इच्छुक प्रतिष्ठानका अध्यक्षले महरालाई लेखे यस्तो मार्मिक पत्र

प्रकाशित मिति : २०७६ आश्विन २६

(नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य समेत रहेका इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत एउटा मार्मिक पत्र लेखेका छन् । यस्तो छ उक्त पत्रको पूर्ण अंश)

आदरणीय महरा सर !
क्रान्तिको फरक धारबाट न्यानो अभिवादन ।
तपाईंको राजनीतिक जिवनलाई रसातलमा पुर्याउने गरि तपाईं माथि लागेको चरित्रगत आरोपले आज अनुसन्धानका निम्ति पुरपक्षका लागि हिरासतमा राखिनु पर्दा म अत्यन्तै स्तब्ध र दुस्खित भएको छु । म विगत सात बर्षदेखि तपाईंबाट अलग धारको पार्टीमा छु । तथापि तपाईंलाई म आदर र सम्मान नै गर्दथें, गर्छु पनि । तपाईंसँग जोडिएकी पात्रलाई म तपाईंलाई जत्तिकै नजिकबाट चिन्दछु र जान्दछु पनि । पार्टीमा तपाईंको छवि, व्यक्तित्व, र पटकपटक तपाईंले प्राप्त गरेको सत्ता सुविधाबाट तपाईंकै पार्टीका र तपाईंका छेउछाउकै नेताहरु डाहा र आरिसले चिढिएका थिए । यतिबेला तपाईं हिरासतको छिंडी बाट संसदीय राजनीतिको घिनौना खेललाई गौरले चियाईहँदा बाहिर तपाईंका बिरोधीहरुले ककटेल मनाईरहेका होलान् भन्ने म ठान्दछु ।

यो केसमा सत्यता के कति छ त्यो तपाईं र सम्वन्धित महिलालाई नै थाहा होला । बाँकी अरुले त अनुमानमै तिर चलाउने हुन् । केही न केही कमजोरी त तपाईंबाट भयो होला भन्ने म ठान्छु । हावा नचली पात हल्लिँदैन भन्ने नेपाली उखान नै छ । मन्द हावा चलेको कुरा तपाईंका धुरी भित्रका बैरिहरुले थाहा पाए होलान् अनि पात हल्लिने मौका छोपेर डोजर चलाइदिए र रुखै उखेलिदिए ।

सुन्छु यतिबेला तपाईंकै पार्टीका भित्रीनी पट्टीका दौतरीले पार्टीको एउटा सिण्डिकेट ढल्यो भन्दै खुसि मनाउँदै छन् रे । जनयुद्धलाई प्रचण्ड बाबुरामले संसदवादमा सट्टेबाजी लगाए पछि तपाईंले पद, प्रतिष्ठा, लाभ र सुखसुविधाका निम्ति जसरी उनिहरुको सति जानुभयो त्यसको परिणाम आज हिरासत बसेर (जेल पनि हुन सक्छ ) भोग्दै हुनुहुन्छ । किनकि यो व्यवस्थाको राजनीतिमा मान्छेलाई “युज एण्ड थ्रो“ गर्ने नै हो । कर्मचारीबाट करिव बीस करोड चन्दा उठाएर सबै रकम प्रचण्डलाई र्पुयाउन तपाईं प्रयोग हुनुभयो । माधव नेपालको सरकार ढाल्न सांसद खरिदका लागि चिनियाँ ब्यापारीबाट पचास करोड चन्दाको बार्गे्निङ गर्न तपाईं प्रयोग हुनुभयो । यद्यपि उक्त रकम प्राप्त त भएन अनाहकमा तपाईं बद्नामित हुनु पर्याे । देउवासँग मिलेर सरकार बनाउने लविङ गर्न प्रचण्ड दूत बनेर दक्षिणी प्रभुका द्वार खटखटाउन तपाईं नै प्रयोग हुनुभयो । चुनवाङको बैठक पूर्व कारवाहीमा परेका बाबुरामलाई बोकेर प्रचण्डको दूत बनेर दक्षिणी प्रभुका दूतहरुकहाँ संसदवादको भीख माग्न तपाईं प्रयोग हुनुभयो । तपाईंकै रोहवरमा प्रचण्ड बाबुरामले ब्युरोक्र्याट मार्फत दक्षिणी सरकारलाई बुझाएको बिन्तिपत्र एसडिमुनीले सार्वजनिक नै गरेका थिए । प्रचण्ड र सुमार्गिजोड्ने पुल तपाईंनै हुनु भयो, पछि उनिहरुको लगनगाँठो बलियोसँग बाँधिएपछि तपाईं आउट हुनुभयो । यस्ता घटना त अनगिन्ती छन्, तपाईं प्रयोग भएका ।

