राजनीतिक जीवन उतारचढाव हुँदै अघि बढ्छ

प्रकाशित मिति : २०७६ जेष्ठ १४

- श्रीनाथ अधिकारी ‘क. श्याम’

 तपाईको राजनीतिक जीवनका सुरुआत कसरी भयो ?

म २०३२ सालतिर विद्यार्थीहुँदा राजनीतिक जीवन सुरु भयो । त्यतिबेला पुल्चोक ललितपुरमा पढ्थे । म निकै जोदाहा थिए । राजनीतिप्रति निकै आकर्षण पनि थियो । कांग्रेसका बारेमा उत्तिका जानकारी पनि थिएन । तर कांग्रेस भनेपछि वामपन्थी विचार राख्नेहरुलाई मन नै नपर्ने । पञ्चायतको त सर्वत्र विरोध जस्तै थियो ।

त्यसैबेला दिलबहादुर श्रेष्ठ, काइँला बा, नरबहादुर कर्माचार्य आदि नेताहरु पाटनमा काम गर्दथे । पाटनमा वामपन्थीहरुको चहलपहल थियो । त्यतिबेलाका डीआर पौडेल भन्ने साहित्यकार थिए । पौडेल मेरो एक वर्ष सिनियर ब्याच हो । उनले मलाई पार्टीको सदस्य हुनुपर्छ भनिरहेका थिए । विद्यार्थी अखिलमा त आबद्ध थिए नै ।

हामीहरु यहाँको पढाइ सकेर चितवन गयौं । चितवन गएपछि पार्टी सदस्यको फाराम भरियो । अनि म पार्टीमा आबद्ध भए । यो २०३४ सालतिरको कुरा हो । पार्टी सदस्य लिएपछि म चौथो महाधिवेशनमा आबद्ध भए । मेरो राजनीतिक जीवन चौथो महाधिवेशनबाटै सुरु भयो । त्यतिबेलाका निर्मल लामा, मोहनविक्रम सिंह, मोहन वैद्य हाम्रा शीर्ष नेताहरु हुन् । त्यतिबेला डीआर पौडेल र मलगायतका साथीहरु निकै खटनपटनमा लाग्यौं ।

काम गर्न कत्तिको सजिलो थियो ?

काम गर्न निकै गाह्रो । तर हामीमा उत्साह त असीम थियो । डीआर रमैले त्यतिबेला पाएसम्मका माक्र्सवादी–लेनिनवादी पुस्तकहरु निकै रट्ने गर्दथ्यौं । संगठनमा निकै खटेर काम पनि गर्दथ्यौं । त्यसपछि २०३५÷०३६ सालको विद्यार्थी आन्दोलनले हाम्रो चेतना निकै बढाइदियो । हामीलाई केही नयाँ कुरा गर्नुपर्छ भन्ने लाग्यो । हामी दत्तचित्त भएर काम गर्नतिर लाग्यौं । चितवनमा जागीरे जीवनको कभर बनाउँदै कामका लाग्यौं ।

विद्यार्थी आन्दोला क्रमशः राजनीतिक रुप लिँदै गयो । २०३६ सालमा जनमत संग्रह भयो । हामीहरुलाई यसले नयाँ चेतना दियो । म पार्टी कामको सिलसिलामा गोर्खातिर लागे । मलाई लाग्यो पुराना स्थापित नेताहरु चितवनमा भएकाले नयाँ संगठन बिस्तारका लागि म गोर्खातिर लागेको थए ।

चितवनमा त अमिक शेरचन, काजी बाजस्ता वरिष्ठ नेताहरु छँदैछन्, गोर्खातिर जाउँ भन्ने मनले भनेको थियो । चितवन पहिलेदेखि टाठोबाठो ठाउँ पनि हो । अर्कोतिर चितवनमा कार्यकर्ता उत्पादन गरेपछि बाहिरका जिल्लाहरुमा पठाउन लोभ गर्दोरहेछ पार्टीले पनि । पार्टीले सहजै मलाई त्यहाँ पठायो ।

गोर्खामा कस्तो रह्यो राजनीतिक जीवन ?

