथि अवरोध खडा गरियो । यस क्रममा कैयौंलाई गंभीर रुपमा घाइते बनाइयो र कैयौंलाई गिरफ्तार गरियो । गिरफ्तार हुनेमा हाम्रो पार्टीका स्थायी समिति सदस्य द्वय तथा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष क. सीपी गजुरेल र महासचिव क. परिथापा, पार्टीका पीविएम द्वय क. पवनमान श्रेष्ठ तथा क. सुरेश श्रेष्ठ, सीसीएमहरु क. दीपक शाही, क. हरिकृष्ण गजुरेल, क. फुर्नाम्गेल मोक्तान, क. वसन्त बोगटी लगायत क. खगेन्द्र छन्त्याल, क. पद्म भण्डारी, क. सुन्दर श्रेष्ठ, क. मीन प्रसाद गिरी, क. नरेन्द्र कार्की, क. अमित योञ्जन सहित पार्टी तथा मोर्चाका १५ जना भन्दा बढी नेता तथा कार्यकर्तालाई महेन्द्र पुलिस क्लवमा हिरासतमा राखिएको छ । लाठी चार्जका क्रममा पार्टीका पीबीएम क. दिनेश शर्मा तथा क. सुरेश श्रेष्ठ, सीसीएम क. शारदा महत, महिला नेतृ क. सुनीता बोगटी लगायत पार्टी र मोर्चाका दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई गम्भीर रुपमा घाइते तुल्याइएको छ । उप–प्रधानमन्त्रीद्वारा अनुमति प्रदान गरिएको प्रतिनिधि मण्डलको भेटघाटको कार्यक्रममा यसरी सरकारद्वारा गरिएको निर्मम फासीवादी दमन, लाठी चार्ज र गिरफ्तारीको हाम्रो पार्टी जोडदार विरोध तथा भत्र्सना गर्दछ । यो देशभक्त नेपालीहरुका लागि अति संवेदनशील तथा दुर्भाग्यपूर्ण परिघटना हो । हाम्रो पार्टी गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको अविलम्ब रिहाइ र घाइते तुल्याइएका नेता तथा कार्यकर्ताहरुको उपचारका लागि सरकारसंग जोडदार माग गर्दछ । राष्ट्रिय स्वाधीनताको हाम्रो आन्दोलन निरन्तर जारी छ र रहने छ ।”