
काठमडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार (आज) दिउँसो करिब ५ बजे काठमाडौं ओर्लदैछन् । सीलाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अनुसार ६ बजेपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग सीको भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ ।
नेताहरुसँग वान टु वान वार्ता
राष्ट्रपति सी जिनपिङ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता तय गरिएको छ । सी र प्रचण्डबीच आइतबार बिहान साढे १० बजे होटल सोल्टीमा ‘वान अन वान’ भेटवार्ता तय गरिएको स्रोतको दाबी छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति सीसँगको दुई पक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नेछन् । अध्यक्ष प्रचण्डले चाहिँ पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्ने छन् ।
शनिबार साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय गरिएको छ भने होटल फर्केपछि सवा ७ बजे सीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग वान टु वान भेट्ने कार्यक्रम तय भएको स्रोतले दाबी गरेको छ ।
सी–देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।
आइतबार बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेपछि सवा ११ बजेदेखि सीले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच दुई पक्षीय औपचारिक वार्ताअघि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै भेटवार्ता हुने सम्भावना रहेको छ ।
यता सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ । विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ‘टाइसहित सुट सेट’ र महिलाका लागि ‘सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ । निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ ।
आइतबार साढे १ बजे अर्थात् करिब २० घण्टाको नेपाल बसाइपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने समय तालिका रहेको छ ।
सी शुक्रबार भारतस्थित चेन्नाई हुँदै ममल्लिपुरम पुगेका थिए । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरे । ममल्लिपुरमको तटीय क्षेत्रमा डुंगा सयरसँगै वार्ता तय भएको ।थियो यो वार्तालाई उहान– २ नामाकरण गरिएको छ । दोक्लम विवादपछि उहान १ वार्ताले भारत र चीन आपसमा नजिकिएका छन् ।
नेपालमा चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हा। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए । यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका थिए ।
चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुने बताइएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयार पारिएको छ । उनीहरूका अनुसार चीनले पूर्व–पश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी छ । केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ ।
यता सीकै भ्रमणको बेला चीन र भारतबीचमा भएको विवादित लिपु लेक सम्झौता खारेजीको पनि आवाज उठेको छ । द्विपक्षीय वार्तामा यो विषय उठान गरिनु पर्ने आवाज उठेको छ ।
भ्रमण तालिका :