बर्दिया जिल्ला देजमो अध्यक्ष विक्रम भण्डारीको अविलम्ब रिहाइको माग

बर्दिया जिल्ला देजमो अध्यक्ष विक्रम भण्डारीको अविलम्ब रिहाइको माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश नं. ५ का अध्यक्ष केवी गरुङले प्रदेश नं. ५ का सहसचिव तथा बर्दिया जिल्ला समितिको अध्यक्ष बिक्रम भण्डारीलाई प्रहरीले गरेको गिरफ्तारीप्रति घोर आपत्ति जनाउँदै अबिलम्ब रिहाइको माग गरेका छन् । प्रदेश नम्बर ५ को कार्यालयबाट एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष गरुङले यही चैत्र २४ गतेदेखि २६ गतेसम्म काठमाडौमा सम्पन्न हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनको प्रचारप्रसार र सहयोग समर्थनको सिलसिलामा मधुवन नगरपालिकामा गएर फर्कने क्रममा प्रदेश नं. ५ का सहसचिव र बर्दियाका अध्यक्ष भण्डारीलाई प्रहरीले गिरफ्तार गरेको जनाइएको छ ।

प्रहरीका यी क्रियाकलापप्रति देजमो, नेपाल प्रदेश नं. ५ को गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सभा संगठन गर्न र त्यसको प्रचार प्रसार गर्न पाउने संविधान प्रदत्त लोकतान्त्रिक अधिकारलाई राज्यले प्रहरी परिचालन गरी गिरफ्तार गर्दै उक्त अधिकारको हनन र उल्लंघन गरेको बताइएको छ । विज्ञप्तिमा बिक्रम भण्डारीलाई तत्काल बिनासर्त रिहाइ गर्न र देजमो, नेपालको प्रथम राष्ट्रिय सम्मेलनको प्रचारप्रसार तथा नैतिक, भौतिक र आर्थिक सहयोगमा कुनै पनि बाधाव्यवधान खडा नगर्नका लागि सरकार र बर्दिया पुलिस प्रशासनसंग जोड्दार माग गरिएको छ ।