जनयुद्धलाई धनयुद्धमा परिणत गरेपछि माउखाने राजनीतिको शिकार हुने कुरा अनौठा र उल्काको विषय नै हैन । तपाईंमाथिको आरोप, आरोप जत्तिकै सत्य हो भने यसले तपाईंलाई मृत्युपर्यन्त खेदिरहने छ । यदि सामान्य कमजोरी हो भने तपाईंले पर्दा पछाडिको षड्यन्त्रको पर्दाफास् गर्नै पर्छ । आफ्नो टाउको जल्दा मितको टाउको बचाउनु जरुरी छैन । किनकि तपाईंले अङ्गालेको राजनीति सर्वहारा वर्गीय राजनीति होईन । बुर्जुवा राजनीतिमा जसरी तपाईंका आफ्नै दौंतरी बैरी बनेर खडा भए त्यसको जवाफ त्यसैगरी दिनुपर्ने हुन्छ । अर्को विकल्प भनेको तपाईंले जनयुद्ध प्रति गरेको घातको हिस्सेदारी लिंदै अहिलेसम्म गरेको बुर्जुवा राजनीति प्रति पश्चाताप गरेर आत्म समीक्षा गर्दै क्रान्तिकारी पार्टी र आन्दोलनमा जोडिने कुरा हो ।

तपाईंको यो घटनाले दुईवटा गम्भीर विषय उजागर गरेको छ । तपाईंको आफ्नै गल्ती हो भने त्यसको भागिदार तपाईं मात्रै हुनुहुने छ । यदि तपाईंको सामान्य असावधानीको कमजोरी मात्रै हो भने अब जनयुद्धबाट आएका कुनै पनि नेता सकुशल रहन सक्ने छैनन् । विभिन्न बहानामा क्रमशः सबैलाई यसैगरी सिध्याउने खेल हुने छ । नत्र तपाईंलाई जुन प्रकारको चरित्रगत आरोप लागेको छ, त्यस प्रकारका चरित्रमा दाग लागेका तपाईंको पार्टीमा दर्जनौं छन् । उनिहरुले यस प्रकारको सजाय भोग्नु नपर्ने तपाईंले मात्रै भोग्नु पर्ने भनेको तपाईंलाई सिध्याउने डिजाइन रहेछ भनेर बुझ्नुपर्छ । संसदीय बुर्जुवा व्यवस्थामा सुरा, सुन्दरी, भ्रष्टाचार, शोषण, उत्पीडन, छिड्कि हान्ने खेल त्यो व्यवस्थाको अनिवार्य र सुन्दर पक्ष नै हो । पद, पैसा र प्रतिष्ठाको तामसी रसले सबैलाई यसैगरी मदहोस् बनाउँछ र लठ्याएर सिध्याउँछ । यसबाट वच्न चतुर, ध्रुत, साम दाम दण्ड भेद जानेको, अगाडि पछाडि ब्याकफोर्स भएकाहरु मात्रै यसबाट बचेर पछिसम्म सत्तामा टिक्न सक्छन् । यदि तपाईं यो केसमा परेकै हो भने तपाईं चर्तुयाइँ गर्न सक्नु भएन । जसले तपाईंलाई राजनीतिबाटै हात धुनुपर्ने अवस्थामा पुर्यायो । तपाईंलाई फसाइएको हो भने तपाईंले क्रान्तिकारी बाटो रोज्नै पर्छ । आगे तपाईंको मर्जी ।

उहीँ तपाइँबाट ऐनमौकामा उपेक्षित तपाईंको दुःखी ।