इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा ‘इच्छुक स्मृति पुरस्कार’तथा ‘इच्छुक प्रतिभा पुरस्कार’ वितरण

प्रकाशित मिति : २०७६ जेष्ठ १४

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवन निवासी साहित्यकार ईश्वरी ओझा र काभ्रेपलाञ्चोक निवासी साहित्यकार प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरेको छ । उक्त पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै हलमा सोमवार वरिष्ठ सौन्दर्य चिन्तक तथा दार्शनिक मोहन वैद्य ‘चैतन्य’को हातबाट वितरण गरिएको हो । साहित्यकार सहिद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि रू. १,००,०००।– (एक लाख) रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मोहन वैद्य ‘चैतन्य’ ले पुरस्कृत स्रष्टाहरुका कृतिहरु र उनीहरुको साहित्यिक योगदान आफैमा समकालीन समाजका वर्ग तथा वर्गीय विचार, चिन्तन तथा वर्गसंघर्षका उपज तथा तिनका प्रतिबिम्बन भएको बताउँदै पश्चिमा साहित्यमा दुखान्तलाई महाकाव्यका रुपमा लिइयो भने पूर्वमा प्रेम तथा सुखान्तलाई महाकाब्यमा उतारिएको बताए । उनका अनुसार पूर्वीय दर्शनमा वीरता कम र श्रृंगार रस बढी पाइने भएकाले रामायणमा राम र सीताको बिछोडलाई महाकाव्यको मुख्य विषयवस्तु बनाइएन ।

चैतन्यको थप कथन थियो– पश्चिमा साहित्यमा प्रोमिथस जस्ता साहसी पात्रहरुले देवताका विरुद्धमा संघर्ष गरेर धरतीका मानिसहरुका लागि आगो चोरेर ल्याए । यो वीर रसमा आधारित छ । प्रगतिवादी साहित्य पनि यही मानवता, सुख र मुक्तिका लागि समर्पित छ भन्दै उनले कृष्ण सेन इच्छुकको बन्दी र चन्द्रागिरीमा वीर रस पर्याप्त मात्रामा रहेको कुरा औल्याए ।

उक्त सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्ने अन्य अतिथि बक्ताहरुले पनि सहिद कृष्णेन इच्छुकको योगदानमाथि प्रकाश पारेका थिए ।

प्रा. डा. ताराकान्त पाण्डेयले पुरस्कृत स्रष्टाहरुको साहित्यिक जीवनी योगदानको चर्चा गरेका थिए । उक्त कार्यक्रममा सम्मानित तथा पुरस्कृत स्रष्टाहरुमा ईश्वरी ओझाका महाकाव्य, खण्डकाव्य, नाटक र कथा संग्रह पुस्तकाकारमा र फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । त्यसै गरी अर्का पुरस्कृत स्रष्टा प्रभात सापकोटाका कविता, समालोचना, जीवनी, अनुसन्धान र बालसाहित्य समेत गरी डेढ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

यसैगरी यस वर्षको कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुर निवासी गीतकार, सङ्गीतकार तथा गायक आरोह नेपालीलाई प्रदान गरिएको छ । साहित्यतर्फको प्रतिभा पुरस्कार कास्की निवासी कवि कल्पना चिलुवाललाई प्रदान गरिएको छ । वितरित पुरस्कारको राशि रू २५/२५ हजार रहेको छ ।

कार्यक्रममा क. चैतन्य, क. निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय, क. आहुती, क. नरेन्द्रजंग पिटर, पुरस्कृत स्रष्टाहरु, सहिद कृष्णसेन इच्छुककी धर्मपत्नी तथा छोरीको समुपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव मित्रलाल पंज्ञानीले गरेका थिए ।