हामी जनसंघर्षको तयारीमा छौं : महासचिव किरण

प्रकाशित मिति : २०७६ श्रावण ६


जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले आफ्नो पार्टी जनसंघर्षको पक्षमा रहेको बताएका छन् । सोमबार जनकपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव किरणले यस्तो बताएका हुन् ।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा महासचिव किरणले विप्लव समूहको अहिलेको गतिविधि अस्पष्ट रहेको बताउँदै विप्लवले जनक्रान्ति गरिरहेका छन् कि जनसंघर्ष स्पष्ट हुन नसकेको बताए ।

विप्लव समूहमाथि लगाइएको प्रतिबन्धको सरकारको राजनीतिक निर्णय नभएको भन्दै महासचिव किरणले यो समस्याको समाधान राजनीतिक ढंगले मात्र निकाल्न सकिने बताए ।

आफूलाई कम्युनिस्ट सरकार भएको दावी गर्ने ओली सरकार जनताको हकहितको पक्षमा नरहेको भन्दै महासचिव किरणले सरकारको राष्ट्रघाती र जनघाती क्रियाकलापका विरुद्ध जनसंघर्षको विकल्प नरहेको दाबी गरे ।

महासचिव किरणले उत्पीडित वर्ग र समदाय अर्थात् वर्गीय मुक्ति, पहिचानका साथै मधेशी, मुश्लिम, दलित, आदिवासी जनजातिहरुको अधिकार अझै पूरा नभएको बताउँदै सरकारको जनताको अधिकारको विषयमा ध्यान नदिएको आरोप लगाए ।

अहिलेको संविधानलाई अपाङ्गको संज्ञा दिँदै महासचिव किरणले संघीयता पनि त्यस्तै रहेको बताए । मुलुकमा संघीयता लागू गरे पनि प्रदेशहरु स्वायत्त नरहेको महासचिव किरणले बताए ।