नेपाली भूमि मिचेर बनाइएका २१ वटा घरटहरा भत्काइयाे, संसदीय टाेली कालापानी जाने

प्रकाशित मिति : २०७६ मंसिर १३

इटहरी । सुनसरीको दक्षिणी क्षेत्र देवानगन्ज गाउँपालिकामा भारतीयहरुले नेपाली भूमि मिचेर बनाइएका २१ वटा घरटहरा सशस्त्र प्रहरीले भत्काएकाे छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काएर नेपाली जमिन फिर्ता लिएको छ । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले बनाएका २१ घरटहरा भत्काएका हाे ।

भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण गरी घर बनाएको बताइएकाे छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालका अनुसार भारतीय पक्षले अतिक्रमण गरेका सुनसरीका २० वटै स्थानबाट जमिन फिर्ता लिन दैनिक सशस्त्र प्रहरी परिचालन गरिएको छ ।


यसैबीच, भारतले कालापानीलगायतका क्षेत्र आफ्नो नक्सामा राखेपछि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति स्थलगत अध्ययनमा जाने भएको छ । भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको थियाे ।

राज्य व्यवस्था समितिले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक र राजनीतिक पहल गर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ । तीन साता अघि बसेको समिति बैठकले नेपालले प्रयोग गरिरहेको नक्सा गलत भएको भन्दै सच्याउन पनि सरकारलाई निर्देशन दिइसकेको छ ।
समितिले यसअघि नै कालापानी जाने तयारी गरेपनि सभामुख नभएका कारण समस्या परेको समितिका सदस्य बताउँछन । सांसदको भ्रमण र आवश्यक बजेटका लागि सभामुखले निर्णय गर्नुपर्ने संसद नियमावलीमा व्यवस्था छ ।