कमरेड श्रीनाथ अधिकारीको श्रद्धाञ्जलीसभा गोरखामा सम्पन्न, पोखरामा आज हुँदै

प्रकाशित मिति : २०७६ श्रावण ५


गोरखा । नेकपा (क्रान्तिकारी माओवादी)का दिवंगत नेता तथा पार्टी पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारी‘श्याम’को श्रद्धाञ्जली सभाहरु भइरहेका छन् । २२ असारमा निधन हुन पुग्नुभएका नेता अधिकारीको क्रान्तिकारी माओवादीको केन्द्र, प्रदेश र जिल्लाले श्रद्धाञ्जली कार्यक्रम गरिरहेको छ भने गोरखामा जनयुद्धका महान सहिद सुरेश वाग्ले (बासु) स्मृति प्रतिष्ठानले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ ।
वासु स्मृति प्रतिष्ठानको आयोजनामा गोरखामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले इमान्दारिता र निष्ठाको राजनीति नेता अधिकारीसँग सिक्नुपर्ने बताए । ‘क्रान्तिकारिता, निष्ठा, इमान्दारिता, सरलता र स्वच्छताको अनुसरण गरेर हामीले उहाँलाई सच्चा श्रद्धाञ्जली दिनुपर्छ’ नेता श्रेष्ठले भने ।

कार्यक्रमका बक्ताहरुले श्रीनाथ अधिकारीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदानको चर्चा गर्दौ उहाँको निष्ठा, त्याग र आदर्शलाई भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।

वासु स्मृति प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षतामा भएको कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, नेकपा केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा नेता अधिकारीका छोरा नारायण अधिकारी, नेकपाका जिल्ला सचीव प्रेम गुरुङ, कम्युनिष्ट नेता भक्ति लामिछाने, नेता अधिकारीकी बहिनी शान्ता अधिकारी, शिक्षक टीकाराम श्रेष्ठ लगायतले उहाँको गोगदानको बारेमा चर्चा गरेका थिए ।

बिसं २०१२ साल साउन ९ गते गोरखाको हंसपुरमा जन्मिनु भएका नेता अधिकारीलाई गोरखा कम्युनिस्ट आन्दोलनको संस्थापक नेता मानिन्छ ।

यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ । श्रद्धाञ्जली सभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य गौरवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।