सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

प्रकाशित मिति : २०७६ आश्विन २४


काठमाडौं । जिल्लाको इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं आइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस तिर्खुमोडबाट खस्दा मृत्यु हुनेको संख्या हालसम्म १२ पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमै ५, अस्पताल लैजाँदै गर्दा २ र धुलिखेल अस्पतालमा ५ जनाको मृत्यु हुन पुगको हो । अन्य केही यात्रुको अवस्था पनि गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

बसभित्र र छतमा यात्रुहरु खचाखच रहेकोले बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते ७० जनाभन्दा बढीको स्थानीय, प्रहरी र सशस्त्र प्रहरीका उद्धारकर्मीहरुले उद्धार गरी विभिन्न अस्पताल पठाएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट १३ र एक निजी हेलिकप्टरबाट १० जना घाइतेको उद्धार गरी काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएकाहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको सेनाले जनाएको छ ।

धुलिखेल अस्पतालमा ६७ जना घाइतेको उपचार भइरहेको छ । धुलिखेल अस्पतालका अनुसार ६ जनाको अवस्था गम्भर रहेको छ भने ३ जनाको अपरेशन गरिएको छ । यस्तै बनेपास्थित शिरमेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ ।

हालसम्म मृतकहरुमध्ये ५ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । जस अनुसार मृत्यु हुने बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती–९ की संगिता श्रेष्ठ, हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती–१० का रितेश आचार्य रहेका छन् । त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ । बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको बस करिब १० बजे ब्रेक फेल भएर तल खसेको प्रहरीको अनुमान छ ।