
काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको यही चैत्र २४ काठमाडौंको भृकुटी मण्डपमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको तयारी भव्य रुपमा अघि बढिरहेको मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले बताएका छन् । बुधवार कमलपोखरी स्थित होटल कमलमा मध्यान्ह सम्पन्न भएको एक पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष सीपी गजुरेलले उक्त कुरा बताएका हुन् ।
भौतिक रुपमा काठमाडौंको भृकुटी मण्डपमा आफ्ना कार्यक्रमका सबै तयारीहरु शानदाररुपमा अघि बढिरहेको र आन्तरिक तथा आत्मगत रुपमा भेला तथा सम्मेलनहरु सम्पन्न भई राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि तथा पर्यवेक्षकहरु तयारी अबस्थामा रहेको बताइएको छ । अध्यक्ष गजुरेलका अनुसार तयारी नपुगेका छिटफुट जिल्लाहरुबाहेक देशका ७७ वटै जिल्लाहरुबाट सम्मेलनका प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी हुने छन् ।

चैत्र २४ गते नै मोर्चाको राष्ट्रिय सम्मेलन आयोजना गर्नुमा बहुआयामिक महत्व रहेको बताउँदै अध्यक्ष गजुरेलले पहिलो आयाम भनेको २०४६ सालको जनआन्दोलनमा चैत्र २४ ले गणतन्त्रको झण्डा र नारा बोकेको थियो, दोस्रो कुरा यो देशव्यापी जनआन्दोलनको उत्कर्ष थियो, तेस्रो कुरा सामान्य जनता पनि यस दिन सडकमा उत्रिएका थिए र त्यसको नेतृत्व तात्कालीन संयुक्त राष्ट्रिय जनआन्दोलनले गरेको कुरा स्मरण गराएका थिए ।
अहिलेको चैत्र २४ मा आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको राष्ट्रिय सम्मेलनले लोकतान्त्रिक गणतन्त्र असफल हुँदै गएको अवस्थामा जनगणतन्त्र स्थापनाको विकल्पसहित ऐतिहासिक विरासतलाई अग्रगामी निकासको बाटोतिर अघि बढाएको भन्दै गजुरेलले उक्त दिन विसाल जनपरिचालन गरिने बताएका थिए । कम्युनिष्टको नाममा ओली सरकारले एकवर्षको समयमा नै इतिहासमा निकै ठूलो राष्ट्रघाती र जनघाती काम गरेको भन्दै गजुरेलले यो काम ओलीको व्यक्तिगत कमीकमजोरीका कारणले मात्र नभई समग्र राज्यव्यवस्थाको कारणले हुन गएको बताए ।
आफूहरुले सन् १९६२ देखि ‘भारतीय सेना कालापानी छोड’को नारा लगाएको तर आज केपी ओलीको नेतृत्वमा कथित कम्युनिष्टको सरकार निर्माण गरी त्यो कालापानी भारतलाई बुझाएको नक्सा राज्य र सरकारी कार्यालयहरुमा ओलीले नै झुन्ड्याउन निर्देशन दिएको र आफूले पनि प्रधानमन्त्रीको कार्यालयमा त्यही नक्सा झुण्ड्याएको भन्दै अब केपीको राष्ट्रवादी मुखुण्डो धुजाधुजा भएको बताएका थिए ।
लोकतान्त्रिक गणतन्त्र भनिएको आजका दिनमा ओली सरकारले राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाएको आफैमा हास्यास्पद भएको भन्दै गजुरेलले निर्वाचन आयाोगमा दर्ता भएका पार्टीहरु केवल निर्वाचन प्रयोजनका लागि मात्र दर्ता गरिएका हुन्, देशभरका राजनीतिक पार्टीहरु के राजनीतिक पार्टी नै होइनन् त ? दर्ता भएका पार्टी जिन्दगी भर रहनेभए प्रत्येक आवधिक निर्वाचनमा ती फेरि दर्ता किन गरिन्छन् त ?
गजुरेलले भने हिजोको राजतन्त्र भन्दा आजको गणतन्त्र केही हदसम्म अग्रगामी भए पनि जनगणतन्त्रको तुलनामा यो पश्चगामी नै हो ।































