
सुर्खेत । शान्तिपुर्ण चुनाव बहिस्कार कार्यक्रमको क्रममा सल्यानको कुमाख मालिका गाउपालिका–५ बाट पक्राउ परेका नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य चक्रपाणि शर्मा, दिपक शाही, क्रान्तिकारी माओवादी सल्यानका जिल्ला सचिव चक्र शाह लगायत ४ जनालाई गिरफ्तार गरी अपराधीलाई झैं हातमा हत्कडी लगाएको विरोधमा क्रान्तिकारी माओवादी र देजमो, नेपाल कर्णाली प्रदेशले सुर्खेतमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा पार्टी तथा मोर्चाका नेताहरुले गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई विनाशर्त अविलम्ब रिहाईको जोडदार माग गरेका छन् ।

सुर्खेतको विरेन्द्रनगरको विरेन्द्र चोकमा आयोजित विरोधसभालाई पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका सचिव कृष्ण गुरुङले शान्तिपूर्ण रुपमा उपनिर्वाचन बहिस्कारको कार्यक्रममाथि दमन गरेर वर्तमान ओली सरकारले फासिवादी चरित्र प्रदर्शन गरेको भन्दै कडा शब्दमा निन्दा एवम् भत्र्सना गरे । उनले गिरफ्तार नेता कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाईको माग गरे । त्यसैगरी मोर्चाका केन्द्रीय सदस्य विरेन्द्र सिंहले पनि सरकारको निरंकुश एवम् फासिवादी चरित्रको विरोध गर्दै गिरफ्तार गरिएका नेताहरुको तत्काल रिहाइको माग गरे । उनीहरुले तत्काल नेता कार्यकर्ताहरुको रिहाई नगरे कडाभन्दा कडा संघर्षमा उत्रन बाध्य हुने पनि चेतावानी दिए ।