म गोर्खा गएको लगत्तै पार्टीले चुनाव बहिस्कार गरेको थियो । हामी कार्यकर्ता सबैलाई तात्कालीन पञ्चायतले निकै लखेट्यो । वारेन्ट जारी गरिएको थियो । अर्को वर्षको स्थानीय निर्वाचनमा गिरफ्तार गर्यो । परिवार त्यही बेला छुट्टभिन्द भएको थियो । परिवार सुत्केरी थिइन् । म उनको हेरचाह गर्न र सुत्केरी खुवाउन बसेको थिए । त्यही पनि गिरफ्तार गरेर लग्यो ।

त्यति बेलाका त्यहाँका जोडीहरु वाचस्पति देवकोटाजस्ता नेताहरु थिए । जाँगर र उत्साह पनि निकै थियो । काम पनि अफूले गरेको जस्तो नै भयो । सबैमा उत्साह र केही गरौं भन्ने आँट र साहस पनि थियो । जेलभित्र भए पनि र बाहिर भएर पनि क्रियाशीलता उत्तिकै । वाचस्पति त पटकपटक जेल गइरहने । हिरासत पनि उत्तिकै ।

नेताहरुसँगको संगत र प्रभाव कत्तिको थियो ?

तात्कालीन नेताहरुमा मोहन विक्रम सबैका नेता । उनले बारम्बार भेटघाट र प्रशिक्षण चलाइरहन्थे । उनले लेखेको उग्रवामपन्थी विचारधाराको खण्डन भन्ने पुस्तकले निकै प्रभाव पारेको थियो, युवाहरुमा । जानीनजानी त्यसको प्रभाव जब्बर भएर आयो । झापालीहरु ठीक होइनन्, यिनीहरु उग्रवामपन्थी हुन् भन्ने प्रभाव पर्यो ।

पछि पो थाह पाइयो । यस्तो विश्लेषणले त हाम्रो विचार विकासमा बाधा पुर्याएको रहेछ । त्यतिबेला त पढियो, त्यसैमा कन्भिन्स पनि भइयो । पछि देशभक्त जनगणतान्त्रि शक्तिको सरकार भन्ने नारा अघि सारियो । यसका बारेमा तत्काल बुझियो कति, तर ज्यानफालेर मरेर लागिपरियो । त्यसरी लाग्नेहरुमा प्रचण्ड र बादलहरु पनि त हो । उनीहरु पनि लागे । गोर्खामा दण्डपाणी न्यौपाने, वाचस्पतिहरु पनि निकै लागे ।

यसरी मेरो राजनीति ३० को दशकबाट सुरुभयो र यहाँसम्म आइपुगियो । २०४० सालतिर गएर पार्टी फुट्यो । लामाहरुसित नजिक थिएन म । म बरु भक्त बहादुर, मोहन विक्रम र किरणदाइहरुसँग नजिक थिए । किरण दाइसँग नजिक हुनुको कारण गण्डकी अञ्चलमा तीन दिन दर्शनसम्बन्धी प्रशिक्षणले हो ।

उहाँको मार्क्सवादी दर्शनको सैद्धान्तिक कक्षाले गर्दा हो । गोर्खाबाट म पनि छनौट भएर प्रशिक्षण कार्यक्रममा गएको थिए । दर्शनको कक्षा, त्यसमा पनि वरिष्ठ दार्शनिकबाट लिन पाउने भनेर मैले पीएन् कलेजको तर्फबाट व्यवस्थापनको जिम्मा नै लिए ।

पार्टी फुटले तपाईमा कस्तो प्रभाव पार्यो ?

पार्टी त फुट्यो, तर दुई लाइन संघर्षले हामीहरुलाई तर्क गर्नसक्ने एउटा अवस्थामा पुर्याइदियो । हामी यस्तै तर्कवितर्क र छलफल बहस गर्दै अघि बढिरह्यौं । तर फेरि पार्टीमा मोहन विक्रमका समस्याहरु आए । २०४१ सालमा पार्टीभित्र निकै छलफल र घम्साघम्सी चल्यो ।

विवाद चलिरहेको थियो । हामीलाई फेरि पनि पार्टी फुट्ला भन्ने डर लाग्न थाल्यो । यो विाद त नआइदिए हुने थियो भन्ने लाग्ने आफूलाई । लामाहरु फुटे, त्यति त केही पनि भएन, पचाइयो । तर अब नफुटे हुने थियो भन्ने भयो ।

मोहन विक्रम मुख्य नेता नै हुन्, यिनलाई त छोड््न हुँदैन भन्ने थियो, मलाई । मलाई लागेको थियो, मोहनविक्रमको कमी कमजोरी आचरणगत हो, वैचारिक राजनीतिक होइन भन्ने थियो । ०४१ सालको महाधिवेशनमा मैले गोर्खाबाट प्रतिनिधिको हैसियतले भाग लिएको थिए । ०३८ सालमा चीनमा प्रतिक्रान्ति भन्ने दस्तावेज पारित गर्ने प्लेनममा म गोरखाबाट प्रतिनिधिका रुपमा सहभागी भएको थिए । म २०३८ सालदेखि निरन्तर कन्द्रीय कार्यक्रमहरुमा प्रतिनिधिका रुपमा सहभागी हुँदै आए ।

