जनकलाकार माइला लामालाई तत्काल रिहा गर्न क्रान्तिकारी माओवादीसम्बद्ध जनसाँस्कृतिककर्मीहरुको माग

प्रकाशित मिति : २०७६ श्रावण ६


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनसाँस्कृतिककर्मीहरुले सामूहिक रुपमा प्रेस वक्तव्य जारी गरी जनकलाकार माइला लामालाई तत्काल रिहाइ गर्न माग गरेका छन् । वक्तव्यमा उनीहरुले भनेका छन्, “केही समययता नेकपा (विप्लव समूह)लाई दमन गर्ने नाममा सरकारले देशका लेखक कलाकारहरूलाई आम रूपमा गिरफ्तार गर्ने, मानसिक यातना दिने, झुठा मुद्दा लगाउने जस्ता काम गरिरहेको र यसै शृङ्खलामा यही श्रावण ५ गते आइतबार काठमाडौंको काँडाघारीबाट जनकलाकार माइला लामालाई गिरफ्तार गरेको घटनाप्रति हाम्रो ध्यान आकृष्ट भएको छ ।

माइला लामा गणतन्त्र स्थापनाको लडाइँका एक अथक योद्धा हुन् र मुलुकको सामाजिक रूपान्तरणका लागि अद्यापि सङ्घर्षरत छन् । मुलुकको वर्तमान संरचना र राजनीतिक प्रणालीप्रति नागरिकका आ–आफ्ना दृष्टिकोण हुन् सक्छन्, सहमति असहमति हुन सक्छन् र द्वन्द्व पनि हुन सक्छ तर द्वन्द्वलाई सम्बोधन गर्ने निरङ्कुश र लोकतान्त्रिक तरिका भिन्दाभिन्दै हुन्छन् । यस परिप्रेक्ष्यमा वर्तमान सरकारले कहिले शंकाका भरमा, कहिले ’झुक्किएर’ र कहिले सत्ताको भय र त्रास देखाउने मनसायले जसरी लेखक कलाकारहरूलाई धरपकड तथा गिरफ्तारी गर्ने काम गरिरहेको छ, त्यो कुनै पनि हिसाबले लोकतान्त्रिक गणतन्त्रका मर्मअनुरूप छैन । माइला लामा लगायतका लेखक कलाकार गणतान्त्रिक आन्दोलनका कलमजीवी सिपाही हुन् र तिनीहरूको गिरफ्तारी अन्यायपूर्ण छ भन्ने हामी ठान्दछौं । राजनीतिक समस्याको समाधान राजनीतिक ढङ्गले खोजिनु पर्छ भन्ने आह्वान गर्दै हामी जनकलाकार माइला लामालाई तत्काल रिहा गरियोस् भन्ने जोडदार माग गर्दछौं ।”

वक्तव्य जारी गर्ने जनसाँस्कृतिककर्मीहरुमा ईश्वरचन्द्र ज्ञवाली, डा.जगदीशचन्द्र भण्डारी, डा.ताराकान्त पाण्डेय, इस्माली, हिरामणि दुःखी,
डा.रामप्रसाद ज्ञवाली, अनिल श्रेष्ठ, प्रभात सापकोटा, छायादत्त न्यौपाने, गौरी दाहाल, विजयराज आचार्य, धनेश्वर पोखरेल, विष्णुमाया न्यौपाने, चन्द्रा थानी, डा.विदुर वस्ती, श्रीधर अधिकारी, विमला चन्द, ईश्वरी गुरागाईँ, मोदनाथ मरहट्टा, रविकिरण निर्जीव, प्रकाश खनाल, शिला योगी, सूर्य भट्टराई, परशुराम कोइराला, देवेन्द्र लम्साल, डा.सुकुम शर्मा, वसन्त बोगटी, सुनिता बुढाथोकी, काजीबाबु श्रेष्ठ, कल्पना चिलुवाल, डा.नन्दीश अधिकारी, डा.कृष्णराज अधिकारी, प्रकाश चापागाईँ, खगेश्वर भण्डारी, खगेश्वर सापकोटा, राजेन्द्र घायल, चत्रबहादुर थारु, उमेश आचार्य, नारायण मरासिनी, इन्दिरा अधिकारी, मित्रलाल पंज्ञानी र कलाकारहरू असल पाख्रिन, अमित योञ्जन, अनिश योञ्जन
सफल सोडारी लगायत रहेका छन् ।