बेरोजगार युवाहरुको स्वदेशमा रोजगारीको सुनिश्चितताको समस्या

प्रकाशित मिति : २०७६ कार्तिक १५

- अमिर महर्जन

आज नेपालका युवाहरुको विकराल समस्या भनेको स्वदेशमा रोजगार नपाएर विदेशको श्रम बजारमा आफ्नो श्रम सस्तो मूल्य र असुरक्षित तवरले विक्रि गर्न बाध्य हुनु हो । देशको जनसंख्याको लगभग एक तिहाइ वैदेशिक रोजगारीमा संलग्न भएको पाउदछौ । स्वदेशमा भने स्वरोजगार, कृषि, लघुउद्योग, उद्योग संचालन तथा लगानीका लागि वातावरण बनेको अवस्था छैन । सरकारी नोकरीबाट पनि न्यून मात्रामा मात्र रोजगारीको अवसर पाउदछन् । स्वदेशमा आफ्नो दक्षता अनुशारको काम गरेर आफ्नो जीवनयापन गर्ने कुरा एकदम जटिल बनेको छ । यही सन्दर्भमा क्रान्तिकारी युवा लिग, नेपालले “स्वदेशमा रोजगारका लागि संघर्ष गरौं !, संघिय गणतन्त्र निर्माणको दिशामा अघि बढौं !!” भन्ने नारालाई अघि सार्दै बेरोजगार युवाहरुको रोजगारीको सुनिश्चितताका लागि संघर्ष गर्दै आएको छ । स्वदेशमा रोजगारीको अवसर पाउनु युवाहरुको अधिकार हो भन्ने सन्दर्भमा युवाहरु स्पष्ट र सचेत हुन जरुरी छ ।

    मानिसको परिश्रम गर्ने क्षमतालाई नै श्रमशक्ति भन्दछन् । युवाहरुमा परिश्रम गर्ने क्षमता अझ बढी हुन्छ । केवल पुँजीवादी व्यवस्थामा मात्र श्रमशक्ति पनि बस्तुको रुपमा परिवर्तन हुन्छ र त्यसलाई बेच्न मिल्छ । बेरोजगारी समस्या भनेको समाजमा रहेका श्रमशक्तिलाई उत्पादनशील कार्यमा उपयोग गर्न नसक्नु हो । हाल नेपालमा औसत पाँचलाख युवा श्रमशक्ति प्रत्येक वर्ष उत्पादन हुने गरेको छ । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार पनि २०७४÷०७५ मा बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको बताइएको छ र बेरोजगारीको दर ११.४ प्रतिशत रहेको देखिन्छ । हालसालको लोकसेवा आयोगले सरकारी नोकरीका लागि लिएको परिक्षामा १० हजार जना आवश्यक भएकोमा लगभग ४ लाख युवाहरुले फर्म भरे त्यस्तै गरी इपिएसको परिक्षामा ८ हजारका लागि लगभग ८० हजार युवाहरु सहभागी भए । चार लाख युवाहरुले लोकसेवाको तयारी गर्दा लगभग एक लाखका दरले ४० अर्बको खर्च निस्कन्छ साथै असिहजार युवाले पचासहजारको दरले ४ अर्बको खर्च निस्कन्छ । यो खर्च बेरोजगार युवाहरुबाट गराइएको छ । जुन रकम राष्ट्रिय स्तरको परियोजना निर्माण गर्नका लागि समेत पर्याप्त छ । वल्र्ड बैक अनुसार नेपालमा हालको रोजगारी दर कायम गर्न प्रत्येक वर्ष लगभग २ लाख ८६ हजार ९ सय जनाको रोजगार श्रृजना गर्नु जरुरी हुन्छ । २०१६÷०१७ सालमा ६ लाख ३९ हजार एकसय ६७ जना र २०१५÷१६ मा ४ लाख १८ हजार ७ सय १३ नेपाली वैदेशिक रोजगारमा गएको पाउछौ । विदेशमा जाने युवाहरुको चाहना र सरकारको विदेश पठाउने योजनामा मेल खाएको देखिन्छ । स्वदेशमा रोजगारको अवसर कम हुँदा पनि राज्यसत्तालाई कुनै चिन्ता देखिदैन ।

