
भक्तपुर । उपनिर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भक्तपुरका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै मंसिर १४ अर्थात् निर्वाचनकै दिन देजमाले भक्तपुर बन्दको घोषणा गरेको थियो । बिहीबार साँझ पक्राउ परेका दुवै जना कार्यकर्ता रिहा भएपछि देजमो भक्तपुरले एक वक्तव्य जारी गरी १४ मंसिरको बन्द फिर्ता लिएको जनाएको छ ।
मोर्चामा जिल्ला सचिव रामहरि गणेजुले जारी गरेको वक्तव्यमा भनिएको छ, “मंसिर १४ गतेको उपनिर्वाचन बहिस्कारको प्रचारको क्रममा मंसिर ११ गते विहान साढे दश बजे नगरकोटबाट गिरफ्तार हाम्रा जिल्ला सदस्यद्वय पदमबहादुर लामा र कृष्णप्रसाद घेमोसुलाई मंसिर १२ गते बेलुकी सबा ९ बजे रिहा गरिएकोले घोषित मंसिर १४ गतेको भक्तपुर बन्द कार्यक्रम फिर्ता लिएको जानकारी गराउँदछौं ।’
राती अबेर रिहा भएपछि लामा र घेमोसुलाई अबीर लगाएर नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।






























