डा. पाण्डेयलाई विश्वराधानेत्र सम्मान

प्रकाशित मिति : २०७६ कार्तिक १५


पोखरा । वरिष्ठ प्रगतिवादी समालोचक प्रा. डा. ताराकान्त पाण्डेयलाई यही कार्तिक २ गते पोखरा सहिदपार्क स्थित घनश्याम ढकाल स्मृति कक्षमा आयोजित एक समारोहमा विश्वराधानेत्रा साहित्य पुरस्कारद्वारा सम्मानित गरिएको छ । वि. सं. २०६९ मा विरुवा गाउँपालिका, स्याङ्जामा स्थापित भई क्रियाशील रहेको ज्याग्दीखोला साहित्य प्रतिष्ठानले समाजवादी यथार्थवादी धाराका स्रष्टा्द्रष्टालाई सम्मानित गर्ने उद्देश्यले स्थापना गरेको यो पुरस्कार पहिलो पटक डा. पाण्डेयलाई प्रदान गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार देवेन्द्र लम्सालका अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको उपस्थिति थियो भने पुरस्कृत व्यक्तित्व डा. पाण्डेय तथा पुरस्कार स्थापना गर्ने ज्याग्दी खोला साहित्य प्रतिष्ठानबारे वरिष्ठ प्रगतिवादी साहित्यकार प्रा. डा. जगदीशचन्द्र भण्डारीले मन्तव्य राख्नु भएको थियो । पुरस्कारको संस्कृतिको बजारीकरण भइरहेका बेला प्रतिष्ठानले अत्यन्त उपयुक्त किसिमको पात्रता चयन गरेकोमा धन्यवाद दिँदै डा. भण्डारीले ज्याग्दी खोलाको तरङ्ग साहित्यिक पत्रिकाको नियमित प्रकाशन गरिरहेकोमा यसका सम्पादक तथा प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साललाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो। सोही कार्यक्रममा पुरस्कारका लागि व्यक्तित्व चयन समितिका संयोजक वरिष्ठ कवि मित्रलाल पंज्ञानीले पुरस्कृत व्यक्तित्वको चयन प्रक्रियामाथि प्रकाश पार्दै समालोचनाका क्षेत्रमा डा. पाण्डेयको योगदानबारे पनि प्रकाश पार्नु भएको थियो । वि. सं. २०३९ बाट औपचारिक रूपमा समालोचना लेखनको आरम्भ गर्नु भएका पाण्डेयले चालिसको दशकमा कविता विधामा कलम चलाए पनि पछि समालोचनामै केन्द्रित भएको र मार्क्सवादी सौन्दर्यशास्त्रलाई समालोचनाको मूल आधारका रूपमा प्रयोग गर्दै आएको तथा सौन्दर्य्चिन्तनकै क्षेत्रमा पनि सक्रिय रहेको जानकारी उहाँले दिनुभयो । पुस्तकाकार रूपमा पाण्डेयका हालसम्म कलासाहित्यः भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य कवित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध(२०६४), समकालीन कविताको संरचना (२०६४), अर्थको आनन्द (२०६८), समय, सिर्जना र संवाद (२०६८) तथा मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको ससमाजशास्त्र (२०७३) जस्ता समालोचनाकृतिहरू प्रकाशित रहेका छन् । प्रगतिवादी नेपाली कवितामा विद्यावारिधि शोधकार्य गर्नु भएका प्राध्यापक पाण्डेय हाल त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ र अनुसन्धानमूलक समालोचनामा निरन्तर सक्रिय हुनुहुन्छ ।
सोही कार्यक्रममा ज्याग्दी खोला साहित्य प्रतिष्ठानद्वारा नियमित रूपमा प्रकाशित हुँदै आएको ज्याग्दी खोलाको तरङ्ग साहित्यिक पत्रिकाको सोरौं (१६औं) अङ्कको लोकार्पण पनि गरिएको थियो भने समीक्षक यादवराज उपाध्यायले यस अङ्कमा प्रकाशित लेख रचनाबारे सङ्क्षिप्त समीक्षा पनि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न कविहरूले कविता वाचन पनि गरेका थिए ।