अवरोधहरु छिचोल्दै यसरी भइरहेछ चैत्र २४ को भव्य तयारी (फोटो फिचरसहित)

अवरोधहरु छिचोल्दै यसरी भइरहेछ चैत्र २४ को भव्य तयारी (फोटो फिचरसहित)

काठमाडौं । चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस नजिकिदैछ । यही ऐतिहासिक दिनको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको व्यानरमा विशाल जनप्रदर्शन तथा विशाल जनसभाबीच मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटनको भव्य तयारी गरिरहेको छ ।

चैत्र २४ नजिकिदै गर्दा देशका विभिन्न भाग लगायत काठमाडौंका सडकका भित्ताहरु पम्प्लेटिङले भरिएका छन्, आकाशे पुलहरुमा तुल व्यानरहरु झुण्डिएका छन् । जता जतै ‘चैत्र २४ गते काठमाडौंको प्रदर्शनीमार्ग जाऔं, क्रान्तिकारी विकल्पको तयारी गरौं” भन्ने मोर्चाको सम्मेलनका नाराहरु लेखिएका छन्, देखिएका छन् । सम्मेलन तथा जनप्रदर्शनको तयारीको क्रममा आ–आफ्नो कार्यक्षेत्रमा खटिरहेको बेला नेता कार्यकर्ताहरुलाई प्रहरी प्रशासनले ठाउँ ठाउँमा अवरोध सिर्जना गरिरहेको छ । कतिपय ठाउँमा त प्रहरी प्रशासनले अनावश्यक रुपमा गिरफ्तार गर्ने र मनोवैज्ञानिक आतंक सिर्जना गर्ने समेत गरेको छ । तर ती अवरोधहरु छिचोल्दै र त्यसको कडा प्रतिवाद गर्दै चैत्र २४ को भव्य तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ ।

काठमाडौंको चावहिल क्षेत्रमा मोर्चाको पोस्टरिङमा खटिएका क्रान्तिकारी माओवादी काठमाडौंका सदस्य कर्णबहादुर बिसीलाई प्रहरी प्रशासनले बुधबार केही बेर नियन्त्रणमा लिएर प्रहरी प्रशासनले छाड्यो । बुधबारै बर्दियाका जिल्ला अध्यक्ष विक्रम भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष भण्डारीको गिरफ्तारीको तीव्र विरोध एवम् भत्र्सना गर्दै अविलम्ब रिहाईको माग गर्दै मोर्चाका ५ नं. प्रदेशका अध्यक्ष केवी गुरुङले वक्तव्य समेत जारी गरेका छन् । ५ नं. प्रदेशको सम्मेलनको बेला पनि प्रहरी प्रशासनले पार्टीका केन्द्रीय सदस्य धनेश्वर पोखरेललगायतका नेताहरुलाई गिरफ्तार गरेको थियो । प्रहरी प्रशासनको ती अवरोधहरुलाई छिचोल्दै मोर्चाको भव्य रुपमा प्रदेश सम्मेलन सम्पन्न भएको थियो ।

 

तमाम प्रतिकूलतालाई छिचोल्दै मोर्चाले अधिकांश जिल्ला र प्रदेशका सम्मेलन तथा भेलाहरु सम्पन्न गरिसकेको छ ।

मोर्चाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको भव्य तयारी तीव्र अगाडि बढिरहेको जानकारी गराएको छ । मोर्चाका अध्यक्ष सीपी गजुरेल, सचिव परि थापा लगायतका नेताहरुले मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा देशैभरिबाट हजारौं जनताको उपस्थिति हुने दावी गरे । र, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुको वास्तविक समाधान वर्तमान सरकार, व्यवस्था तथा संविधानले दिन नसक्ने भन्दै त्यसको विकल्प सडकबाटै खोज्नुपर्ने स्थिति आएकोले त्यसका लागि चैत्र २४ गते काठमाडौंको प्रदर्शनीमार्गमा हुने विशाल जनसभामा सहभागी हुन जनसमुदायलाई अपील समेत गरे ।

 

वर्तमान ओली नेतृत्वको सरकारको चौतर्फीरुपमा भइरहेको विरोध र विकल्प खोजी हुन थालेको पृष्ठभूमिमा मोर्चाले अबको राजनीतिक विकल्पको रुपमा संघीय जनगणतन्त्रको अजेण्डालाई अगाडि सार्दै आएको छ । त्यसका लागि नयाँ सडक÷जनआन्दोलनको आवश्यकतामाथि जोड दिंदै आएको छ । मोर्चाको नेतृत्वमा भएको १५ दिने मेची–महाकाली अभियानले पनि मोर्चाले आफ्नो अजेण्डालाई देशव्यापी रुपमा स्थापित गर्न सफल भएको छ । र, आमूल परिवर्तनका पक्षधर जनता ‘संघीय जनगणतन्त्र’को अजेण्डामा ध्रुवीकृत बन्दै गएका छन् ।

संघीय जनगणतन्त्रको लक्ष्य चुम्नका लागि मोर्चाले चैत्र २४ गते अर्थात् जनआन्दोलन दिवसको अवसर पारेर जनमासमा विशेष सम्बोधन गर्ने र आन्दोलनका कार्यक्रम समेत घोषणा गर्ने तयारी समेत गरेको छ ।

चैत्र २४ को सम्मेलन तथा जनप्रदर्शनलाई भव्य र व्यापक बनाउन भइरहेका गतिविधिहरुसँग सम्बन्धित फोटाहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।