सीको नेपाल भ्रमण : नेपाल–चीन सम्बन्धमा कोशेढुंगा

चिनियाँ लेखकको विश्लेषण

प्रकाशित मिति : २०७६ आश्विन २४

- लान चियानसुये


नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १२–१३ सम्मको नेपाल भ्रमण हुँदैछ । २३ वर्षपछि हुन लागेको यो उच्चस्तरीय भ्रमण वास्तवमा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धमा लागि एउटा कोशेढुङ्गा सावित हुनेछ ।

नदी र हिमालले जोडिएका नेपाल र चीन एकअर्कामा अन्तरसम्बन्धित मुलुक हुन् । सीको भ्रमणले वास्तवमा नै सकारात्मक शक्ति पैदा हुनेछ र द्विपक्षीय सम्बन्धमा एउटा महत्वपूर्ण उत्साह थप्नेछ ।

नेपाल र चीनले २०१७ मा चीनले प्रस्ताव गरेको बेल्ट एण्ड रोड इनिसियटिभको फ्रेमवर्ककोे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । दुवै छिमेकी राष्ट्रले उक्त सम्झौतामार्फत् हिमालयपार बहुपक्षीय सम्पर्क सञ्जालको विकास गर्न हात बढाएका छन् । साथै, हिमापार विशेष आर्थिक क्षेत्रको विकासमा पनि सँगै अघि बढ्ने शंखघोष गरेका छन्, जुन सम्झौताले व्यापार, लगानी, उत्पादन, रेल मार्ग, सडक मार्ग, हवाई यातायात, बन्दरगाह, उर्जा र जनताबीचको सम्बन्ध विस्तारबाट भूपरिबेष्ठित देशलाई भूसम्बन्धित राष्ट्रको रुपमा बदल्न उत्प्रेरित गरेको छ ।

छोटै समयको भएता पनि सीको भ्रमणले नेपाल र चीनबीच अन्तर हिमालय बहुपक्षीय सम्बन्ध सञ्जाल, आपसी हितको सम्बन्ध मजबुत पार्ने र चीन नेपालबीच सँधै रहिरहने मित्रताको लागि विस्तारित समन्वय तथा साझेदारीका लागि यस भ्रमणले वास्तवमै द्विपक्षीय सम्बन्धमा नयाँ जीवन दिनेछ ।
नेपाल चीन बीचको सहकार्य जसले हिमालय क्षेत्रलाई विश्वको एउटा नयाँ इन्जिनको रुपमा विकास गर्नेछ र यो अन्य देशको लागि लगानी गर्ने एउटा ममिलो माटो बन्नेछ ।

नेपाल दुईवटा छिमेकी भारत र चीनले घेरेको भित्री भूमि राष्ट्र हो, जहाँ छिमेकीहरु विशाल सम्भावनासहित अघि बढिरहेका आर्थिक राष्ट्र छन् । यी दई बीचमा अवस्थित नेपालले प्राकृतिक रुपमा नै एउटा पुल र सम्बन्धको भूमिका निर्वाह गर्न सक्दछ । एउटा आर्थिक करिडोर स्थापना गर्न र समान भविष्य रहेको समुदाय निर्माण गर्न यसले साँच्चिकै ठूलो राजनीतिक महत्व र त्रिदेशीय स्वार्थ राख्दछ, नेपाल, चीन र भारतको बीचमा ।

यदि तीनवटै राष्ट्रले यो सम्बन्धलाई सुदृढ बनाउन सँगसँगै एकसाथ हातेमालो गरे हिमालय विकासको लागि व्यवधान होइन, बरु छिमेकहरुबीच भौगोलिक र साँस्कृतिक रुपमा सम्बन्ध बढाउने माध्यम हुन सक्दछ ।

नेपाल एउटा स्वतन्त्र सार्वभौम राष्ट्र हो । यसले आफ्नो विकासको योजना स्वतन्त्र रुपमा छनौट गर्ने हैसियत राख्दछ । र, आफ्नो स्वार्थ अनुकूल स्वतन्त्र राजनीतिक शक्ति रुपमा आफूलाई उभ्याउन सक्दछ । भूराजनीतिक खेलमा अर्काले प्रयोग गर्ने साधन बन्नु भन्दा नेपाल, चीन र भारत प्लस फर्मुलाको अभ्यास नै नेपालले गर्नु पर्दछ ।

चीन, भारत र नेपालले शुन्य योग मानसिकता (जिरो सम मेन्टालिटी) त्यागी भूराजनीतिक भूगोलको फाइदा आ–आफ्ना जनतालाई प्रदान गर्न सक्दछ । साथै, केही पश्चिमा मिडियाहरुले चीनको बारेमा नकारात्मक रिपोर्टिङ गरिरहेका छन् । केही पश्चिमाहरुले सँधै नेपाल चीनबीचको सहकार्यलाई पूर्वाग्रही रुपमा हेर्ने गर्दछन् । नेपाल या चीन दुवैले यस बारेमा अल्झिन हुँदैन ।

नेपाल र चीन दुवैले लामो समयदेखि एक आपसको सम्मान गर्दै आएका छन्, गरेका छन्, बुझेका छन्, विश्वास गरेका छन् र सुमधुर सम्बन्ध होस् भन्न चाहना राख्दछन्, जुन साँच्चिकै यो एउटा नमूना हो । र, यसको रक्षा गर्न सीको भ्रमण फलदायी हुन सक्दछ ।

नेपालले सँधै एक चीन नीतिको सम्मान गर्दै आएको छ । नेपालले कहिल्यै पनि तिब्बतीयन या अन्य चीन विरोधी शक्तिलाई चीनका विरुद्धमा गतिविधि गर्ने छुट दिएको छैन । यसको चीनले पनि मुक्तकण्ठले प्रशंसा गरेको छ ।

कुनै पनि राष्ट्रले आफ्नो भूमिलाई तेस्रो मुलुकका विरुद्ध विरुद्ध गतिविधि गर्ने आश्रय स्थल बनाउन चाहँदैन । नेपालको अभ्यास संयुक्त राष्ट्रसंघको उद्देश्य र त्यसको घोषणा पत्र अनुकूल छ । नेपाल आन्तरिक सुरक्षालाई कायम राख्ने नीति अनुरुप अगाडि बढिरहेको छ । नेपाल स्थिरताको पक्षमा छ र सामाजिक आर्थिक विकासको पक्षमा रहँदै आएको छ । नेपालले एउटा शक्तिको रुपमा आफ्नो भूमिका अत्यन्तै उत्तरदायी रुपमा निभाएको छ । यतिखेर नेपाल चीन सहकार्यमा बसन्त आएको छ । यसबाट दुवै राष्ट्रका हिमालय क्षेत्रका जनता हातेमालो गर्दै साझा भविष्य पाउने आशा गरेका छन् ।

(लेखक एशिया प्यासिफिक अध्ययन केन्द्रका विभागीय उपनिर्देशक हुन् । प्रस्तुत लेख ग्लोबल टाइम्सबाट लिइएको हो । अंग्रेजी भाषामा प्रकाशित लेखलाई पत्रकार टिकाप्रसाद भट्टराईले भावानुवाद गरेका हुन् ।)