‘दर्शनशास्त्रको इतिहास’ माथि टिप्पणी

‘दर्शनशास्त्रको इतिहास’ माथि टिप्पणी

गोपीरमण उपाध्याय

–दार्शनिक व्यक्तित्व कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तक प्रकाशित भएको छ । यो पुस्तक प्रकाशन हुनु आफैमा निकै महत्वपुर्ण विषय हो । सर्वप्रथम लेखकलाई हार्दिक बधाई दिन चाहन्छु ।
माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्रको विस्तृत अध्ययन गर्न चाहनेहरुको लागि यो पुस्तक एक प्रकारको प्रवेशद्वार हुनेछ । यसमा संकलित कतिपय उद्धरणहरुलाई एक प्रकारले मिनि लाइवे्ररी या लघु पुस्तकालय नै भन्न सकिन्छ ।
‘आफूलाई माक्र्सवादी ठान्नेहरुले यदि यो पुस्तक पढे भने उनीहरुको छिपछिपे ज्ञानलाई गहनीकरण गर्न यो पुस्तकले निकै ठुलो मदत गर्नेछ ।’ यति महत्वपूर्ण पुस्तकको लेखक कस्तो होला भनेर विचार गर्ने हो भने उहाँलाई व्यक्तिगत रुपले नचिनेका मानिसले भन्नेछन् यो ज्यादै लगनशील र उच्च बौद्धिक क्षमता भएको हुनुपर्दछ, जो सिद्धान्तको प्रस्तुती मात्र होइन त्यस अनुसार जीवन व्यवहारमा एकरुपता भएको मानिस होला भनेर सजिलै अनुमान गर्नेछन् । अर्कोतिर, आफूलाई विद्वान ठान्नेहरुले भने यसको उपेक्षा पनि गर्नेछन् ।
दर्शनशास्त्रको इतिहासको अन्र्तवस्तु हेर्दा यो ग्रन्थ ५ अध्यायमा विभाजित छ । पहिलो अध्यायमा दर्शन शास्त्रको उत्पति, परिभाषा र महत्वका विषयमा सटिक रुपमा प्रस्तुत गरिएको छ । दोस्रो अध्यायमा दुई दर्शनशास्त्र र दुईविश्वदृष्टिकोण रहेको छ जसमा समाजमा मुख्य वर्गका रुपमा रहेका शोषक वर्ग र शोषित वर्गका अलग–अलग दुष्टिकोणहरु पनि फरक फरक खालका हुन्छन् भन्ने विषय प्रस्तुत भएको छ । तेस्रो अध्यायमा भौतिकवाद र आदर्शवादबीचको संघर्षको इतिहासको उल्लेख छ, जसमा माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओका दार्शनिक मान्यताहरुको चर्चा गरिएको छ ।
त्यसै गरि प्राच्यविद्या विज्ञानका ग्रन्थहरु जस्तै वेद, पुरान, महाभारत आदि साहित्यहरुमा दुवै खालका दार्शनिक पक्षहरु छन् भन्ने विषयको उठान गरिएको छ तिनको परिचय खुलाइएको छ । लोकायत दर्शनलाई भौतिकवादको पूर्वीय स्वरुप भनेर मानिएको छ । यसलाई स्वभाववादी दर्शन भनेर नाम दिइएको छ । तर किटान भएको छैन । पुर्वीय र पाश्चात्य दर्शनमा विशेष खालका योगदान गर्नुहुने दार्शनिकहरुको परिचय दिइएको हुुनाले यो अत्यन्त ज्ञानवद्र्धक बन्न पुगेको छ ।


