यसरी गरियो नेता अधिकारीलाई श्रद्धाञ्जलीसहित अन्तिम विदाइ (फोटोफिचर)

प्रकाशित मिति : २०७६ असार २३


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का दिवंगत पीवीएम श्रीनाथ अधिकारी‘श्याम’को आज पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । नेता अधिकारीको पार्थिव शरीरमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका जेष्ठ सुपुत्र नारायण अधिकारी‘निश्चल’ले दागबत्ति दिएका थिए । नेता अधिकारीको अन्तिम विदाइका लागि क्रान्तिकारी माओवादीका शीर्ष नेताहरु महासचिव मोहन वैद्य‘किरण’, पार्टी स्थायी समिति सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सीपी गजुरेल, पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य हरिभक्त कँडेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, परि थापा लगायतका नेताहरु पशुपति आर्यघाट पुगेका थिए । नेकपाका अध्यक्ष ऋषि कट्टेल पनि पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा अन्तिम विदाइका लागि क्रान्तिकारी माओवादी लगायत अन्य कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।


यसअघि पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा नेता अधिकारीप्रति अन्तिम श्रद्धाञ्जलीका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । विहान ९ बजेदेखि १२ बजेसम्म राखिएको श्रद्धाञ्जली कार्यक्रममा क्रान्तिकारी माओवादीका शीर्ष नेतृत्वसहित डबल नेकपाका अध्यक्ष प्रचण्ड, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपाका अध्यक्ष ऋषि कट्टेल, माले महासचिव सिपी मैनाली, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु अन्तिम श्रद्धाञ्जलीका निम्ति कुपण्डोल कार्यालय पुगेका थिए ।


श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन नेता सिपी गजुरेलले गरेको थियो भने नेता अधिकारीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गरेका थिए ।
पार्टी महासचिवले पार्टीको झण्डा ओढाई पार्थिव शरीरमा अबीर माला अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसै गरी अन्य नेताहरुले पनि मूल, माला, अबीर अर्पण गरी श्रद्धाञ्जली गरेका थिए । कार्यक्रममा नेता अधिकारी प्रति श्रद्धाञ्जलीका निम्ति १ मिनेट मौन धारण समेत गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएलगत्तै अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको थियो । कुपण्डोलको श्रद्धाञ्जली कार्यक्रमदेखि पशुपति आर्यघाटसम्म नेता अधिकारीलाई अन्तिम विदाइ गर्दाका दृश्यहरु बरिष्ठ पत्रकार जय दाहालले आफ्नो क्यामेरामा कैद गरेका छन् । तिनै दृश्यहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।