सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा उपनिर्वाचन बहिस्कारका कार्यक्रम सम्पन्न, अतिक्रमित भूमि फिर्ताको माग गर्दै कञ्चनपुर सिडिओमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति : २०७६ मंसिर १३

- धनञ्जय अवस्थी


कञ्चनपुर । नेकपा (क्रान्तिकारी माओवादी) तथा सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आयोजनामा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उपनिर्वाचन सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । प्राप्त जानकारी अनुसार प्रदेश अन्तर्गतमा बैतडी, अछाम, डोटी र कञ्चनपुरमा उपनिर्वाचन बहिस्कारसम्बन्धी कार्यक्रम सम्पन्न भएका हुन् । बहिस्कार अन्दोलनको क्रममा ती जिल्लाहरुमा भित्ते लेखन, कोणसभा र पर्चा वितरण लगायतका कामहरु सम्पन्न भएका छन् ।

प्रहरी प्रशासनको हस्तक्षेप तथा दमनका बाबजुद पनि उपनिर्वाचन बहिष्कारका कार्यक्रम सम्पन्न गरेको पार्टीका प्रदेश इन्चार्ज अनुकूलले जानकारी दिए ।
इन्चार्ज अनुकूलले कञ्चनपुरको पुनर्वास नपाको वडा नं. ३ मा उपनिर्वाचन बहिस्कार सभाको आयोजना गरिए पनि प्रहरी हस्तक्षेपका कारण बहिस्कार सभा हुन नसकेको र कोणसभा मात्र गरिएको बताए ।

शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार भए पनि शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेर सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको नेता अनुकूलले बताए ।

यसैबीच, क्रान्तिकारी माओवादी कञ्चनपुरले भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका केस विक्रान्तको विशेष उपस्थितिमा जिल्ला पार्टी सेक्रेटरी शित्तलको नेतृत्वमा गएको एक टोलीले ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भारतीय विस्तारवादले अतिक्रमण गरेका सम्पूर्ण नेपाली भूमि फिर्ता गराउन तत्काल कुटनीतिक पहल थाल्न माग गर्दै त्यसो नगरिए जनताका साथ लिएर सशक्त संघर्षमा उत्रने चेतावानी दिइएको छ ।