यो पुस्तकले आजसम्म माक्र्सवादको छिपछिपे ज्ञान भएका र विश्वविद्यालयहरुमा माक्र्सवादको चर्चा गर्ने प्रोफेसर एवं वुद्धिजिवीहरुको वास्तविक रुपमा माक्र्सवाद के हो भन्ने आँखा खोल्ने काम गर्नेछ । माक्र्सवादी अन्य पाठकहरुलाई पनि यो ग्रन्थ ज्यादै उपयोगी छ । यसको अध्ययनबाट स्वयं मैले पनि धेरै लाभ लिएको छु ।
दर्शनशास्त्रको इतिहास भनेपछि पूर्वमा पनि भौतिकवादी दर्शनको महान् परम्परा रहेको छ त्यसको उपयुक्त उल्लेख हुँदा यो ग्रन्थ झनै समृद्ध बन्न सक्थ्यो । यसको तेस्रो संस्करण छपाउदा यसलाई पनि राख्नुपर्दछ भन्ने लागेको खण्डमा म लेखकलाई सहयोग गर्न तयार छु । अर्को कुरा, महत्वपूर्ण दार्शनिक पदावलीको अर्थ खोल्नु आवश्यक हुन्थ्यो जसले यसलाई अझै समृद्ध बनाउने थियो । आयोनियनहरु र डेविट ह्युमको विषयमा केही जानकारी पनि गराउन चाहन्छु ।
कुनै पनि पुस्तक कति निस्कियो र कति विक्री भयो भन्ने कुराले त्यसको उच्चता र गुणवत्तालाई निर्धारण गर्दैन । त्यसलाई त्यसको युग सापेक्ष अन्तर्वस्तुले निर्धारित गर्दछ ।
नेपालमा मौलिक ढंगले लेखिएका दर्शनशास्त्र विषयक पुस्तकहरु अन्य विषयका तुलनामा निकै कम छन् जसलाई हातका औलाले गन्दा पुग्छ होला । प्रत्ययवादी एवं आध्यात्मवादी दर्शनका पुस्तकहरु लेखन र प्रकाशन जुन मात्रामा पाइन्छ तिनको तुलनामा हामी भौतिकवादी हौं भनेर पुस्तकहरुको लेखन र प्रकाशन गर्नेहरु अत्यन्त न्युन छन् ।
माक्र्सवादलाई केन्द्रविन्दु बनाएर दार्शनिक रचनाहरुको सिर्जना गर्नेहरु पनि निकै कम मात्रामा छन् र यस क्षेत्रमा नामै लिनुपर्दा सर्वप्रथम नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुस्पलालको नाम लिनुपर्दछ, जसले सर्वप्रथम नेपाली समाजको ऐतिहासिक भौतिकवादका आधारमा व्याख्या र विष्लेषण प्रस्तुत गर्नुभयो । यसको जानकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रको अनुवाद गर्दा त्यसको भूमिकामा उल्लेख गर्नुभएको छ । त्यसपछि उहाँका दार्शनिक महत्वका ५ वटा रचनाहरु मानिन्छन् । पहिलो, घोषणा पत्रको भूमिका, दोस्रो, नेपालमा मातृसत्तात्मक समाज, तेस्रो, नेपालमा राजतन्त्रको उत्पत्ति, विकास र त्यसको अन्त्य, चौथो, नेपाली समाज सर्वेक्षणको आवश्यकता, पाचौँ, समाज विकास र शब्दार्थ ।
नेपालमा माक्र्सवादी लेखन गर्नेहरुका पंक्तिमा अग्रणी रुपमा कृष्णदास श्रेष्ठ र मोहन वैद्य ‘किरण’ मानिनुहुन्छ । त्यसभन्दा बाहेक मैले पनि मेरा अग्रजहरुका पदचिन्हहरुलाई पछ्याउदै माक्र्सवादी दृष्टिकोणमा आधारित भएर दार्शनिक रचनाहरु लेखेको छु । यसै दृष्टिकोणमा आधारित भएर दर्शनका क्षेत्रमा कलम चलाउनेको नामावली दिएर जसरी दुई कित्तामा बाँडिदिनुभएको छ । यो विषयमा अलि छिटो भयो कि जस्तो लागेको छ किनभने आजको घोर पूँजीवादी उपभोक्तावादी समाजमा कसले कतिखेर आफ्नो कित्ता फेरेर व्यवहारवादका नाउँमा कता छिर्ने हो त्यसको कुनै ठेगान हुँदैन ।
२०८३ असार काठमाडौँ