त्यसपछिका २०४४/०४५ सालका पार्टीका कार्यक्रमहरुले हामीलाई निरन्तर अघि बढाइरहे । बहिस्कारका कार्यक्रमहरु अघि बढिरहे । हामीहरु सबै वारेन्टेड थियौं । पछि क.किरण, क.सीपीहरुले कार्यकर्ता र जनताका बीचमा उत्साहको नयाँ सञ्चार गराउन प्रयास गार्नु भयो पनि । तर जत्तिको क्लियर बनाएर अघि लैजानु पर्दथ्यो त्यसमा कमी कमजोरीहरु त्यति बेलामा रहेको महशुष हामीहरुलाई हुने गर्दथ्यो ।

त्यसपछिको सांगठनिक राजनीतिक स्थिति कस्तो रह्यो ?

त्यसपछिको स्थितिमा गति ल्याउन संगठनमा केही हेराफेरी गरियो । यो हेराफेरीका लागि ससानो बहस पनि चलेको थियो । त्यो थियो केही कमजोरी गरेका साथीहरु एक तह तल बसिदिने र नयाँले नेतृत्व लिएर अघि बढ्ने । नयाँ नेतृत्व भनेको प्रचण्डलाई ल्याउने भनिएको थियो ।

त्यसका बारेमा किरण दाइ पनि सहमत हुनुहुन्छ र अरुको पनि सहमत छ भनिएको थियो । हामी केही साथीहरु यो त हुँदैन भन्नेमा थियौं । कन्भिन्स पनि भएका थिएनौ । हामीलाई बुझाइएको पनि थिएन ।

यी कारणले यज्ञ घिमिरेहरु जस्ता साथीहरु निस्क्रिय भएर पछि हटे । उनी प्रतिभाशाली नै थिए । युवक संगठनको केन्द्रीय अध्यक्ष बनाइँदै थिए । उनी जस्ता व्यक्तिहरु पछि हटे । हेर्दा प्राविधिक जस्तो लाग्ने तर गहिरो गरी असर पार्ने यी र यस्ता टेक्निकल कुरा र कमी कमजोरीहरु रहे । यी घटनाहरु २०४४/०४५ सालमा घटे । अर्को सकारात्मक कुरा भनेको पार्टीले अलि केही गति लियो । गोर्खाको सिह्रान चोकमा प्रारम्भिक सैन्य तालीम पनि भयो । यसले थप उत्साह ल्यायो ।

हेडक्वाटरले यसको पहल लियो । कुशल प्रधान, सन्तु चौधरी लगायतका त्यतिबेलका युवाहरु सो कार्यक्रममा भाग लिएका थिए । कार्यक्रम निकै गोप्य र भूमिगत रुपमा सम्पन्न भएको थियो । जलजला जस्तै फाकिलो जंगल, हिंउदमा हिउँ पर्ने र हिउँ पग्लने ठाउँ हो यो । त्यहाँ गोठहरु राख्ने र हिउँदे बसाइ गर्ने चलन यद्यपि कायम नै छ ।

तालीममा आधुनिक वा स्थानीय हतियारहरु के के थिए ?

हतियार स्थानीय नै हुन् । तर त्यसमा पनि दुई थान भने थ्रि–नट–थ्री राइफलहरु थिए । मैले त्यो तालीाभन्दा पहिले ती हतियारहरु देखेको थिएन । ती गोरखामा राखिएका रहेछन् । हेडक्वाटर त्यही बस्ने गर्दथ्यो । धुवाँकोटमा त स्थायी बसाइजस्तो नै थियो । बस्तीसँगै जंगल जोडिएको थियो । बस्ती हाम्रै एकलौटी थियो । एक खालको आधारइलाका ।

त्यहाँ साथीहरुले खेल्न र बन्द गर्न सिक्दा रहेछन् । दुई आधुनिक हतियारमध्ये एउटा चाही बिग्रिएछ । राम्रो चाहीं हतियारलाई ‘होलटाइमर’ बनाएर पूर्वपश्चिम हिंडाइयो । हामी जिल्ला तहका नेतृत्वलाई पनि उक्त प्राविधिक कुरा जानकारी दिने र सिकाउने गरिएको थियो ।