विप्लव नेकपालाई अर्को धक्का, उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

प्रकाशित मिति : २०७६ श्रावण ५

काठमाडौं । प्रतिबन्धित नेकपा (विप्लव)लाई अर्को धक्का लागेको छ । पार्टीका प्रभावशाली युवा नेता तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले लामा पक्राउ परेको पुष्टि गर्दै उनलाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरिएको बताए ।
उनका अनुसार माइला लामासँगै डोलेन्द्र भट्टराई र रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । लामा विप्लव नेकपाका एक प्रभावशाली केन्द्रीय नेता मानिन्छन् ।
काठमाडौं सीतापाइलाका लामाले तत्कालीन माओवादी आन्दोलनमा थुप्रै क्रान्तिकारी गीत संगीतमार्फत् महत्वपूर्ण भूमिका खेलेका थिए । उनी जनयुद्धका घाइते समेत हुन् । तत्कालीन एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध हुन पुगेका थिए ।