  नेपालमा बेरोजगारको समस्यालाई लिएर “बेरोजगार युवाहरुलाई रोजगार दे, होइन भने बेरोजगार भत्ता दे” भन्ने मूल नारा सहित युवा तथा आम जनसमुदाय माझ क्रान्तिकारी युवा लिग, नेपालले बैदेशीक रोजगारमा होइन स्वदेशमा रोजगारका लागि संघष गरौं भन्ने अपील गर्दै पर्चा निकालेको थियो । साथै सोही सम्बन्धमा हस्ताक्षर संकलन गर्ने कार्य पनि भयो । यसका साथै देशका सातवटा मध्य पाँचवटा प्रदेशको सरकारी निकायमा बेरोजगारको समस्यालाई केन्द्रमा राखेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्याको सवाल समावेश हुने गरी ज्ञापन पत्र बुझाउने काम पनि भयो । सोही अवसरमा हाम्रो संगठनले मार्चपास, कोणसभा गर्नुका साथै युवाहरुको बेरोजगारको समस्याको समाधानका लागि राय सुझाव संकलन समेत गरेको थियो । पछिल्लो चरणमा राज्यले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्यायो । उक्त प्रधानमन्त्री रोजगार कार्यक्रमले तय गरेको बेरोजगार सम्बन्धि मापदण्डले युवाहरुको समस्या हल हुनेखालको थिएन । घर परिवारका कुनै पनि सदस्य रोजगारीमा संलग्न भएको हुन नहुने, जुनसुकै काम गर्नु पर्ने जस्ता सर्तहरु थिए । युवाहरुको आफ्नो दक्षता अनुसारको काम नपाउने भएपछि त्यो कार्यक्रमको पनि कुनै महत्तो रहेन । त्यो कार्यक्रम नेपालमा बेरोजगारी समस्या छैन भनि देखाउन, आफ्ना कार्यकर्तालाई बेरोजगारको नाममा रकम बाढ्न, हाम्रो देशमा कुल्लीकाम गर्न तयार भएका युवाहरु छन भनेर विश्व सामु देखाउन उपयुक्त रहयो । अतः यो कार्यक्रम युवाहरुको लागि उपयुक्त, प्रभावकारी र औचित्य हिन भएको छ । बेरोजगारको समस्या हल प्रधानमन्त्री रोजगार कार्यक्रमको तौर तरिकाबाट हुन सक्दैन । सक्छ भने राज्यले लोकसेवाआयोगको परिक्षामा भाग लिएका तर उतिर्ण हुन नसकेका, उच्च शिक्षा हाँसिल गरेका विद्यार्थीहरुलाई, इपिएस परिक्षामा सहभागी भई कोरियामा जान नसकेका युवाहरुलाई रोजगारीको सुनिश्चितता गर्न जरुरी छ । कृषिमा संलग्न युवाहरु र उद्योग ब्यापारमा संलग्न युवाहरुको उत्पादन तथा लगानीको प्रवर्दन गर्न विशेष योजना ल्याउन जरुरी छ । साथै पर्ति जमिन, बाँझो जमिन बेरोजगार युवाहरुका लागि छुट्याउन जरुरी छ । भ्रष्टाचारी, माफियाहरुको सम्पत्ति राष्ट्रियकरण गरि बेरोजगारका लागि उपयोगमा ल्याउन खाँचो देखिन्छ । राज्यले राष्ट्रिय स्तरका उद्योगहरु संचालनमा ल्याउन तयार हुनु पर्दछ ।
नेपाल अर्ध–सामन्ती, अर्ध–औपनिवेशीक र नव–औपनिवेशीक मूलुक भएको हुँदा हाम्रो देशको शिक्षा प्रणालीले पनि साम्राज्यवादी राष्ट्रका लागि उपयुक्त कामदार निर्माण गर्छ र सामाज्यवादी राष्ट्रले सस्तो श्रमशक्ति प्राप्त गर्न हाम्रो जस्तो देशमा बेरोजगारको समस्या कायम नै राख्दछ । देशमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुने अवसर प्राप्त हँुदैन, राष्ट्रिय पँुजीको विकास हुन पाउदैन । सामन्ती, दलाल तथा नोकरशाही पँुजीले देशलाई कंगाल बनाउदै लगेको हुन्छ । युवाहरुले विदेशबाट जति पैसा पठाएपनि देशको अर्थतन्त्र सुधार हुनेवाला छैन नत हाम्रो भविश्य सुनिश्चत हुनेवाला छ । यसका लागि युवाहरु विदेशतिर होइन स्वदेशमा संघर्षशील जीवन यापनका लागि तयार हुन जरुरी छ । साथै युवाहरुको अधिकारका लागि सशक्त आन्दोलन गर्न जरुरी छ ।