काठमाडौं । कीर्तिपुुर होल्डिङ सेन्टरमा पटक पटकको अनुरोधपछि भेट्न दिइए पनि संयुक्त संघर्ष समितिका नेताहरुलाई इचङ्गु नारायणको अपार्टमेन्टमा राखिएका सुकुम्बासीहरुलाई भेटघाट गर्न दिइएन । इनिस्पेक्टरको नेतृत्वमा पुगेको प्रहरीको एक टोलीले माथिको आदेश भन्दै अपार्टमेन्ट राखिएका सुकुम्बासीहरुलाई भेटघाट गर्न नदिइएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता दिनेश शर्मा सागरले जानकारी दिनुभयो । भेट्न नदिइएपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङको नेतृत्वमा गएको टोलीले अपार्टमेन्टकै गेटमा कोणसभा गरेर सुकुम्बासीमाथि राज्यले गरेको अमानवीय वर्वर दमनको कडा विरोध गर्दै कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ गरिएका डम्बर तामाङलाई अविलम्ब रिहाइ गर्न जोडदार माग गर्नुभयो । उहाँले विना स्थायी पुनर्वासको विकल्पविना होल्डिङ सेन्टरबाट सुकुम्बासीहरुलाई नहटाउन र जारी गरिएको सूचना फिर्ता लिन पनि माग गर्नुभयो । राज्यले गरिब सुकुम्बासीमाथिको दमन जारी राखे संयुक्त संघर्ष समिति पनि सशक्त रुपमा आन्दोलनमा उत्रने चेतावनी दिनुभएको थियो ।

यसअघि टोलीले कीर्तिपुर होल्डिङ सेन्टरमा पुगेर पीडितहरुसँग भेटघाट तथा छलफल गरेको थियो । प्रहरीले टोलीलाई होल्डिङ सेन्टरमा जान त्यहाँ पनि अवरोध खडा गरेको थियो । प्रहरी डिएसपीसँग कुरा गरेपछि दुई समूह बनाएर मात्र भेट्न दिएको थियो । भेटमा संयुक्त संयुक्त संघर्ष समितिका नेताहरु समक्ष पीडित सुकुम्बासीहरुले पक्राउ गरिएका डम्बर बहादुर तामाङलाई अविलम्ब रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनीहरुले आफूहरु दुई महिनासम्म सरकारले व्यवस्थापन गर्छ भनेर चुपचाप बसेको भन्दै दुई महिनासम्म कुनै व्यवस्थापन नगरी २५ हजार लिएर होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि आफूहरु आक्रोसित बनेको बताएका थिए । पत्रकारहरुले सोधेको प्रश्नमा डम्बरबहादुर तामाङले त्यही आक्रोश पोख्दा गिरफ्तार गरिएको भन्दै प्रकारहरुले पनि सोझासिधा सुकुम्बासीहरुलाई फसाउन अनेक प्रश्नहरु सोध्ने गरेको गुनासो पनि गरे ।

संयुक्त संघर्ष समितिको तर्फबाट कुरा राख्दै नेता सीताराम तामाङले भन्नुभयो, “हाम्रो संघर्ष समिति तपाईको माग र आन्दोलनको पक्षमा छ । तपाईहरुको न्यायका निम्ति हामीले निरन्तर रुपमा आवाज उठाउँदै आएका छौं । तपाईहरु आफ्ना माग र आन्दोलनप्रति एक ढिक्का भएर अगाडि बढ्नुहोस् । हाम्रो सँधै साथ, समर्थन र सहयोग रहने छ ।”

पीडितहरुले आफूहरु स्थायी विकल्प विना होल्डिङ सेन्टर छाडेर कहिँपनि नजाने र जानैपरे भत्काइदिएकै ठाउँमा गएर छाप्रो हालेर बस्ने भन्दै आक्रोश पोखे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले नयाँ वसपार्क स्थित गेस्ट हाउसमा राखिएका सुकुम्बासीहरुसँग पनि घेटघाट गरेको थियो । टोलीमा नेकपा (बहुमत)का नेता बाबुराम गजमेर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता हिङमाङ र नेकपाका नेता अर्जुन कार्की लगायत रहनु भएको थियो ।
यो टोलीले भोलि भक्तपुरको बोडे, खरिपाटी, नगरकोट र काभ्रेको होल्डिङ सेन्टरमा पुगेर त्यहाँका सुकुम्बासीहरुको अवस्थाको अवलोकन गर्ने र पीडितहरुको माग र आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्ने कार्यक्रम रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम तथा ९ नं ब्यूरोका सचिव चिन्तामणि पौडेलले जानकारी दिनुभयो ।



























